फेरियो भुजुङ

एउटै इन्जिनियरले डिजाइन गरेर बनाए जस्तै सबै घर उस्तै 
सानो सहरजस्तो ठाउँ, आँगनसँगै जोडिएका गोरेटोले अलमल्याइदिने 
आश गुरुङ

लमजुङ — बराबर आकारका ढुंगाका पाता । त्यही ढुंगाले छाएका घर । एउटै इन्जिनियरले डिजाइन गरेर बनाएजस्तै । सबै घर उस्तै । बीचमा केही जस्ताले नटल्किएका होइनन् । एकै ठाउँमा ४ सय घरधुरी । एउटै वडा ।

लमजुङको क्व्होलासोंथर गाउँपालिका ४, भुजुङ गाउँ । तस्बिर : आश/कान्तिपुर

७ सय वर्ष पुरानो मानिएको यो गाउँ पुगेपछि मात्रै देखिन्छ । कुमारी झैं लुकेर बसेको गाउँ । गाउँको बखान सुन्नेहरू पत्याउँदैनन् । जब गाउँ पुग्छन्, भन्छन्, ‘गाउँ त साँच्चिकै कुमारी नै रैछ नि ।’ लुकेर कसैले नदेख्ने गरी बसेको यही कुमारी गाउँको वास्तविक नाम ‘फोछों’ हो । स्थानीयका अनुसार ‘फो’ भनेको मृग र ‘छों’ भनेको व्यापार । पहिलेपहिले मृगको व्यापार हुने ठाउँ, यसलाई कालान्तरमा फोजों भनियो । लेख्नेले भुजुङ लेखिदिए । अहिले भुजुङबाटै परिचित छ ।

कुनै सानो सहरजस्तो ठाउँ, आँगनसँगै जोडिएका गोरेटोले प्राय: झुकिन्छन्, अलमल पर्छन् । घर एउटै, आँगन, पिँढी पनि एउटै जस्तो देखिन्छन् । ‘गाउँ आउने जो कोही पनि एक्लै हिँड्दा हराउँछन् । पहिले बाटो बिराएका धेरै मान्छेले बसेको घर पत्ता लगाउन सकेनन् । अहिले मोबाइलको सुविधाले यताउता भन्दै, फलानो टोल, फलानोको घर भनेपछि भेट हुन सजिलो हुन्छ,’ भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङ बताउँछन् । यो गाउँ संघीय संरचनापछि क्व्होलासोंथर गाउँपालिका ४ मा पर्छ । यो गाउँ बेंसीसहरबाट हिँडेर १ दिनमा पुगिन्छ । अचेल जिप चल्छ । करिब ३२ किलोमिटरको बाटो जिप चढेर छिचोल्न ३ देखि ४ घण्टा लाग्छ ।

वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार गाउँ आइनपुगेसम्म गाउँका केही कुरा पनि कसैलाई थाहा हुँदैन । गाउँले बेंसीसहर, पोखरा, चितवन, काठमाडौं गएर पनि बस्न थालेका छन् । ‘लाहुरे परिवार, धनीमानी गाउँ छोडेर सहरबजार बसाइँ सरेका छन् । तर, गाउँका घर भने खाली छैनन् । स्थानीय कालबहादुर गुरुङका अनुसार गाउँमा आफ्नै परम्परा, रीतिरिवाज, थीति र चालचलन छ । ‘समय–समयमा प्रकृतिको पूजा हुन्छ । वनदेवी–देवता, सिमेभूमेको पूजाले गाउँको रक्षा गरेको छ । त्यसैले गाउँमा अनिकाल आउँदैन,’ उनले भने । गाउँमा घटेका घटनालाई सामाजिक परम्पराअनुसार गाउँमै मिलाउने स्थानीय बताउँछन् । सबै प्रकारको मूल्य तथा भाउ गाउँमा आफैं तोकेर प्रचलनमा ल्याउने छुट्टै कानुन स्थानीयले बनाएका छन् ।

लमजुङ हिमालको काखमा रहेको भुजुङभन्दा माथि गाउँ छैन । जिल्लाको पश्चिमोत्तर दिशामा पर्ने यो गाउँ एउटै गाउँ र एउटै गाविसले चिनिन्थ्यो । करिब १६ सय २० मिटरको उचाइको उक्त गाउँमा ९० प्रतिशत गुरुङ समुदायको बसोबास छ । १० प्रतिशत दलित समुदाय बस्छन् । मुख्य पेसा कृषि हो । कृषि औजार बनाउन यहाँका विश्वकर्मा समुदाय खटिएका छन् । लुगा सिलाउन परियार समुदाय खटिएका छन् । ‘हामी बजारमा किनेर ल्याएको लुगा लगाउँदैनौं । फलामको औजार बजारबाट ल्याउँदैनौं,’ स्थानीय सुदवीर गुरुङले भने, ‘अचेलका केटाकेटीले त बजारकै लाउने भए । बुढापाका अल्लोबाट बनेका लुगा लाउँछौं । बजारबाट ल्याएको भए पनि यहीं सिलाएर लगाउँछौं ।’

