१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बेनीवासीलाई कटानको सधैं त्रास

घनश्याम खडका,

म्याग्दी — कालीगण्डकी नदी किनारका बेनीवासीलाई हरेक वर्ष असारदेखि भदौमा आउने बाढीले सताउने गरेको छ । हिउँदमा काली र म्याग्दी खोलामा पानीको सतह हिँडेरै वारपार गर्न मिल्नेगरी घटे पनि वर्षाको भेलको त्रास भने हटेको हुँदैन । 

बेनीवासीलाई कटानको सधैं त्रास

उत्तरबाट दक्षिण झरेको कालीगण्डकीको पश्चिम किनारामा अवस्थित छ बेनीबजार । बेनीको पूर्वी कालीगण्डकी नदी तटमा दुई सयवटा हाराहारी घरधुरी छन् । यहाँका स्थानीयलाई हिउँदमा पनि वर्षाको झझल्कोले राम्रोसँग निद नपर्ने स्थानीय बालकृष्ण सुवेदीले बताए ।


दायाँ र बायाँ कोखाबाट म्याग्दी र कालीगण्डकी नदीको निरन्तर कटानले खुम्चँदै बेनी संरक्षण गर्न लगाएको पक्की आरसीसी वाललाई गत वर्षाको बाढीले बगाएपछि पुन: लगाउने कार्यालय, बजेटर र कार्यक्रम टुङ्गो नलाग्दा अन्योल भएको हो । जोखिमयुक्त जिल्ला सदरमुकाम संरक्षण कार्यक्रमअन्तर्गत समुदायले लगाएको पुरानो ग्याभिन जाली भत्काएर ठडाइएको दुई सय २० मिटरभन्दा बढी आरसीसी पक्की तटबन्द गत वर्षा कालीगण्डकीमा आएको बाढीले बगाएको थियो ।


‘बेनी संरक्षणमा भइरहेको अलमल र बेवास्ताले थपेको अन्योलग्रस्त भविष्य सम्झेर रातमा निद्रा लग्दैन’ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले भने, ‘बनेको संरचना बाढीले बगायो, पुनर्निर्माण गर्नेबारे सबैतर्फ अन्योल छ । कसैको चासो नहुँदा चिन्ता थपिएको छ ।’


तटबन्ध निर्माण गर्दै आएका तालुक जलउत्पन्न प्रकोप सबडिभिजन कार्यालय समायोजन भई प्रदेश सरकार मातहत परेपछि कार्यालय सिँचाइ कार्यालयमा गाभिएर सदरमुकाम संरक्षण अलपत्र परेको छ । नयाँ तटबन्ध निर्माण गर्ने जिम्मेवारी सरकारले पोखरास्थित रूपाताल संरक्षण एकीकृत परियोजनालाई दिए पनि बाढीले भत्काएको २ सय २० मिटरभन्दा बढी आरसीसी तटबन्ध कसले कसरी निर्माण गर्ने भन्ने नखुलेको र जिम्मेवारी लिने निकाय फेला नपर्दा जोखिम यथावत् रहेको हो ।


‘जोखिमयुक्त जिल्ला सदरमुकाम संरक्षण कार्यक्रम हेर्ने गण्डकी प्रदेशमा अर्को निकाय नभएपछि सदरमुकाम बेनी संरक्षण कार्यक्रम पोखराको रूपाताल संरक्षण एकीकृत परियोजनाको जिम्मा लगाइएको हो,’ प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले भने, ‘गएको वर्षाको बाढीले बगाएको तटबन्ध निर्माणको डिजाइन परिवर्तन गर्न र तत्काल अस्थायी संरचना निर्माण गरी बेनी संरक्षण गर्न मन्त्रालयमा पहल गरेको छु ।’


बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम संरक्षण गर्न लगाइएको आरसीसी तटबन्ध बाढीले बगाएपछि साबिकको जल उत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालयले गठन गरेको छानबिन पनि कार्यालय समायोजनसँगै हराएको छ । प्राविधिक वा निर्माण कुन पक्षको त्रुटिले तटबन्ध बग्यो भन्ने छानबिन भएर दोषीलाई कारबाही हुने आशा गरेका बेनीवासी कार्यक्रम नै अलपत्र परेपछि आफैं छक्क परेका छन् ।


‘डेब्रिजसहितको ठूलो बाढी आएकाले तटबन्धले थेग्न नसक्दा ढलेको हो,’ योजनाको मुख्य नियमनकारी जिम्मेवार पाएको साबिकको जलउत्पन्न प्रकोप सबडिभिजन प्रमुख खगेन्द्र भट्टचनले भने, ‘कसैको गल्तीले वा डिजाइन फेलभन्दा नदीमा डेब्रिजको फ्लो बढी भएको देखिन्छ ।’ उनको तर्कसँग नगरवासी सहमत छैनन् ।


‘बाढीमा डेब्रिज बग्छ, अझ ठूल्ठूला ढुंगामुढा र रूख बगाएर ल्याउँछ नि । त्यही थेग्न बलियो भनेर बनाएको आरसीसी वाल नै बग्यो । कसको कमजोरी हो छानबिन आवश्यक छ,’ बेनी बचाऊ अभियानका अगुवा हरिकृष्ण श्रेष्ठले भने, ‘एउटै वर्षाको एक दिनको बाढीको बगाउने तटबन्धको डिजाइनै रिभाइज आवश्यक छ । गल्ती गर्नेलाई सजाय होलाभन्दा बेनी बचाऊ कार्यक्रम नै अलपत्र परेको छ ।’


जति उच्च हिमाल तथा पहाड उति–उति बाढी–पहिरोको जोखिम । धौलागिरि, नीलगिरि, अन्नपूर्णबाट झर्ने खोला क्षेत्रमा पहिरोको जोखिम उच्च छ । कालीगण्डकी नदीले बनाएको खोंचका प्राय: सबै पहाड ९० डिग्रीभन्दा बढी भिराला छन् । यिनै पहाडको फेदीको कालीगण्डकी नदीले बनाएको बगरमा अवस्थित बेनी र नदी तटीय बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन् । कालीगण्डकी नदी मात्र होइन धौलागिरि हिमालबाट झर्ने पश्चिमभेगबाट बग्ने म्याग्दी खोला र मध्यभागबाट झर्ने राहुघाट खोलामा पनि पहाडको संरचना उस्तै छ ।

प्रकाशित : माघ ४, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?