३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सहिद गाउँ ओझेलमा

प्रताप रानामगर

दमौली — देशमा प्रजातन्त्र स्थापना गर्न तनहुँको पुलीमर्‍याङ गाउँका ६ जना सहिद भए । मुलुकको व्यवस्था परिर्वतन गर्न एउटै गाउँका यतिका युवा सहिद भए पनि गाउँमा भने केही परिर्वतन भएको छैन । 

हाल व्यास–८ मा पर्ने पुलीमर्‍याङले सहिद गाउँको उपमा त पाएको छ तर तिनै सहिदका सालिक वर्षांैदेखि घुम्टो हालेर अनावरण हुने दिन कुरिरहेका छन् । २००७ सालमा राणा शासनका विरुद्ध आन्दोलनमा होमिएका धर्मध्वज गुरुङ र २०१८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध होमिएका लालध्वज गुरुङ, शमशेर गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङ सहिद भएका थिए । सहिद स्मारक कोष व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर गुरुङले भने, ‘सहिद गाउँलाई राज्यले हेला गरेको छ । पुलीमर्‍याङ राज्यको नजरमा पर्न सकेको छैन ।’ दिवसका दिन एकपटक मात्र सहिदलाई सम्झने परम्परा राम्रो नभएको उनले बताए ।


सहिद गाउँको विकास गर्नका राज्यले चासो नदिए पनि स्थानीयस्तरबाट प्रयास भने नभएको होइन । २०५१ सालमा सहिद स्मारक कोष व्यवस्थापन समिति गठन भयो । २०५५ सालतिर स्थानीयले सडकको ट्रयाक खोल्न सुरु गरेका थिए । २०६५ मा मात्र सहिदको सम्मानका लागि गाउँको ४२ रोपनी क्षेत्रफलमा सहिद पार्क निर्माण गर्न थालेको उनले बताए । तर, बजेट अभावमा पार्क पनि अलपत्र छ । ०६८ सालमा सहिद पार्क निर्माण गरी ६ जनाको सालिक राखिएको छ । बजेट अभावमा पार्क र सालिकले पूर्णता पाउन सकेको छैन । साबिक रिस्ती गाविसमा रहेको सहिद गाउँ पुलीमर्‍याङ अहिले व्यास नगरपालिकामा पर्छ ।


नगरपालिका भएपछि सहिद गाउँ विकासको प्रथामिकतामा परेको नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् । पार्कका लागि नगरपालिकाले सुरुमा १८ लाख र चालु वर्ष १५ लाख रुपैयाँ छुट्याएको उनले बताए । ‘सहिद गाउँको विकासमा नगरपालिकाको विशेष प्रथामिकतामा छ,’ उनले भने, ‘बर्सेनि बजेट विनियोजन गरेका छौं ।’ गत वर्ष छुटयाएको बजेट स्थानीयले राम्रोसँग सुदपयोग गर्न नसकेको उनले बताए । ‘१८ लाखमा जम्मा ६ लाख मात्र खर्च गरे, अरू पैसा फिर्ता भयो,’ उनले भने, ‘६ लाखले पनि पार्कमा जग्गा सम्याउने र शौचालय बनाउने काम मात्र भयो । अरु खर्च गर्न सकेनन् ।’ चालु वर्ष पनि भएको बजेटमा आवश्यक पूर्वाधारका लागि स्थानीयले काम गर्न अघि सर्नुपर्ने उनले बताए ।


पार्कमा राखेका सालिकका संरचना कमजोर रहेको प्राविधिकले बताएका छन् । त्यसलाई भत्काएर नयाँ डिजाइनमा गर्ने नगरपालिकाको योजना हो । तर, यसमा स्थानीय सहमत छैनन् । नयाँ गुरुयोजना बनाएर सहिद पार्क व्यवस्थित रूपमा निर्माण गर्न स्थानीय सहमत हुनुपर्ने तर्क नगरप्रमुख न्यौपानेको छ ।

प्रकाशित : माघ १६, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?