कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हिउँले ढाक्दा पुनर्निर्माण प्रभावित

गोरखा — हिउँले ढाकेपछि धार्चे गाउँपालिका–४ लाप्राकको गुब्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीको काम रोकिएको छ । हिमपातसँगै चिसो बढेपछि काम प्रभावित भएको हो । 

हिउँले ढाक्दा पुनर्निर्माण प्रभावित

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लाप्राकका ५ सय ७३ स्थानीयका लागि गुब्सीपाखामा घर निर्माण गरिरहेको छ । चिसोले जनजीवन कष्टकर भएपछि बुधबार र बिहीबार निर्माणको काम भएन ।


‘आज त दिनभर घाम लागेको छ । बिहानदेखि हिउँ पर्न पनि रोकियो,’ एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले बिहीबार भने, ‘हिउँ नपग्लँदा काम गर्न सकेनौं । अहिले हिउँ पग्लिरहेको छ । मौसम सामान्य बन्दै गए भोलिबाट काम सुचारु हुन्छ ।’ मंगलबार रातिदेखि यस क्षेत्रमा हिमपात भएको हो । गुब्सीपाखा क्षेत्रमा मात्र एक फिट हिउँ जमेको उनले बताए । ‘७५ प्रतिशत हिउँ अझै बाँकी छ,’ उनले भने, ‘भोलि पनि घाम लागे ट्याक्टर कुद्ने ट्रयाक सफा गरेर काम सुरु भइहाल्छ ।’


आगामी वैशाख १२ भित्रै बस्ती निर्माण सकेर स्थानीयलाई हस्तान्तरण गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको अर्यालले बताए । लाप्राकमा एकीकृत बस्ती निर्माणमा १ सय ६० जना नेपाली सेनासहित एनआरएनएका १ सय ३५ कामदार खटिएका छन् । यो वर्ष पहिलोपटक हिउँ परेर काम रोकिएको अर्यालको भनाइ छ । ‘लक्ष्यअनुसार काम सक्छौं । मौसम ठीक रहँदा बिहान ७ देखि साँझ ५ बजेसम्म लगातार काम भइरहेको हो,’ उनले भने ।


हालसम्म ५ सय १३ घरधुरीको पहिलो तलाको काम सकिएको उनले बताए । गुब्सीपाखामा बन्ने सबै घरको जग खन्ने काम पनि सकिएको छ । ‘पहिलो तलाको झ्याल–ढोका राख्ने काम पनि सकेका छौं,’ उनले भने । १ सय २९ घरको दोस्रो तलामा एसी ब्लक लगाउने र ३ सय ८१ घरधुरीमा ट्रस्ट राख्ने काम पनि सकिएको उनले बताए । गुब्सीपाखाको १८.३ हेक्टर क्षेत्रलफल जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण थालिएको हो । गुब्सीपाखा हिउँ पर्ने डाँडा हो । धेरै जाडो हुने र खेती गर्ने बारी पुरानै बस्ती नजिक भएकाले एउटा घर तल्लो बस्तीमा अनिवार्य चाहिने स्थानीयको बुझाइ छ । एकीकृत बस्ती तयार हुन ढिलाइ भएपछि लाप्राक गाउँका बासिन्दाले पुरानै थलोमा घर मर्मत गरेर आश्रय लिएका छन् ।


हिमपातले लाप्राकका किसान खुसी छन् । ‘अल्लिअँस्ति एकपटक फासफुस परेको थियो । अहिले त बस्ती नै ढाक्ने गरेर परेको छ,’ स्थानीय मारसिं गुरुङले भने, ‘मान्छे र बस्तुभाउलाई समस्यामा परे पनि खेती लगाउन अब सजिलो हुन्छ ।’ हिउँ परेपछि उब्जनी राम्रो हुने भन्दै स्थानीय उत्साहित भएको उनले बताए । ‘यहाँको पाखो जमिन सुख्खा हुन्छ ।


हिउँ परेपछि माटोलाई मलिलो बनाइदिन्छ,’ उनले भने, ‘हिउँ परेपछि खेतीबाली लगाउन सुरु हुन्छ ।’ हिमपातले जमिन भिजाउने भएकाले खेती गर्न यस्तै बेलाको पर्खाइमा आफूहरू रहने उनले बताए । ‘आलु लगाइसक्यौं, फागुन लागेपछि मकै लगाउने हो,’ उनले भने, ‘अब जोत्न पनि सजिलो हुन्छ ।’ हिउँ पर्न रोकिएर बिहीबार घाम लागेसँगै जनजीवन सामान्य बन्न थालेको उनले बताए ।

प्रकाशित : माघ १२, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?