३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हातले माड्न छाडे चिया

लमजुङ — वर्षदिन अघिसम्म क्व्होलासोंथर गाउँपालिका ४ भुजुङका बासिन्दाले हातैले चिया माडेर पत्ती तयार पार्थे । आफू प्रयोग गर्न र पाहुनालाई सत्कारमा हातेचिया उपयोग हुन्थ्यो । 

चियाको मुना टिप्ने, घरमा ल्याएर अँध्यारो कोठामा २४ घण्टा ओइल्याउने, माड्ने र सुकाउने कामलाई स्थानीय बासिन्दाले झन्झटिलो मानेका थिए ।


भुजुङबासीले चिया खेती सुरुवात गरेदेखि हातैले माडेर चिया बनाउँथे । अहिले स्थानीय बासिन्दा चियालाई प्रशोधन केन्द्रमा लगेर तयार पार्छन् । डेढ दशकसम्म हातैले माडेर चिया तयार परेका भुजुङबासी अहिले चियापत्ती तयार पार्न प्रशोधन केन्द्रमा लैजान्छन् । ‘पहिले हातै फुट्ने गरी, कालो हुने गरी चियापत्ती मोल्नुपथ्र्यो । अहिले त बोकेर लग्यो, मेसिनले चियापत्ती बनाउँछ । हाइसन्चो छ,’ स्थानीय जुनी गुरुङले भनिन् ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा स्थानीयले आधुनिक चिया प्रशोधन प्लान्ट स्थापना गरेका छन् । एक्यापका अनुसार २३ लाख ७५ हजार ७ सय रुपैयाँमा चिया प्रशोधन केन्द्र निर्माण गरिएको हो । यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बाट एक्यापमार्फत ७ लाख ८० हजारको प्रशोधन उपकरण खरिद गरिएको हो । ३ लाख २० हजार नगद सहयोग गरिएको थियो ।


चियाखेती विस्तार, व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना उपसमितिका अध्यक्ष नारायणबहादुर गुरुङका अनुसार प्रशोधन केन्द्रका लागि साबिकको वडा नम्बर १ देखि ९ सम्मका गाउँवासीले २ लाख २५ हजार रुपैयाँ सहयोग गरेको थियो । गाविसको आन्तरिक कोष र घाँटु व्यवस्थापन उपसमितिबाट २/२ लाख रुपैयाँ, तत्कालीन भुजुङ गाविसबाट १ लाख ६ हजार ९ सय २० रुपैयाँ सहयोग प्राप्त भएको थियो ।


चिया प्रशोधन केन्द्र निर्माणका लागि एक्याप भुजुङले २ लाख २० हजार रुपैयाँ, तत्कालीन संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारीको सांसद विकास कोषबाट १ लाख, साबिक भुजुङ गाविसबाट १ लाख १० हजार, तत्कालीन जिल्ला पर्यटन विकास समिति लमजुङबाट १ लाख सहयोग मिलेको अध्यक्ष गुरुङले बताए ।


एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताका अनुसार भुजुङको कसीकुद्रामा ३ रोपनी १२ आना जग्गामा ४० फिट लम्बाइ तथा २४ फिट ८ इन्च चौडाइको चिया प्रशोधन भवन निर्माण गरिएको छ । उक्त भवनभित्र चिया प्रशोधन मेसिन राखिएको छ ।


चिया प्रशोधन मेसिन जडानपछि भुजुङमा चियाको प्रशोधन कार्य सुरु भइसकेको छ । आर्थिक बर्ष २०७४/०७५ मा मात्रै ३ सय ५३ किलो चियापत्ति प्रशोधन गरिएको एक्यापले जनाएको छ । त्यसबाट स्थानीयले ७ लाख ६० हजार रुपैयाँ आम्दानी गरेका छन् । प्रतिकिलो २ हजार रुपैयाँमा बिक्री गरेको स्थानीयले बताएका छन् ।


गुप्ताका अनुसार प्रशोधन प्लान्ट चिनियाँ प्रविधिमा आधारित छ । सानो स्केलको चिया उत्पादनका लागि यो मेसिन प्रभावकारी मानिन्छ । १ हजारदेखि २ हजार रोपनी चिया बगानको मुनालाई तयारी चियामा परिणत गर्न यो मेसिन उपयुक्त हुने गुप्ताले बताए ।


एक्यापका कृषि विकास सहायक श्यामशरण कुर्मीका अनुसार गाउँमै चिया प्रशोधन मेसिन जडानपछि स्थानीयलाई सहज भएको छ । हातले चिया माड्नुपर्ने बाध्यता छैन । पर्यटकीय गाउँले चिनिएको भुजुङमा २ सय ५० रोपनी क्षेत्रफलमा चिया खेती गरिएको छ ।


स्थानीयले वडाको सहयोगमा चिया खेती गर्दै आएका छन् । १५ बर्षअघि इलामबाट चियाको बेर्ना ल्याएर गाउँको त्रिभुवन विद्याश्रम मावि नजिकै १० रोपनी जग्गामा चिया खेती थालिएको थियो । एक्यापको सहयोगमा स्थानीय चिया खेती परीक्षणका रूपमा विस्तार गरेका थिए । तीन वर्षसम्म गरिएको परीक्षण सफल भएपछि २०५९ सालदेखि भुजुङका बासिन्दाले थप ५० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरेका थिए ।


वडा अध्यक्ष खिमबहादुर गुरुङका अनुसार हरेक वर्ष चिया खेती विस्तार गरिँदै लगिएको छ । झन्डै १ हजार ६ सय मिटर उचाइको भुजुङमा तक्दा–७८, तक्दा ३८३ र गुम्ती जातका चिया खेती गरिएको छ ।


गाउँमै चिया प्रशोधन केन्द्रबाट चिया प्रशोधन हुन थालेपछि स्थानीय थप हौसिएका छन् । चियालाई आन्तरिक तथा बाह्य पर्यटकलाई चखाउने गरिएको छ । अन्य पर्यटकीय गाउँमा पनि भुजुङको चिया प्रयोग गर्ने गरिएको छ ।


भुजुङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकले चियालाई उत्तिकै मन पराउने गरेको स्थानीय बताउँछन् । उनीहरू चिया लिएर मात्रै फर्कने गरेका छन् । चिया बगान विद्यार्थीको शैक्षिक भ्रमणको गन्तव्य बनेको छ ।


भुजुङको चिया बेंसीसहरका साथै पोखरा, चितवन, काठमाडौंदेखि विदेशी मुलुक साउदी अरब, दुबई, कतार, अमेरिका, बेलायत लगायतका ठाउँमा रहेका आफन्तजनहरूलाई कोसेलीको रूपमा पठाउने गरिएको छ ।

प्रकाशित : पुस २२, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?