कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तातोपानी संरक्षणमा बढ्यो चासो

आम्दानीको दरिलो स्रोत हुने देखेपछि स्थानीय तहको ध्यानाकर्षण
घनश्याम खडका,

म्याग्दी — आम्दानीको राम्रो स्रोत बन्न थालेपछि ओझेलमा परेका तातोपानी खोज्ने र संरक्षण गर्न स्थानीयमा चासो बढेको छ । कालिगण्डकी, राघुघाट र म्याग्दी खोलाको विभिन्न स्थानमा भए पनि उचित संरक्षण र प्रचार नपाएका तातोपानीका प्राकृतिक मूलको उपयोगमा स्थानीयवासी सक्रिय भएका हुन् । 

तातोपानी संरक्षणमा बढ्यो चासो

म्याग्दीखोलाको सिंगा तातोपानी र अन्धगल्छीको भुरुङ तातोपानी देशविदेशसम्म चर्चित मात्रै होइन दुवैको वार्षिक आम्दानी पनि उल्लेख्य छ । यीबाहेक जिल्लाका अरू दर्जनौं मुहानको अझै खोजी र प्रचार हुन सकेको छैन । प्राकृतिक तातोपानी नियमित आर्थिक स्रोत बन्ने भएपछि स्थानीय सरकार पनि मुहान संरक्षण गर्दै कुण्ड बनाउने, नदी कटान र बाढीको डुबानबाट संरक्षण गर्ने र व्यवस्थापन समिति गठन गरी नियमित रेखदेख गर्न पनि स्थानीय सरकारले चासो देखाएका हुन् ।


‘गाउँपालिकाभित्र ४ स्थानमा दर्जनभन्दा बढी तातोपानीका मुहान छन् । भुरुङ तातोपानीबाहेक बाँकी ओझेलमा छन् । तातोपानी संरक्षण गर्न बजेट विनियोजन गरेका छौं,’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले भने, ‘६ नम्बर वडाको रातोपानीमा मुहान तथा कुण्ड संरक्षणको काम भइरहेको छ । महभीरमा तातोपानीको मुहान संरक्षण र पोखरी निर्माण गर्न १३ लाख बजेट विनियोजन भएको छ ।’ उत्तरी भेगमा पर्ने अन्नपूर्ण गाउँपालिका–१ दोबाको महभीर, वडा २ भुरुङको माथिल्लो तातोपानी, वडा ५ नारच्याङबेंसी र वडा ६ रातोपानी कालीगण्डकी नदी किनारामा तातोापानीका प्रशस्त मूल छन् । यी तातोपानीमा स्थानीयले परम्परागत शैलीमा सानो हिउँदे अस्थायी पोखरी बनाई डुब्न जाने गरेका छन् । तातोपानीको प्रशस्त स्रोत भए पनि व्यवस्थित छैनन् । कतिपय मूलहरू वर्षायाममा कालिगण्डकीको भेलले पुर्ने गरेको छ ।


जिल्लाका बीच क्षेत्रबाट बग्ने राहुघाट खोलमा पनि तातोपानीका मुहान छन् । रघुगंगा गाउँपालिका–४ दर्मिजाको पुछारमा रहेको तातोपानी मुख्य हो । दर्मिजा तातोपानीले परिचित यहाँ रघुगंगा गाउँपालिकाभित्रका दग्नाम, दर्मिजा, चिमखोला, पाखापानी र झिं क्षेत्रबाट स्थानीय डुबेर प्राकृतिक उपचार गराउँछन् । ‘गाउँपालिका र स्थानीयको लागतमा दर्मिजा तातोपानी पुग्ने भीरको बाटोमा रेलिङसहित सिंढी, बिरामी डुब्ने पोखरी र बास बस्ने ठाँटी निर्माण गरिएको छ,’ गापाका सब–इन्जिनियर कमल चोखालले भने, ‘सामान्य प्रवेश शुल्क लिने ब्यवस्था मिलाइएको छ । यसरी हुने आम्दानी तातोपानी कुण्ड र बाटो मर्मत तथा संरक्षणमा खर्च गरिनेछ ।’


जिल्लाको दुर्गम धौलागिरी गाउँपालिकाको म्याग्दी र गुर्जा खोला किनारामा पनि तातोपानीका मुहान छन् । धौलागिरी हिमालकै फेदीमा रहेका यी तातोपानीको मुहान छेउ भएर पर्यटक धौलागिरी हिमालतर्फ जाने–फर्कने भए पनि उपयोग भएको छैन । स्थानीय सरकार गठनपछि तातोपनीका मुहानलाई पर्यटनसँग जोड्ने प्रयास सुरु भएको छ ।


गाउँपालिकाले स्थानीयसँग सहकार्य गरी गुर्जाखोला तातोपानी र म्याग्दीखोला तातोपानीका मुहान पहिचान, पहुँच गोरेटो बाटो, तातोपानीको पोखरी निर्माण र तातोपानी डुब्न जाने स्थानीयलाई बस्न ठाँटी (सत्तल) निर्माण गरेको छ ।

‘धौलागिरी हिमाल फेदीमा तातोपानीका मुहान छन् तर हामी माल पाएर पनि चाल नपाएको जस्तो अवस्थामा छौं,’ धौलागिरी गापा प्रमुख थमसरा पुनले भनिन्, ‘तातोपानीको मुहान र पोखरी व्यवस्थित नहुँदा स्थानीयले समेत लाभ लिन सकेका छैनन् । यस वर्षदेखि छेवैबाट हिँड्ने पर्यटकलाई तातोपानीको पोखरीसम्म पुर्‍याउन पहुँच गोरेटो मार्ग निर्माण थालेका छौं ।’


प्रख्यात पर्यटकीय गन्तव्य तातोपानी कुण्डलाई अन्नपूर्ण गाउँपालिकाले करको दायरामा ल्याएको छ । समुदायले व्यवस्थापन गर्दै आएको तातोपानीलाई गाउँपालिका मातहत ल्याई करको ३० प्रतिशत गाउँपालिका कोषमा र ७० प्रतिशत सम्बन्धित वडामा बाँडफाँड हुनेगरी ५३ लाख रुपैयाँमा ठेक्का लगाएको छ । अन्नपूर्ण गाउँपालिकाले तातोपानीलाई करको दायरामा ल्याएपछि बेनी नगरपालिकाले पनि ४ नम्बर वडामा रहेको सिङ्गा तातोपानीलाई आफ्नो मातहतमा ल्याउने प्रयास थालेको छ ।

प्रकाशित : फाल्गुन १, २०७५ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?