३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारी हिमपातले जनजीवन कष्टकर

घनश्याम खडका,

म्याग्दी — पर्यटकीय बस्ती घोडेपानी सहित जिल्लाको उच्च हिमाली क्षेत्रका बस्तीहरूमा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातले पदमार्ग विच्छेद भई यात्रा सम्भव नभएपछि पर्यटकहरू अलपत्र परेका छन् । महरे,पुनहिल,खोप्रो,गुर्जा लगायत जिल्लाको अधिकांश बस्तीहरू हिउँले ढपक्कै ढाकिएका छन् । बाक्लो हिउँ जमेपछि वल्लो गाउँबाट पल्लो गाउँ पुग्न सक्ने अवस्था छैन ।  

भारी हिमपातले जनजीवन कष्टकर

‘दुई फिटजति हिउँ परेको छ । बाक्लो हिमपातले पुनहिल आएका पर्यटक रोकिएका छन् । पैदल यात्रा पुरै अवरुद्ध छ’ पर्यटन व्यवसायी मिना गर्वुजाले भनिन्,‘घोडेपानी वरपरका सबै डाँडाहरू हिउँले ढाकिएकाले हिमाल बनेका छन् । पर्यटकहरू यात्रा रोकिएपनि हिउँ खेल्न रमाएका छन् ।’


जिल्लाको प्राय: सबै बस्तीमा हिउँ परेको छ । तल्लो बस्तीसम्मै हिउँ झरेको छ । बाक्लो हिमपातले अधिक चिसो बढ्दा वृद्ध वृद्धा, बालबालिका र न्यानो कपडा नभएका विपन्नको जनजीवन प्रभावित भएको छ ।


बाक्लो हिमपातपछि जिल्लाका बेनी–घासा, बेनी–दरवाङ र बेनीबाट पोखरा, काठमाडौँ जोड्ने सडक बाहेक सबै ग्रामीण सडकमा सवारी अवरुद्ध भएको छ । सडकमा बाक्लो हिउँ जमेपछि भिराला पाखामा निर्मित ग्रामीण सडकमा टायर चिप्लने भएकोले सवारी चलाउन नसकिएको हो ।


भेडा गोठलाई सास्ती

खुल्ला फाँटमा गोठ राखेर पालिँदै आएका फिरन्ते भेडीगोठलाई बेँसीसम्म परेको बाक्लो हिमपातले सास्ती भएको छ । हिमाली चरन क्षेत्रबाट न्यानो खोज्दै बेँसी फाँटमा झरेका भेडी गोठलाई हिमपातले समस्या बनाएको हो ।


भेडा गोठालाका लागि हिउँदका दिन बढी कष्टकर मानिन्छ । हिउँले बेँसीका चरन क्षेत्रमा समेत ढाकेपछि फिरन्ते भेडालाई मात्र होइन खोरमा पालिने भेडाबाख्रालाई पनि चरन समस्या भएको छ । पाउद्धार, नारच्याङ, दाना, दोवा, बेगखोला, भगवती, चिमखोला, कुइने–मंगले, मल्कवाङ्ग, मुदी, मुना, लुलाङ्ग र गुर्जामा खुल्ला क्षेत्रमा फिरन्ते शैलीमा भेडा पाल्ने गरिन्छ ।


‘जतासुकै बाक्लो हिउँ छ, हिँड्ने बाटो पनि हिउँले पुरिएको छ । भेडालाई कहाँ कसरी लैजाने समस्या भएको छ । केही दिन हिउँ नपग्ले भेडा गोठमै मर्छन्’ गुर्जाका भेडा पालक कृषक भविन्द्र छन्त्यालले भने,‘बाक्लो हिउँले भकारीको गोठ समेत भत्कायो, गाउँ पुग्ने बाटो छैन ।’

जिल्लाका एक सय ९३ जनाले परम्परागत तरिकाले फिरन्ते शैलीमा भ्याङ्लुङ्ग र बरुवाल जातका १४ हजार रैथाने भेडा पाल्दै आएका छन् । भेडासँगै मिलाएर खुल्ला तरिकाले पालिएका ८ हजार बाख्रा पनि छन् । घर–घरमा पालिने खोरपाला भेडाबाख्राको गणना छैन ।


मुस्ताङमा यात्रु अलपत्र

हिमालपारिको जिल्ला मुस्ताङभर अधिक हिमपात भएपछि नदीबाहेकका सबै भू–भागमा बाक्लो हिउँ जमेकाले हिमाल झैँ बनेको छ । विश्व सम्पदा सूचिमा प्रस्तावित ‘माटोको सहर’ मुस्ताङको उपल्लो भेग लोमन्थाङ बाक्लो हिउँले छोपिएको छ ।


जोमसोमस्थित विमानस्थलको धावन मार्गमा बाक्लो हिउँ जमेकाले पोखरा–जोमसोम उडान पनि अवरुद्ध छ । बेनी–जोमसोम सडकको मुस्ताङ खण्डको घासा–जोमसोम–मुक्तिनाथ समेत सबै सडक हिउँले ढाकिएकाले सवारी चल्न सक्ने अवस्था छैन ।

‘हिमपातले धनजनको क्षतिको जानकारी आएको छैन । ढोका बाहिर बाक्लो हिउँको थुप्रो लागेको छ, बाहिर निक्लन सक्ने अवस्था छैन’ मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्काले भने, ‘तीव्र गतिको हावासहित हिमपात जारी छ । कुरुवाको भरमा रहेको मुस्ताङको जनजीवन अत्यधिक कष्टकर बनेको छ ।’


डिएसपी खड्काका अनुसार ६ इन्चदेखि २ फिटसम्म बाक्लो हिउँ परेकाले अझै केही दिन विमानस्थलको रन वे खुल्ने सम्भावना छैन । सडकको अवस्था पनि यही हो । जोमसोमदेखि मुक्तिनाथ जाने सडक केही दिनदेखि बन्द रहेकोमा अब थप केही समय खुल्ने छैन ।


सडक तथा हवाई यातायात अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा रहेका बाह्य तथा आन्तरिक पर्यटक विभिन्न स्थानमा रोकिएका प्रहरीले जनाएको छ । सडक तथा हवाई धावनमार्गमा बाक्लो हिउँ थुप्रो लागेकोले मुस्ताङका सबै सडकमा र पोखरा–जोमसोम हवाई यातायात अवरुद्ध छ । चिसोले चर्पीको पानी जमेपछि सरसफाइमा समस्या देखिएको छ ।

प्रकाशित : माघ २६, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?