१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पुलले फेरियो बस्तीको मुहार

हरिराम उप्रेती

गोरखा — पृथ्वीराजमार्गमा यात्रा गर्नेले धादिङको जोगिमारामा हुग्दी पुग्दा गोरखातर्फको एउटा गाउँ सजिलै देख्छन् । त्यो हो कौदी फाँटको बस्ती । भूकम्प पुनर्निर्माण र जनता आवास कार्यक्रमअन्तर्गत बनेका उस्तै–उस्तै प्रकृतिका घर रहेको बस्तीका बसोबासीमा अधिकांश चेपाङ समुदाय छन् ।

पुलले फेरियो बस्तीको मुहार

त्रिशूली नदी वारिको गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित कौदी फाँटको उक्त बस्तीमा तीन वर्षयता आएको परिर्वतनले यहाँका स्थानीय उत्साहित मात्र नभई अचम्मित पनि छन् । दुइ वर्षअघिसम्म गाउँको पारिपट्टि गुडेको गाडी चढ्न कौदीका गाउँले ज्यानको बाजी राखेर तुइनबाट त्रिशूली वारपार गर्थे । तुइन विस्थापन गर्ने सरकारको निर्णयअनुसार कौदी र हुग्दी जोड्ने झोलुंगे पुल निर्माणले पूर्णता पाएसँगै बस्तीको मुहार फेरिएको छ ।


अहिले बस्तीबाट ५ मिनेटको पैदलपछि पृथ्वी राजमार्गमा पुगेर गाडी चढ्न पाइन्छ । ‘तुइनको लठ्ठा तान्दा कतिका हात च्यापिए । हातमा ठेला नपरेका गाउँले त कमै हुन्थे, एक–दुईजनाको औंला पनि चुँडिएका छन्,’ स्थानीय धनबहादुर चेपाङले विगत सम्झँदै भने, ‘आँखैअगाडि गाडीको लाम देखिए पनि त्यहाँसम्म पुग्न सजिलो कहाँ थियो र ।’ झोलुंगे पुल बनेपछि कौदी फाँटमा घर बनाउनेको संख्या पनि बढेको छ । पहिले र अहिलेको बस्तीमा निकै भिन्नता रहेको स्थानीय बताउँछन् ।


‘मकै कुर्न स्याउलाले बारेर कटेरो बनाउँथ्यौं । पाँच/सातवटा खरका छाना भएका झुप्रा घरको पातलो बस्ती थीयो,’ चेपाङले भने, ‘अहिले यहाँ जग्गा किन्छु भन्दा पनि पाइन छाड्यो । २५ भन्दा बढी घर बनिसके ।’ पाँच वर्षअघिसम्म ६ घरधुरी मात्रै रहेको कौदीमा अहिले हिक्लुङ थुम्काबाट बेंसी झर्नेको संख्या बढेको छ ।


हुग्दीसम्म गाडीमा झारेका निर्माण सामग्री बोकेर बस्तीसम्म पुर्‍याउन सजिलो भएसँगै पक्की घर निर्माणले तीव्रता पाएको उनले बताए । ‘पारिपट्टि गाडीले झारिदन्छ । झोलुंगे पुल भएपछि रड, सिमेन्ट र जस्ता बोक्न गाह्रो भएन,’ उनले भने, ‘यहाँ पक्की घर बनेको झोलुंगे पुल बनेपछि मात्र हो ।’


गाउँलेले फलाएका कृषिउपज पृथ्वीराजमार्गसम्म पुर्‍याउन सहज भयो । फलेका चीजबिज सजिलै बेचेर नगद हात पर्न थालेपछि चेपाङ समुदाय तरकारी खेतीतर्फ आकर्षित भएका छन् । निर्वाहमुखी खेती प्रणाली छाडेर बस्तीका चेपाङहरू व्यावसायिक तरकारी खेती गर्न थालेका छन् ।


पछिल्लो समय एक सिजनमा एक घरले ५० हजारदेखि डेढ लाखसम्म तरकारी बेचेरै कमाइ गर्ने गरेको राजेन्द्र चेपाङ बताउँछन् । ‘डोकोमा बोकेर बजार लान लाज भएन,’ उनले भने, ‘पहिले पो तुइनबाट भारी लिएर तान्न–बस्न अप्ठ्यारो हुथ्यो । एक भारी लैजान तीन खेप गर्नुपर्थ्यो । अहिले फलाउन सक्नुपर्छ, बेच्न लैजान गाह्रो छैन ।’ यहाँ उत्पादित तरकारी धादिङको फिस्लिङमा लगेर बिक्री गर्ने गरेको उनले बताए । तरकारीले सहजै बजार पाएपछि अहिले बाँझो जग्गा नरहेको उनले बताए ।


कौदी मात्र नभई थुम्कासम्म पुग्नेलाई पनि उक्त झोलुंगे पुलले आउजाउ सहज बनाएको छ । बस्तीका बालबालिकालाई विद्यालय जान पनि सहज भएका स्थानीय बताउँछन् । यहाँका स्कुले बालबालिका धादिङको मझिमटारमा रहेको शंखादेवी माविमा पढ्न जान्छन् । ‘आठमाथि पढ्ने १०–१२ जना माझीमटार पढ्न जान्छन्,’ स्थानीय लक्ष्मण चेपाङले भने, ‘साना बच्चालाई तुइन हुँदा सधैं तारिदिनुपर्थ्यो । आउँदा–जाँदा सधैं पीर, वर्षौंदेखिको समस्या झोलुंगे पुलले हटायो ।’

प्रकाशित : फाल्गुन २०, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?