कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

माथिल्लो मर्स्याङ्दी ‘ए’ मर्मत

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी नदीमा निर्माण गरिएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विस्तृत मर्मत थालिएको छ । आयोजना मर्स्याङ्दी गाउँपालिकाको भुलभुलेमा छ ।

आयोजनाको ३/३ वर्षमा मर्मत सम्भार गरिने भनिए पनि पहिलोपटक विद्युत् उत्पादन थालेको २ वर्षमा मर्मत थालिएको हो । विद्युत् उत्पादनमा सबैभन्दा बढी संवेदनशील मानिएको टर्बाइन र बाँधको मर्मत सुरु गरिएको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले जनाएको छ ।


२५/२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेको उक्त आयोजनामा जडित युनिट २ को अहिले मर्मतसम्भार भइरहेको छ । फेब्रअरी १५ तारिखबाट सुरु गरिएको बृहत् मर्मतसम्भार कार्य उक्त युनिटका लागि ३० देखि ४५ दिनसम्म खटिनेछ ।


माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले युनिट २ को मर्मत सकिएपछि नयाँ टर्बाइन राखिने र युनिट १ को बृहत् मर्मतसम्भार थालिने बताए । उनका अनुसार अहिले मर्मतका लागि निकालिएका टर्बाइनका भागहरू मर्मत गरेर अर्को पटक मर्मत गर्दा फेर्न सकिन्छ । युनिट २ मर्मतमा रहेपछि अहिले युनिट १ बाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । उक्त टर्बाइनबाट २५ मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए । ‘पानीको बहाव हेर्दा ३० मेगावाटसम्म निकाल्न सकिन्छ । एउटा मात्रै टर्बाइन चलाउँदा यसको क्षमता भनेको २५ मेगावाट हो । त्योभन्दा बढाउन मिल्दैन ।’


आयोजना स्रोतका अनुसार पहिलोपटक भएकाले विद्युत् उत्पादन थालेको २ वर्षमा मर्मत थालिएको हो । रन अफ रिभर (पानीको बहावमा आधारित) उक्त परियोजनाको बाँधक्षेत्रमा पनि मर्मत भइरहेको छ । गएको बर्खामा गएको भीषण पहिरो, बर्खायामको बाढीपहिरोले माटो तथा बालुवाका कणले टर्बाइनमा क्षति पुर्‍याएको मर्मतमा खटिएका प्राविधिकलाई उद्धृत गर्दै आयोजना स्रोतले बताएको छ । बालुवा तथा माटोका कणले टर्बाइनका दाँतहरूमा क्षति पुर्‍याएको छ ।


सबै मर्मत गर्दा करिब ३ महिना लाग्ने आयोजनाले जनाएको छ । आयोजना मर्मतका लागि चिनियाँ ३ जना विषेशज्ञसहित १५ जना इन्जिनियर तथा प्राविधिक खटिएका छन् । उनीहरू सबै चीनबाट माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाको मर्मतका लागि आएका हुन् । उनीहरूले नै बाँधक्षेत्रको समेत मर्मत गर्नेछन् । बर्खायाममा आउने बाढीले प्रत्यक्ष असर नपरे पनि भित्रभित्रै छिर्ने माटो र बालुवाका कणले आयोजनाको टर्बाइनमा क्षति पुर्‍याएको छ । बाँधक्षेत्रमा बालुवा जम्ने गरेको र यसलाई बर्खायाममै फ्लसिङ (बाँधबाट बगाउने) गरिएको उनले बताए ।


सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन थालेको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोई समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको उक्त आयोजना १६ अर्ब रुपैयाँमा निर्माण गरिएको थियो । यो आयोजना चिनियाँ लगानीमा निर्माण भएको नेपालको पहिलो जलविद्युत् आयोजना रहेको दाबी गरिन्छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?