१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हिमपातले गाउँ सेताम्य

लमजुङ — लमजुङका पर्यटकीय गाउँ हिमपातले सेताम्य बनेका छन् । केही गाउँमा २ दशकपछि हिमपात भएको हो । पर्यटकीय गाउँमा कम्तीमा १ दशकपछि हिमपात भएको हो । 

हिमपातले गाउँ सेताम्य

हिमपातपछि पर्यटकीय गाउँमा हिउँ खेल्नेको भीड लागेको छ । शुक्रबार राति र शनिबार बिहान परेको हिमपातले ग्रामीण पर्यटकीय गाउँ भरिभराउ छन् ।


चालु आर्थिक वर्षदेखि स्मार्ट भिलेजका रूपमा अघि सारिएको पर्यटकीय गाउँ घलेगाउँमा शनिबार मात्रै १ हजार ५ सय पर्यटक पुगेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेले बताए ।


उनका अनुसार गाउँमा ३२ घरमा होमस्टे छ । हिमपात पर्ने छाँटकाँट देखेपछि धेरै पर्यटक शुक्रबार नै आएर बसेका थिए । शुक्रबार रातिको हिमपातले गाउँमा पर्यटक बढेपछि रमाइलो बनेको उनले बताए ।


घलेगाउँमा शनिबार १ सयभन्दा बढी मोटरसाइकल र ६० वटाभन्दा बढी जिप आएका थिए । क्व्होलासोंथर गाउँपालिका अध्यक्षसमेत रहेका पर्यटन समितिका अध्यक्ष प्रेम घलेका अनुसार विगत १ दशकदेखि सबैभन्दा पर्यटक बढी घलेगाउँमा शनिबार भित्रिएका थिए ।


‘घलेगाउँमा एक दशकपछि बाक्लो हिमपात भयो । पर्यटक नअटेर कोही रातसाँझ फर्किए,’ उनले भने । घलेगाउँबाट नायु, घनपोखरा भएर अधिकांश पर्यटक भुजुङतर्फ गएको उनले बताए । ‘यति धेरै पर्यटक त अहिलेसम्म देखिएको थिइएन । हिमपातले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा मिल्यो,’ उनले भने ।


क्व्होलासोंथर गाउँपालिका–१ बाग्लुङपानीसम्म हिमपात भएको वडाध्यक्ष पेमा गुरुङले बताए । उनका अनुसार समुद्री सतहदेखि १ हजार ६ सय मिटर उचाइमा हिमपात भएको छ । ‘अहिलेसम्म वडाका रापासिंह, कपुरगाउँलगायतमा हिमपात भएको थिएन । अहिले भयो । अचम्मै लाग्यो’ उनले भने ।


वडा नं. ५ सिङदीका अध्यक्ष गीतबहादुर गुरुङका अनुसार एक दशकपछि गाउँमा हिमपात भएको हो । वडा नं. ६ पसगाउँका अध्यक्ष मनलाल गुरुङले एक दशकपछि हिमपात हुँदा स्थानीय निकै खुसी भएको बताए । ‘पहिले खुमेरसम्म हिउँ पथ्र्यो । अहिले गाउँसम्म पर्‍यो,’ उनले भने ।


घलेगाउँसँगै जोडिएको मस्र्याङ्दी गाउँपालिका–१ घनपोखरामा भारी मात्रामा हिमपात भएको वडाध्यक्ष रुद्रमान गुरुङले बताए । उनका अनुसार घनपोखरा जिल्लाकै सबैभन्दा उचाइमा अवस्थित समुद्री सतहदेखि २ हजार २ सय ५० मिटर उचाइमा छ । ‘हिमपातले गाउँका कोही बाहिर निस्कन सकेका छैनन् । पर्यटक पनि आएका छन्,’ उनले भने ।


गाउँ नजिकै नायुमा आन्तरिक तथा बाह्य पर्यटक आएको उनले बताए । मस्र्याङ्दी– ३ सिउरुङस्थित पर्यटन समितिका सचिव उमरबहादुर गुरुङले १ दशकपछि हिमपात भएको बताए । ‘करिब १० वर्षपछि गाउँमा हिमपात भयो । पर्यटकले हिउँ खेलेका छन् । हामी हिउँ खेलेका छौं,’ उनले भने । हिमपातले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उनले बताए । यस्तै, दूधपोखरी गाउँपालिकाको जोर्नी, देउरालीलगायत ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् ।


भुजुङमा २ दशकपछि हिमपात

क्व्होलासोंथर गाउँपालिका–४ भुजुङमा करिब २० वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातपछि आन्तरिक पर्यटक बढेको उनीहरूको भनाइ छ । भुजुङमै पर्ने कमागाउँमा पनि हिमपात भएको स्थानीय पूर्णकुमारी गुरुङले बताइन् ।


उनका अनुसार बगुम डाँडामा हिउँ नपरेसम्म हिउँ परिरहने पहिलेको भनाइ विगत १५/२० वर्षसम्म यत्तिकै भएको थियो । यसपटक बगुमको डाँडासम्म हिमपात भएको छ । ‘यो हिउँ त २० वर्षपछि भएको हो । पहिले गाउँको माथिल्लो भेगमा पथ्र्यो । अहिले त गाउँमै आयो,’ उनले भनिन् ।


क्व्होलासोंथर गाउँपालिका–४ का वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार यसअघि करिब १ हजार ७ सय मिटरको पिढिन्हें सम्म हिमपात अलिअलि हुन्थ्यो । अहिले १ हजार ६ सय मिटरको गाउँमै बाक्लो हिमपात भयो । ‘हिमपातपछि जनजीवन प्रभावित त भएको छ । त्योभन्दा पनि पर्यटक आएका छन् । गाउँले हिउँ खेलेका छन् । रमाइलो मानेका छन् ।’ हिमपातपछि गाउँका जग्गाजमिन सिञ्चित भएको र खेतीबाली राम्रो हुने उनले बताए ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका अनुसार क्व्होलासोंथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाका ग्रामीण भेगमा हिमपात भएको छ । एक्याप बेंसीसहरस्थित पर्यटक सूचना केन्द्र तथा प्रवेश शुल्क काउन्टरका पर्यटन सहायक बालकृष्ण घलेले ग्रामीण पर्यटकीय गाउँमा हिमपातपछि पर्यटक आवागमन बढेको बताए ।


‘घलेगाउँ, भुजुङ, सिउरुङलगायत गाउँमा पर्यटक आगमन बढेको छ । घलेगाउँमा एकैदिन १ हजार ५ सय पर्यटक पुगेको छ’ उनले भने, ‘हिमपातले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ ।’

प्रकाशित : माघ २८, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?