कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पर्यटन र अतिथि केन्द्र

पोखरा — पोखरा प्राविधिक शिक्षालयलाई पर्यटन र आतिथ्यता क्षेत्रको उत्कृष्टता केन्द्रको रूपमा विकास गरिने भएको छ । शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी) अन्तर्गतको हो ।

पर्यटन र अतिथि केन्द्र

परिषद्ले युरोपेली युनियन (ईयू) सँगको सहकार्यमा शिक्षालयलाई उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने गत शुक्रबार घोषणा गरेको छ । शिक्षालयका प्राचार्य जीवनप्रसाद भण्डारीका अनुसार डेढ महिनाभित्र रणनीतिक योजनासहितको विस्तृत कार्ययोजना बनाएर ईयूलाई बुझाउने र सोहीअनुसार आर्थिक सहयोग प्राप्त हुनेछ । ‘हामीले कार्ययोजना बनाएर दिएपछि ईयूले संस्थागत सुधारका लागि आर्थिक सहयोग दिनेछ,’ उनले भने, ‘निजी क्षेत्र, पोखरा महानगरलगायत सरोकारवालासँगको समन्वय र सहयोगमा पर्यटन र आतिथ्यता क्षेत्रमा उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने उद्देश्य हो ।’ उनले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।


गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले केन्द्र घोषणा गर्दै प्रतिफल देखिने गरी कार्ययोजना बनाएर अघि बढ्न सुझाइन् । स्थानीय स्रोतसाधनमा केन्द्रित रही पर्यटन क्षेत्रको माग र आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ थियो । अहिलेसम्म केकस्ता व्यक्तिलाई के कस्तो तालिम दिइएको भन्ने यकिन तथ्यांक नरहको भन्दै उनले एक व्यक्ति एक सीपको अवधारणामा जानुपर्ने बताइन् । महानगर प्रमुख मानबहादुर जिसीले दाताको दबाबमा नभई आफ्नो आवश्यकतामा केन्द्रित रहेर कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । ‘आवश्यकता र चाहना अनुसारको तालिम दिने हो भने दाता चाहिँदैन । महानगरले नै खर्चको व्यवस्थापन गर्न सक्छ,’ उनले भने, ‘विदेशिने गरी जनशक्ति पनि तयार पार्नु भएन ।’


निर्माण, कृषि र पर्यटन क्षेत्रमा काम गरिरहेको शिक्षालयले पर्यटकीय सम्भावनालाई मध्यनजर राख्दै सोही क्षेत्रमा उत्कृष्ट केन्द्र बनाउन लागेको हो । यसले पर्यटनको उत्कृष्ट केन्द्र बनेपछि अन्तर्राष्ट्रिय क्षेत्रको समेत थप आकर्षण बढ्ने विश्वास लिइएको छ । परिषद्का सदस्यसचिव पुष्परमण वाग्लेले दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसाथ उत्कृष्ट केन्द्र घोषणा गरिएको बताए । ‘काम हामीले नै गर्ने हो । ईयूले सहयोग मात्र गर्ने हो’ उनले भने, ‘घोषणा ठूलो कुरा होइन, उत्पादन र उत्पादकत्व बढ्ने गरी दक्ष जनशक्ति तयार पारेर कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो ।’ यसमा परिषद् र शिक्षालय गम्भीर रहेको उनले बताए ।


युरोपेली युनियनकी राजदूत भेरोनिका कोडीले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रम ४८ महिनाको हुनेछ । परिषद्को सक्षमता परियोजना संयोजक गेहेन्द्र कार्की, परिषद् गण्डकी प्रदेश निर्देशक भुवनेश्वर ढुंगाना, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उत्कृष्ट केन्द्र व्यावहारिकरूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सबैले महसुस गर्नेगरी कार्यक्रम अघि बढाउनुपर्ने बताए । ‘दक्ष जनशक्ति र रोजगारदाताबीच जोडिने गरी काम गर्नुपर्छ’ उनले भने, ‘अधिकारसँगै कर्तव्यमुखी हुनुपर्‍यो ।’


कार्कीले पर्यटन व्यवसायमा बजार सान्दर्भिक हुनेगरी दक्षतामा आधारित तालिम प्रदान गर्न प्रशिक्षार्थी तथा प्रशिक्षक, कर्मचारीलाई तालिम व्यवस्था, आवश्यक उपकरण र कार्यशालाको सुविधामा वृद्धि गरी पर्यटन उद्योगसँग सक्रिय सहभागितामूलक सहकार्य गर्ने बताए । कार्यक्रममा राजदूत कोडीले प्राचार्य भण्डारीलाई गाडीको साँचो हस्तान्तरण गरेकी थिइन् ।

प्रकाशित : माघ २३, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?