कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्तीजन्य पदार्थमुक्त बनाउने योजना

कास्की — पर्यटकीय सहर पोखरालाई धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगमुक्त पार्न महानगरपालिकाले कार्ययोजना बनाउने भएको छ ।

सुर्तीजन्य पदार्थमुक्त बनाउने योजना

स्वास्थ्य मन्त्रालय, एक्सन नेपाल, द युनियन एसिया प्यासिफिक र स्वास्थ्य पत्रकार मञ्चले शनिबार आयोजना गरेको कार्यक्रमका नगरप्रमुख मानबहादुर जिसीले यस्तो बताएका हुन् ।


‘हामीलाई आएको प्रस्तावमा सहकार्यका लागि तयार छौं,’ उनले भने, ‘पोखरालाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त सहर बनाउन पहिलो चरणमा कार्ययोजना बनाउँछौं, त्यसपछि अभियानका रूपमा काम गर्छौं ।’


एकैपटक घोषणा गर्नुभन्दा अवस्थाको अध्ययन गरेर गर्न सकिनेसम्मका योजना तयार पारिने उनले बताए । ‘पोखरालाई सुर्तीजन्य पदार्थमुक्त सहर बनाउन हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘सभ्य सहरका लागि यो जायज कदम हुनेछ ।’ छलफलका आयोजकहरूबाट आएको प्रस्तावमाथि महानगरपालिकाले छलफल गरेर कार्ययोजना बनाउने उनले बताए ।


मुलुकमा धुम्रपान सेवनबाट हुने रोगका कारण वर्षमा २५ हजार जनाको ज्यान जाने गरेकाले सुर्तीजन्य पदार्थमुक्त अभियान आवश्यक भएको स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रकुमार श्रेष्ठले बताए । सुर्तीजन्य पदार्थ बिक्री र सेवनलाई नियमनसँगै नियन्त्रण गरे पोखरालाई देशको नमुना बनाउन सकिने भएका प्रस्ताव ल्याइएको भनाइ उनको थियो ।


आफ्नो स्वास्थ्य आफ्नै हातमा रहेकाले धुम्रपानरहित सहर बनाउने अभियानको सुरुवात नगरवासीले आफ्नै घरबाट गर्नुपर्ने डा. बद्री पौडेलले बताए । कार्यक्रममा उनले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले हुने रोगका बारे जानकारी दिएका थिए ।


स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुष्कर नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनेका ऐनकानुन र कार्यान्वयनको अवस्थाबारे बताएका थिए ।

प्रकाशित : पुस २२, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?