२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

घलेगाउँमा स्वास्थ्य सुविधा

कान्तिपुर संवाददाता

लमजुङ — पर्यटकीय चाप र स्थानीयलाई मध्यनजर गर्दै पर्यटकीय घलेगाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापनासँगै सञ्चालमा ल्याइएको छ । क्व्होलासोंथर गाउँपालिका–३ मा पर्ने घलेगाउँमा स्वास्थ्य इकाइ स्थापना गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

उनका अनुसार स्मार्ट भिलेज बनाइँदै गरिएको घलेगाउँमा स्थानीयको स्वास्थ्य तथा विदेशबाट आएकाको सेवा सुविधाका लागि सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरिएको हो । ‘हामीलाई स्वास्थ्यको कार्यालय अपरिहार्य थियो । २० वर्षदेखि होमस्टे चलाएको गाउँमा पर्यटकको चाप हुन्छ । त्यसैले स्वास्थ्य इकाइ सञ्चालन गरेका छौं,’ उनले भने ।


स्वास्थ्य मन्त्रालयको सहयोगमा गाउँपालिकाले स्वास्थ्य इकाइ सञ्चालन गरेको हो । उनका अनुसार सामुदायिक स्वास्थ्य इकाइका लागि ३ कोठे भवन निर्माण गरिएको छ । स्वास्थ्य मन्त्रालयको ३ लाख र गाउँपालिकाको १ लाख रुपैयाँ लागतमा भवन निर्माण गरी स्वास्थ्य इकाइ सञ्चालन गरिएको उनले बताए । हाल ३ जना दरबन्दीको उक्त स्वास्थ्य इकाइमा अहिले १ जना अनमी र कार्यालय सहयोगी राखिएको छ । कार्यालय सहयोगीलाई भने गाउँपालिकाले तलब दिने उनले बताए ।


अध्यक्ष घलेका अनुसार घलेगाउँ स्मार्ट भिलेज बन्दैछ । हरेक हिसाबले स्मार्ट हुनुपर्छ भनेर गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन इकाइ स्थापना गरेको उनले बताए । सामुदायिक स्वास्थ्य इकाइ सञ्चालक समितिका अध्यक्ष गंगाबहादुर घलेका अनुसार हालका लागि अनमी स्मृति गुरुङ र कार्यालय सहयोगी टिकीमाया गुरुङलाई राखिएको छ ।


स्वास्थ्य इकाइबाट स्वास्थ्य सेवा दिन थालिएको उनले बताए । गाउँमा स्वास्थ्य सुविधा नहुँदा बगुम र नायुको स्थ्यचौकीमा जानुपर्थ्यो । अहिले गाउँमै सेवा पाएका स्थानीयले बताएका छन् । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेका अनुसार यसअघि गाउँमा कुनै स्वास्थ्य सुविधा थिएन ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?