'पार्टीमा संक्रमणकाल लम्बिए समस्या’

कान्तिपुर संवाददाता

लमजुङ — एकीकरणपछि आकार ठूलो भएको नेकपामा पार्टीभिक्रको संत्रमणकाल लम्बिँदै जाँदा अनेक ठाउँबाट प्रहार हुने गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

'पार्टीमा संक्रमणकाल लम्बिए समस्या’

प्रदेशको पार्टी इन्चार्जसमेत रहेका उनले पार्टी एक भएर मात्रै नहुने भन्दै सबै सदस्यको भावना, वैचारिक, सैद्धान्तिक, व्यावहारिक र कार्यनीति एक हुनुपर्ने बताए । उनले संक्रमणकालको अन्त्य चाँडै गरिनुपर्ने बताए । ‘नगर, गाउँ तथा वडा साथै वडा जनवर्गीय संगठन एक बनाउन कसले छेकेको छ ? यस्तो कुरामा किन ढिलाइ ?’ पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी र पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शोकसभा कार्यक्रमलाई आइतबार बेंसीसहरमा सम्बोधन गर्दै उनले भने, ‘एकता गर्न जति ढिलाइ हुन्छ, त्यति नै समस्या पार्टी र सरकार सञ्चालनमा पर्न जान्छ ।’ जिल्ला संगठन एक बनाउन अध्यक्षद्वयले चासो लिनुपर्ने उनले उल्लेख गरे ।


‘एउटै देशमा २ प्रधानमन्त्री भएको इतिहास छ । कम्युनिष्ट पार्टीमा २ अध्यक्ष ? यो हुन्छ । तर, आन्तरिक संक्रमकाल जति लम्बिँदै गयो, उति नै पार्टी र सरकारलाई समस्या पर्छ ।’ गाउँगाउँमा पार्टी एक नभएकाले कार्यकर्ता लाखापाखा लाग्न थालेको संकेत गर्दै उनले भने, ‘हामी संक्रमणकालमा छौं । यसलाई जसरी पनि परास्त गर्नुपर्छ ।’ जिल्ला संयन्त्रका तर्फबाट गरिनुपर्ने कामहरू नभएको भन्दै उनले कार्यक्रम, सम्पत्ति एकीकरण, जनवर्गीय संगठन एकीकरण, सदस्यता अद्यावधिकजस्ता काम छिटो गर्ने निर्देशन दिए ।


कम्युनिष्टले चाहेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ को जग भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा तत्कालीन एमाले नेतृत्वको सरकारले सुरुवात गरेको उनले दाबी गरे । जनसम्पर्कमा अब्बल पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विकासमा नयाँ मोडल देखाउन चाहे पनि पूरा हुन नसकेको बताए । ‘दुवै नेता सरल, सरस र मिजासिला हुनुहुन्थ्यो । दुवैको चाहना जनता सुखी हुन् भन्ने थियो’ उनले भने, ‘मृत्यु कसैले नकार्न सकिँदैन । तर, सुखी जनता देख्न नपाउँदै दुवै नेता जानुभो । यो हाम्रो लागि अपूरणीय क्षति हो ।’


दुवै नेतालाई सिध्याउन कांग्रेस लागिपरेको समेत आरोप उनले लगाए । ‘५१ सालमा सामाजिक सुरक्षाभत्ता सुरु गरेदेखि भरतमोहन सिध्याउन कांग्रेस लागे । अहिले रवीन्द्र सिध्याउन लागे । जसले राम्रो काम गर्छ, उसलाई सिध्याउन खोज्ने काम कांग्रेसबाट हुन्छ’ उनले भने । कम्युनिष्ट भनेको मजदुर हो, कोट लाउन कहाँ पाइन्छ ? भन्ने तल्लोस्तरको भनाइ कांग्रेसबाट आएको उनले बताए । ‘पृथ्वीसुब्बा गुरुङले कोट लगाउन पाइँदैन भनेर कहीं लेखेको छ र ? हो हामी मजदुरका पार्टी हौं । मजदुरको दिन कहिल्यै नफिर्ने ?’ उनले भने, ‘समयअनुसार हामी परिवर्तन हुन्छौं, परिवर्तन हुन आवश्यक छ ।’


नेकपा गण्डकी प्रदेश प्रमुख सचेतक मायानाथ अधिकारीले देशलाई समृद्ध बनाउनतर्फ लागे मात्रै नेता अधिकारीद्वयको सञ्चा श्रद्धाञ्जली हुने बताए । गण्डकी प्रदेश समिति सदस्य पारसमणि पौडेलले कम्युनिष्ट र कम्युनिष्टले मात्रै जनताका समस्या बुझ्ने र आवश्यकता पूरा गर्ने भन्दै कसैको नकरात्मक टिप्पणीमा नलाग्न सुझाव दिए । ‘जो बलियो छ, जो शक्तिशाली छ । उसलाई ढलाउन खोज्छ । हामी चनाखो हुनुपर्छ ।’

प्रकाशित : फाल्गुन २०, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?