१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बेनी–जोमसोम–कोरला सडक : विस्तारको काम सुस्त

घनश्याम खडका,

म्याग्दी — राष्ट्रिय महत्त्वको उत्तर–दक्षिण अन्तरदेशीय व्यापार मार्ग कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्ड विस्तारको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । कठिन भूगोल र प्रतिकूल मौसमका कारण कामले गति लिन नसकेको हो । 

बेनी–जोमसोम–कोरला सडक : विस्तारको काम सुस्त

यद्यपि सडक आयोजनाका प्राविधिकहरू भने धमाधम काम भइरहेको दाबी गरिरहेका छन् । बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्ये बेनी–जोमसोम ७६ किमिलाई ४ प्याकेज र जोमसोम–कोरला खण्डको १ सय १० किमिलाई ११ प्याकेज बनाई सडक विस्तारको काम भइरहेको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना जोमसोम कार्यालयले जनाएको छ ।


बेनी–जोमसोम खण्डमा ७ मिटर पिचसहित ११ मिटर चौडा सडक २०७६ पुसभित्र तयार पार्नेगरी २ अर्ब ४९ करोडमा ठेक्का सम्झौतासहित काम भइरहेको हो । त्यसैगरी जोमसोम–कोरला १ सय १० किमिमा ७ मिटर ग्राभेलसहित ११ मिटर चौडा सडक निर्माण गर्न २ अर्ब ५० करोडको लागतमा ठेक्का गरिएको छ ।


आयोजनाले लक्ष्यभित्र कार्य सम्पन्न गर्नेगरी सडक विस्तार भइरहेको दाबी गरे पनि निर्माणको गति भने सुस्त छ । आयोजनाले दिएको जानकारीअनुसार आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जोमसोम–कोरला सडकको ७० प्रतिशत मात्र काम भएको छ । अधिक चिसो र हिमपातले गर्दा मुस्ताङ खण्डमा कात्तिकदेखि नै निर्माण कार्य ठप्प छ ।


चालु वर्ष उपल्लो मुस्ताङमा भारी हिमपात भएकाले मध्यफागुन नभई काम पुन: सुचारु गर्ने सम्भावन न्यून छ । यस खण्डको समर–भेना–झैते सम्मको भीर खण्डमा निर्माण कठिन भएको छ । बेनी–जोमसोम ७६ किमिखण्डमा ४० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । बेनी–जोमसोम सडकमा धेरै भीरपहरा भएकाले विस्फोटक पदार्थ प्रयोग गर्न थालिएको छ ।


विस्फोटक पदार्थ प्रयोग भएपछि सडक विस्तारको प्रगति छिटो देखिने आयोजनाको दाबी छ । आयोजनाले महभीर–भीरकाटे र काप्रे–बाँदरजुँगभीर खण्डमा साबिकको मापदण्डअनुसार डिजाइन परिवर्तन गरी सुरुङ मार्गको विकल्प अध्ययन भइरहेको जनाएको छ ।


‘सडकको माथिल्लो (जोमसोम–कोरला) खण्डमा ७० प्रतिशत र तल्लो (बेनी–जोमसोम) खण्डमा ४० प्रतिशत प्रगति भएको छ । तल्लो खण्डका दुई स्थानमा साबिक अवस्थमा मापदण्ड अनुसारको सडक निर्माण गर्न नसकिने देखिएकाले री–डिजाइन गरी सुरुङ वा विकल्पमा छलफल भइरहेको छ,’ आयोजना प्रमुख मुकुन्द अधिकारीले भने, ‘२०७७ असारसम्म बेनी–जोमसोम–कोरला नाकासम्म सहज यातायात सञ्चालन गर्छौं ।’


११ मिटरको सडक निर्माण भए पनि बेनी–जोमसोम–कोरला सडकमा १५–१५ मिटर दायाँ–बायाँ ‘राइट अफ वे’ कायम गरिएकाले स्थानीयलाई तत्काल अस्थायी भोगचलन गरे पनि स्थायी संरचना निर्माण नगर्न आयोजनाले भनेको छ ।


निर्माणाधीन बेनी–जोमसोम सडक निर्माणमा विद्युतको कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए प्रसारण लाइनका टावरले अवरोध गरेको सडक आयोजनाले आरोप लगाएको छ । विद्युत्ले टावर राख्ने क्रममा सडकको ‘राइट अफ वे’ अतिक्रमण गरेको, कतिपय स्थानमा सडकदेखि माथि टावर राख्न ‘सब–वे’ निर्माण गरेर अलपत्र छाडेकाले पहिरो झरी सडकलाई अवरोध पुर्‍याएको आयोजनाका प्राविधिकको आरोप छ ।


‘केही स्थानमा विद्युत् प्रसारण आयोजना र सडकबीच समस्या देखिएकाले असमझदारी हटाउन छलफल भइरहेको छ,’ सडक आयोजना प्रमुख अधिकारीले भने, ‘कालीगण्डकी नदीको एउटै किनारामा दुईवटा ठूला आयोजना एकैसाथ सञ्चालन हुँदा डिस्टरभेन्समा भेट हुने रहेछ ।’


बेनी–जोमसोम–कोरला १ सय ८६ किमि सडकका विभिन्न नदी तथा खोलामा गरी ३२ वटा पक्की मोटररेबल पुल निर्माण हुने भएको छ । ०७७ असारसम्म सडकमा सहज यातायात सुचारु गर्ने सडक आयोजनाले दाबी गरे पनि अधिकांश पुलको अझै डिजाइन गर्ने र ठेक्का लगाउने प्रक्रियासमेत सुरु भइरहेको छैन । एउटै सडकमा तीनवटा छुट्टाछुट्टै पुलका आयोजना र कार्यालयले होडबाजी गरिरहेका छन् ।


३२ पक्की पुलमध्ये डोलिडारले जोमसोम–कोरला सडक खण्डको जोमसोम र चैलेमा कालीगण्डकी नदीमाथि पुल निर्माण सम्पन्न गरेको छ । सडक विभागकै पुल आयोजना सेक्टर ३ पाल्पाले पनि बेनी–जोमसोम खण्डको तिप्ल्याङ र पोखरेबगरमा कालीगण्डकी नदीमाथि पुल राख्न फाउन्डेसनको काम सुरु गरेको छ ।


बेनी–जोमसोम–कोरला सडक आयोजना जोमसोमले निर्माण गर्ने २८ वटा पक्की पुलमध्ये हाल १२ वटा निर्माणाधीन छन् । बाँकी १६ वटा पुलको डिजाइन गर्ने र ठेक्का लगाउने प्रक्रियामा रहेको आयोजनाका प्राविधकहरूले बताएका छन् ।


‘बेनी–जोमसोम–कोरला १ सय ८६ किमिमा ३२ वटा मोटरेबल पुल बन्ने हो । २ वटा पूरा भए, १४ निर्माणाधीन छन् । बाँकीको डिजाइन गर्ने र ठेक्का प्रक्रियामा छन्,’ आयोजनाका इन्जिनयर जगत प्रजापतिले भने, ‘कालीगण्डकी नदीबाहेकका साना खोलामा हामी पुल तथा कल्भर्टको काम गर्दैछौं । हामीले निर्माण गर्नेमध्ये बेगखोला लामो स्पान भएको पुल हो । सडकको अन्य स्थानमा अस्थायी भए पनि पुल छन्, यातायात रोकिने अवस्था छैन तर बेगखेलामा पुल नहुँदा वर्षाको समयमा यातायात नियमित नहुने समस्या छ ।’

प्रकाशित : माघ १९, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?