कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बेनी जोगाउन अस्थायी तटबन्ध

पक्की तटबन्ध बाढीले भत्काएपछि आगामी वर्षाअघि नै तयार हुनेगरी अस्थायी तटबन्ध निर्माणको काम सुरु

म्याग्दी — बेनी बजार बाढीको उच्च जोखिमयुक्त मानिन्छ । म्याग्दी र कालीगण्डकी नदी यहाँ दुई छेउबाट बगेका छन् । जिल्ला सदरमुकाम बेनीलाई नदीको कटानबाट जोगाउन लगाएको पक्की तटबन्ध गत वर्ष बाढी भत्काएको थियो । अब अस्थायी तटबन्धको काम सुरु गरिएको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोहोरो कटानले त्रिकोणात्मक खुम्चँदै गएको बेनी बजार संरक्षण गर्न करोडौं खर्चेर आरसीसी तटबन्ध लगाइएको थियो । बाढीले उक्त संरचना बगाएपछि कालीगण्डकी नदीपट्टि ३ सय ३८ मिटर किनारमा ग्याभिन जालीको अस्थायी तटबन्ध निर्माण थालिएको हो ।

तटबन्ध निर्माण गर्न बेनी संरक्षण जिम्मेवारी पाएको पोखरास्थित रूपाताल संरक्षण एकीकृत परियोजनाबाट ३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । बजेट सुनिश्चित भएपछि ५७/५७ मिटरका तीन र १ सय ५७ मिटर छुट्टै गरी चार प्याकेज बनाई उपभोक्ता समिति मार्फत तटबन्ध निर्माणको काम सुरु गरिएको हो ।


‘७ र ८ नम्बर वडामा आ–आफ्ना उपभोक्ता समिति बनाई कालीगण्डकीतर्फ तटबन्ध निर्माण सुरु गरेका छौं,’ बेनी–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले भने, ‘साबिक कार्यक्रमबाट निर्मित तटबन्धको स्ट्रक्चर फेल भएपछि री–डिजाइन भएन । री–डिजाइन र ठेक्का प्रक्रियाका चरण पर्खंदा बर्खा लाग्ने, बेनी थप जोखिममा पर्ने देखिएकाले अस्थायी तटबन्ध सुरु गरिएको हो ।’


व्यवस्थित तर अस्थायी तटबन्ध निर्माण गर्दा १ सय ७१ मिटरमा नदी सतहबाट ५ फिट गहिरो फाउन्डेसन राखी ११ फिट चौडाइ र ६ फिट अग्ला ग्याभिन तटबन्ध निर्माण गर्ने योजना छ । बाढीले क्षति नपुर्‍याए पनि जोखिममा रहेका पुराना आरसीसी तटबन्ध संरक्षण गर्न नदीको सतहभन्दा ५ फिट गहिरो फाउन्डेसनमा ७ फिट चौडाइका एक लेयर एप्रोन ग्याभिन राख्ने गरी डिजाइन गरिएको १ नम्बर प्याकेजको उपभोक्ता समिति अध्यक्ष सागर बरुवालले बताए ।


नदी कटानबाट बेनी संरक्षण गर्न तटबन्ध लगाउने काम मात्र होइन कालिगण्डकी नदीको धार परिर्वतन गर्ने काम पनि सुरु भएको छ । कालिगण्डकी नदीलाई म्याग्दी बेनी र मल्लाज बेनीको बीचबाट बगाउन डोजर लगाएर नदीको धार परिवर्तन गर्न थालिएको छ ।


‘नदीले बेनीपट्टि सोझिएर कटान गर्दै मल्लाज बेनीतर्फ बहावको धार सोझिएकाले बीचबाट बगाउने प्रयास थालिएको हो,’ बेनी–७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘नदीको धार बीचमा सोझ्याउन सकियो भने बर्खाको समयमा छेउ हान्ने क्रम रोकिने विश्वास छ ।’ दोभानदेखि तीन किलोमिटर उत्तर ग्याभिन जालीको तटबन्ध बनाई त्यसमाथि मोटरबाटो बनाउन समुदायस्तरमा २०५५ सालदेखि काम सुरु भएको हो ।


२०७० सालदेखि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले पक्की तटबन्ध क्रमागत योजनामा सुरु गरे पनि पूरा नहुँदै बाढीले बगाएको हो । ‘हामीले २०५५ सालदेखि नै समुदायबाट सबै घरघडेरी प्रतिहातको हिसाबले चन्दा संकलन गरी संरक्षण सुरु गरेका थियौं,’ बेनी संरक्षण अभियानका अध्यक्ष हरिकृष्ण श्रेष्ठले भने, ‘बजार क्षेत्रका सडक साँघुरो भएकाले नदी नियन्त्रणसँगै मोटरबाटोसहितको बहुउद्देश्यीय तटबन्ध गर्ने योजना हो ।’

प्रकाशित : माघ २७, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?