फेरियो पुरानो बस्ती

हरिराम उप्रेती

गोरखा — ढुंगाको छाना भएका गुजमुज्ज घरहरू । ढुंगा छापेका छरिता गोरेटा । उस्तै–उस्तै प्रकृतिका घर । भूकम्पले त्यो पुरानो स्वरूप तहसनहस पारेको थियो । अधिकांश लाप्राकीले यही पुरानै बस्तीमा फेरि घरटहरा ठड्याइसके । 

फेरियो पुरानो बस्ती

दुई–चार घर अहिले पनि निर्माणाधीन छन् । पुरानै शैलीमा बनेका घरमा भूकम्पअघि र पछिको फरक छानाबाट देखिन्छ । मनिडाँडाबाट नियाल्दा लाप्राकको पुरानो गाउँको उक्त बस्तीमा घरहरू अहिले नीला र राता जस्तापाताले ढाकिएका छन् । फाट्टफुट्ट काठका छाना पनि देखिन्छन् । ‘पहिलेका घरमा काठको छाना हुन्थे,’ स्थानीय कुलबहादुर गुरुङले भने,‘भूकम्पपछि सबैभन्दा ठूलो परिवर्तन घरको छानामा आएको छ ।’


भूकम्पअघि सल्लाको काठबाट तयार पारेका फलेक यहाँका स्थानीयले घरको छाना छाउन प्रयोग गर्थे । भूकम्पपछि छिटो र छरितोका लागि जस्ताको प्रयोग बढेको गुरुङको भनाइ छ । ‘काठको छाना भएको गाउँको रूपमा लाप्राक परिचित थियो,’ गुरुङले भने, ‘काठको छानामुनि बस्दा न्यानो हुन्छ, जस्ताबाट सीत चुहिने, पानी पर्दा आवाज आउने हुँदोरहेछ ।’


भूकम्पले काठको छाना विस्थापित गरेको भन्दै यहाँका अधिकाशं वृद्घवृद्घा चिन्तित छन् । ‘छानाको फलेकले भन्दा ढुङ्गाको गारोले मानवीय क्षति भएको हो,’ गुरुङले भने, ‘काठको छानाले तापक्रम मिलाउँथ्यो बस्न पनि आनन्द ।’ २०५६ सालको पहिरोपछि २०७२ वैशाख १२ को भूकम्पले बस्तीलाइ थप जोखिम बढाएपछि यहाँका स्थानीयलाई गुप्सीपाखा सर्नुको विकल्प थिएन ।


एनआरएनएले सुविधासम्पन्न घर समयसीमाभित्रै सकेर ढोकाको साँचो उपलब्ध गराउने महत्त्वकांक्षी योजना सुनेका भूकम्पपीडित गुब्सीपाखाको टेन्ट र टहरो भत्काएर ठाउँ खाली गर्दै पुरानै बस्ती फर्किए । दुई वर्षको अवधिमा सबै लाप्राकीले गच्छेअनुसारका घर पुरानै बस्तीमा निर्माण गरिसकेका छन् ।


एउटै वडाको बस्ती भूकम्पपछि छरिएको स्थानीय राज गुरुङले बताए । ‘सुरक्षित स्थानमा घर बनाउँदा अहिले नौ ठाउँमा बस्ती बसेको छ,’ गुरुङले भने, ‘पहिलेको घर छाडेर अर्को ठाउँमा घर बनाउँदा खानेपानीको समस्या आइपरेको छ ।’ गुब्सीपाखामा घर बने पनि लाप्राकका स्थानीयलाई दुई घर अनिवार्य चाहिने गुरुङले बताए । २०५६ सालको पहिरोपछि २०७२ वैशाख १२ को भूकम्पले बस्तीलाइ थप जोखिम बढाएपछि यहाँका स्थानीयलाई गुप्सीपाखा सर्नुको विकल्प थिएन ।


गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा एकीकृत बस्ती निर्माणाधीन छ । गुब्सीपाखाको घरभन्दा पुरानै बस्तीको घर निर्माण र मर्मत सभ्भारमा लाप्राकका स्थानीयको लगाव बढेको छ । ‘भूकम्पका बेला यहाँ बस्न हुँदैन भनेर भन्दा पनि दुई–चारजना वृद्घवृद्घा गुब्सीपाखा सरेनन्,’ कुलबहादुरले भने, ‘एनआरएनले घर निर्माण ढिला गर्‍यो, फेरि त्यहाँ हिउँ पर्छ, जाडो बढी हुन्छ, दुई–चार दिन फ्रेस हुनका लागि माथि जाने हो, तलको बस्तीमा एउटा घर त अनिवार्य चाहिन्छ ।’


पुरानो बस्तीको फ्याप्चेमा रहेको मणिकामादेवी मावि गुब्सीपाखा नजिकै कालकाङ भन्ने स्थानमा सरेको छ । यहाँका स्कुले विद्यार्थी एक घण्टाको पैदल हिँडेर पुरानो बस्तीबाट कालकाङको विद्यालयमा अध्ययनका लागि पुग्छन् । पुरानो गाउँको स्वास्थ्यचौकी पनि गुब्सीपाखामा सरिसकेको छ तर यहाँका स्थानीय भने खेतीयोग्य जमिन पुरानै बस्तीमा रहेको भन्दै गुब्सीपाखामा बाह्रैमासा बस्न नसकिने बताउँछन् ।


‘दुईदेखि १० लाखसम्म खर्च गरेर घर बनाइसक्यौं,’ स्थानीय लालबहादुर गुरुङले भने, ‘होटल व्यवसाय गर्ने मान्छे माथि बस्लान् खेती गर्ने किसान त यहाँ नबसी सुखै छैन, गुब्सीमा तरकारी लगाउने बारी पनि छैन, तरकारी लिन त पुरानो घर आउनै पर्छ, दिनदिनै आउने–जाने दुःख कसले गर्ने ?’ यहाँका स्थानीय गुब्सीमा बस्न गाह्रो हुने भन्दै माथिल्लो बस्तीमा सरेको विद्यालय र स्वास्थ्य चौकी पुग्न सजिलोका लागि सडक स्तरोन्नति तथा स्वास्थ्यचौकीको शाखा पुरानै गाउँमा स्थापना गरिदिनसमेत माग गरे ।

बर्खाका बेला गुब्सी र हिउँदमा पुरानै बस्तीमा बस्ने योजनामा पनि यहाँका केही स्थानीय छन् । ‘गुब्सीमा बस्ने त बाध्यताले हो, रहरले होइन, बाबुबाजेको पालादेखि बस्दै आएको घर छाड्न कसको मन मान्छ र ?,’ स्थानीय दीपक गुरुङले भने, ‘गुब्सीमा होमस्टे सञ्चालन गर्न सके जीविकोपार्जनमा सहयोग पुग्छ भन्ने आशा छ ।’


जोखिम बस्तीको ५ सय ७३ घरधुरी भूकम्प पीडितलाई स्थानान्तरणका लागि लाप्राककै गुब्सीपाखामा घर निर्माणाधीन छ । आउँदो वैशाख १२ सम्म एकीकृत बस्ती पुनर्निर्माण सक्ने एनआरएनएले दाबी गरे पनि लक्ष्य भेट्टाउन मुस्किल देखिएको स्थानीय बताउँछन् ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?