१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

रोकियो प्रदेशसभा सचिवालय विधेयक

लालप्रसाद शर्मा

पोखरा — प्रदेशसभाको गत भदौ ३१ र असोज १ को बैठकले प्रदेश सहकारी र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई विधायन समितिमा पठायो । दफावार छलफलपछि समितिले बिहीबारको प्रदेशसभा बैठकमा प्रतिवेदनसहित पेस गर्‍यो । 

रोकियो प्रदेशसभा सचिवालय विधेयक

साउन पहिलो साता दफावार छलफलका लागि विधायन समितिमा पठाइएको प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने अझै टुंगो लागेको छैन । प्रदेशसभा सचिवालयको सचिवको मर्यादाक्रम र अधिकार क्षेत्रका विषयमा संशोधन प्रस्तावसमेत दर्ता भएपछि विधेयक ६ महिनादेखि समितिमै रोकिएको हो । ५ पटकसम्म छलफल भए पनि सहमति जुट्न नसकेपछि विधेयकलाई विधायन समितिले स्थगितमा राखेको छ ।


समिति सदस्य तथा प्रदेशसभामा कांग्रेसका सचेतक मणीभद्र शर्माले विधेयकको एउटा बुँदामा राखेको संशोधन प्रस्तावमा सहमति जुट्न सकेको छैन । साथै नयाँ नियुक्ति हुने सचिवको मर्यादाक्रमप्रति सभामुख नेत्रनाथ अधिकारी असन्तुष्ट देखिएपछि विधेयकमाथि थप छलफल नभएर प्रदेशसभामा फिर्ता आउन ढिलाइ भएको हो ।


विधेयकको परिच्छेद ३ को दफा ५ मा प्रदेशसभा र सचिवालयलाई सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण, रेखदेख, नियन्त्रण र सुपरिवेक्षणका लागि सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको व्यवस्था गरिएको छ । त्यसमा सभामुख अध्यक्ष, उपसभामुख, प्रदेशसभा सचिवालयका सचिव सदस्य र सचिवले तोकेको एकजना अधिकृत सदस्य सचिव रहने उल्लेख छ ।


प्रदेशसभा सचिवालयको सचिव राजनीतिक नियुक्ति गर्ने र व्यवस्थापन समितिमा उनलाई बढी अधिकार दिन लागिएकाले संशोधन गर्नुपर्ने शर्माले बताए । ‘राजनीतिक नियुक्तिका सचिवलाई असीमित अधिकार दिइएकाले एकलौटी रूपमा अघि बढ्ने सम्भावना देखिएकाले संशोधन प्रस्ताव पेस गरिएको हो,’ उनले भने, ‘समितिमा सबै दलको प्रतिनिधित्व हुनुपर्ने माग हो । सबै दलको प्रतिनिधित्व नगर्ने हो भने सचिवको अधिकार कटौती गर्नुपर्छ ।’


प्रदेशसभा सचिवालयमा नियुक्ति हुने सचिव प्रदेश सरकार अन्तर्गतका मन्त्रालयका सचिवसरह हुने जनाइएपछि मर्यादाक्रम नमिलेको भन्दै सभामुखमा असन्तुष्टि थियो । प्रदेशसभा र मन्त्रालयलाई समान हैसियतमा राख्न नहुने भन्दै सचिवालयको सचिव प्रदेश सरकारका प्रमुख सचिवभन्दा तल र मन्त्रालयको सचिवभन्दा माथिल्लो मर्यादाक्रममा राख्नुपर्नेमा सभामुखले जोड दिएका थिए ।


पछिल्लो समय सोहीअनुसार हुने सहमति भएको सभामुख अधिकारीले बताए । ‘मर्यादाक्रम सच्चिएको छ,’ उनले भने, ‘छिटै विधायन समितिले टुंगो लगाउनेछ ।’ विधेयक सर्वसम्मत पारित नहुने भएपछि समिति सभापति मोहनप्रसाद रेग्मीले शर्मालाई संशोधन फिर्ता लिन आग्रह गरेका थिए । तर आफूले नमानेपछि ‘पेन्डिङ’ रहेको र सरकारले भनेमा विधेयकमाथि छलफलमा जाने उनको भनाइ छ । विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले स्थगित विधेयकमाथि केही समयभित्रै छलफल भएर टुंग्याइने बताए ।


‘संशोधन प्रस्तावभन्दा पनि सचिव कुन स्तरको बनाउने भन्ने (मर्यादाक्रम) विषयले रोकिएको हो,’ उनले भने, ‘मर्यादक्रमको टुंगो लागिसकेकाले छिटै विधेयकको टुंगो लाग्छ ।’ बहुमत र अल्पमत नभनी सहमतिमै टुंग्याउने भनेकाले पनि विधेयक लामो समयसम्म थन्किएको सदस्यले बताएका छन् ।

प्रकाशित : पुस २९, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?