वयोवृद्ध वीरलाल गुरुङका अनुसार गुरुङ जातिको आदिम थलो क्होला (अन्नपूर्ण हिमालको काख) पतनपछि गुरुङ जातिका पम र प्हज्यू भाइखलक चिसा हुँदै विजोँ (भुजुङको माथिल्लो डाँडा) आएर बसेका थिए । चैँबर खलकसँग पम र प्हज्यूको विजोँमा भेट भएपछि आपासमा कुरा बाझियो । कहिल्यै नभेट्ने वाचासहित कालो पोथी कुखुरा काटेर चैँबर र अन्य दुई भाइले आ–आफ्नो बाटो तताए । चैँबर जातिका गुरुङ डाँडैडाँडा (घनपोखरा, घलेगाउँतर्फ) गए ।

प्हज्यू र पम पन्युमा आएर बसे । दैनिक असुविधाले त्युजुमा बसाइँ सरे । पश्चिमका स्योँड म्हिगीले घरपालुवा जनावर खाइदिने, लुटपाट गर्ने, कुटपिट गर्ने गरेपछि उनीहरूले लेम खलकका गुरुङ खोजेर ल्याए । लेमले भक्यौँलाका चिल्ला खुकुरी तथा तरबार बनाएर शत्रुलाई देखाएपछि उनीहरू पसगाउँ र सिङीतर्फ भागेको वीरलालले सुनाए । दुई दशक अघिसम्म गाउँ बीचको बाटो जथाभावी गरिएको दिसापिसाब र चौपायाको गोबरले फोहोर हुन्थ्यो ।

वल्लो र पल्लो गाउँका कोही अत्यावश्यक कामबाहेक भुजुङ आउने थिएनन् । पानी बोक्न खोल्सामा दौडिनुपथ्र्यो । कति जना चिप्लिएर घाइते भए । स्थानीय डिलबहादुर गुरुङका अनुसार अहिले घर–घरमा शौचालय छ । घरघरमै पानीको सुविधा छ । नाली बनेका छन् । ‘गाउँसम्म मोटर चल्छ । चौबिसै घण्टा बिजुली छ । सामानलाई गाउँ–खेत लान–ल्याउन तीनवटा रोपवे चलेका छन् । खेतबारीका अन्नदेखि घाँसदाउरा समेत रोप–वेबाटै ओसार्छौं,’ उनले भने, ‘धान कुट्न ढिकी छ । कोदो र मकै पिँध्न पानीघट्टा छ ।’

भुजुङका स्थानीय किशोरी परम्परागत घाटु नृत्य सिक्दै ।

२०५० सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि स्थानीयले सरसफाइ, संरक्षण र आयआर्जनका बारेमा जान्न सिक्न पाए । द्वन्द्वकालमा तत्कालीन माओवादीको बम प्रहारबाट कार्यालय भत्किएसँगै आयोजना कार्यालय विस्थापित भएको थियो ।

शान्ति प्रक्रियासँगै पुन:स्थापना भएको कार्यालयले विकासमा सिकाउँदै र सहभागितामा साझेदार बनाउँदै आएको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताए । एक्यापले वन्यजन्तु र जडिबुटीको चोरी निकासीमा प्रतिबन्ध लगाएको छ । ‘विकासमा गाउँलेसँगै हिँड्यौं । संरक्षण सिकायौं । अहिले व्यवस्थापन समिति छ । दायाँबायाँ हरियाली छ । हाम्रै अगुवाइमा बिजुली बल्यो ।
रोप–वे बन्यो’ उनले भने, ‘स्वास्थ्य, शिक्षा यहीँ छ । जग्गा–जमिन यहीँ छ । युवा विदेश गए पनि कतिपय गाउँमै छन्,’ उनले भने । उनका अनुसार पछिल्लो समय घरघरै ग्यास राखिएको छ । हरेकले कृषि कर्म गरेका छन् ।

भुजुङमा चियाखेती छ । अम्रिसो खेती छ । अलैंची खेती छ । होमस्टे सञ्चालिका जुनी गुरुङका अनुसार बजारको चिया किनेर खानु पर्दैन । पाहुना पर्यटकलाई उपहार पठाउने गरेको उनले बताइन् । पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार गाउँका १८ घरमा होमस्टे छ । लोकल कुखुरा र लोकल रक्सी पर्यटकलाई मानसम्मान गर्ने गतिलो माध्यम बनेको छ । ‘हिजो वल्लोगाउँ पल्लोगाउँका समेत आउन आनाकानी गर्ने गाउँमा अहिले विदेशबाट पर्यटक आएर बस्छन्,’ उनले भने । मन्त्री, राजदूत, उच्चस्तरका सरकारी कर्मचारी समेत बेलाबेलामा गाउँ आउने गर्छन् ।

पर्यटन प्रवद्र्धनका लागि गुरुङ संग्रहालयलाई व्यवस्थित गरिँदै छ । वैशाखपूर्णिमामा घाटु नाचिन्छ । घ्याब्रे, पच्यु, कृष्णचरित्र, सोरठी, सेर्का लगायतका लोपोन्मुख नृत्य पनि गाउँमा नाचिन्छ । पर्यटक आएपछि लालीगुराँस युवा क्लबले आफ्नो सांस्कृतिक प्रस्तुति देखाउँछन् । पर्यटकको स्वागत गर्न युम्पो विकास आमा समूहले जिम्मा लिएको छ ।

हिजोआज विक, परियार तथा नेपाली (दलित) समुदायले पर्यटकलाई स्वागत गर्न थालेका छन् । स्थानीय कुलबहादुर विकका अनुसार दलित समुदायबाट पर्यटकलाई स्वागत गर्न र आयआर्जनका लागि व्यावसायिक खेती गर्न थालिएको छ । ‘हिजोसम्म हामी गाउँलेसँग मागेर खान्थ्यौं । अहिले बारीमा गोलभेंडा फलाउँछौं, खुर्सानी फलाउँछौं । काँक्रो, घिरौंला, सागपात त छँदैछ । कुखुरा पालेका छौं । महिला जागरुक हुन थालेका छन् । बालबालिका पनि पढ्न थालेका छन्,’ उनले भने ।

प्रकाशित : पुस २९, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्

पीएन क्याम्पसलाई गुणस्तर प्रमाणपत्र

कान्तिपुर संवाददाता

पोखरा — विश्वविद्यालय अनुदान आयोगले पृथ्वीनारायण क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्रदान गरेको छ । आयोगबाट हालसम्म देशभरका ३० वटा सरकारी, सामुदायिक तथा निजीस्तरका उच्च शैक्षिक संस्थाले यसप्रकारको प्रमाणपत्र प्राप्त गरेका छन् ।

अन्य केही संस्थाहरू प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा छन् । पृथ्वीनारायण क्याम्पसले उक्त प्रमाणपत्र प्राप्त गर्नका लागि २०७४ पुस २४ मा आयोगबाट आशयपत्र प्राप्त गरेपछि अंग्रेजी विभागका सहप्राध्यापक मीन पुनको संयोजकत्वमा एउटा इकाइ गठन गरी प्रक्रिया थालनी गरिएको थियो । उक्त इकाइअन्तर्गत विभिन्न समिति र उपसमिति पनि गठन गरी प्रक्रिया पूरा गरिएको हो ।

संयोजक पुनका अनुसार आन्तरिक गुणस्तर सुनिश्चितता, स्व–अध्ययन टोली र शैक्षिक व्यवस्थापन सूचना पद्धतिलगायत तीनवटा समितिको सक्रियता थियो । गुरुयोजना, वार्षिक प्रतिवेदन, प्राज्ञिक लेखापरीक्षण, सार्वजनिक सूचना, अतिरिक्त कार्यक्रम इकाइ, रोजगारी पदस्थापन, परामर्श सेवा र अन्तर्राष्ट्रिय सहकार्य इकाइ लगायतका उपसमितिहरू गठन गरेर काम गरिएको थियो । प्रमाणपत्र प्राप्त गर्न क्याम्पसले आयोगमा मूल्यांकनका लागि स्वअध्ययनको प्रतिवेदन गत जेठ ३१ मा बुझाएको थियो ।

आयोगले गत साउन २२ मा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा कमलकृष्ण जोशीको संयोजकत्वमा सह–मूल्यांकन समिति गठन गरेको थियो । उक्त समितिले गत भदौ २८ देखि चार दिनसम्म क्याम्पसको अवलोकन भ्रमण गरेर थप सुधारको सुझावसहितको प्रतिवेदन दिएको थियो । उक्त सुझावअनुसार क्याम्पसले काम गरेको थियो ।

मूल्यांकन समितिले गत मंसिर अन्तिम साता पुन: अवलोकन गरेको थियो । गुणस्तरको प्रमाणपत्र वितरण भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा आयोजित समारोहमा वितरण गरिएको हो ।

प्रकाशित : पुस २९, २०७५ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्