कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तनहुँका आधुनिक घाँसी

दमौली — भानुभक्त आचार्यलाई आदिकवि बन्न प्रेरणा दिने घाँसीको सालिक तनहुँको घाँसीकुवामा छ । तनहुँकै म्याग्दे गाउँपालिका १ गुणादीमा अर्का घाँसी छन् ७० वर्षीय वामदेव खनाल ।

तनहुँका आधुनिक घाँसी

उनी आफैं घाँस लगाएर अरूलाई पनि आर्थिक समृद्धिको बाटो देखाउने घाँसी हुन् ।


उनको उमेरका अधिकांशले सक्रिय जीवन छाडेर आराम गर्न थालिसकेका छन् । उनको जोस जाँगरमा तन्नेरीको भन्दा कम छैन । भिरालो बारीमा घाँस खेती गरेका छन् । साँझ–बिहबान उनलाई रेखदेख र बिक्री गर्न सक्रिय भएको भेट्न सकिन्छ ।


२०५४ सालमा नेपियर घाँसका तीनवटा बेर्नाबाट घाँस लगाउन सुरु गरेका उनको अहिले ७० रोपनी क्षेत्रफलमा घाँसखेती छ । परम्परागत खेती गरेका उनलाई चार महिना पनि खानलाई धौ–धौ थियो । ‘आफ्नो सम्पत्तिको नाउँमा ३८ रोपनी पाखो जग्गा थियो,’ उनी भन्छन्, ‘खेतीको तरिका निर्वाहमुखी । चार महिना पनि खानलाई धौधौ हुन्थ्यो ।’


भिरालो जमिनमा घैया, मकै र कोदो बाहेक केही हुन्थेन । अहिले उनले अर्काको ३२ रोपनी जग्गा पनि भाडामा लिएर घाँस खेती गरेका छन् । घाँस बेचेरै बर्सेनि लाखौं आम्दानी लिँदै आएका छन् ।


गएको साउन महिनामा मात्रै १२ लाख रुपैयाँको घाँस बिक्री गरेको उनले बताए । ‘असार–साउन महिना घाँसका बेर्ना बेच्ने सिजन हो,’ उनी भन्छन्, ‘त्यसै आम्दानी लिनसक्ने भएको होइन, धेरै दु:ख गरेपछि बल्ल अहिलेको अवस्थामा आइपुगियो ।’


पशु विकास कार्यालयको सिफारिसमा २०५४ सालमा पोखरामा उनले एक हप्ते तालिम लिएर फिरेपछि बारीमा घाँस खेती सुरु गरेको बताए । ‘तालिम नलिएको भए अहिलेसम्म पुरानै ढर्रामा खेती गर्ने थिएँ,’ उनी भन्छन्, ‘मेरो केही प्रगति हुने थिएन । व्यवसायिक कृषिले जीवन नै परिर्वतन गरेको छ ।’


यहाँका घाँसका बेर्ना र फाइदाको चर्चा मुलुकका विभिन्न जिल्लामा पुगेको उनले बताए । अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर, डोटी, कास्की, चितवन, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत र म्याग्दी लगायतका कृषकले आफूले जसरी नै घाँस खेती गरिरहेको उनको भनाइ छ । घाँस खेतीले नाम र दाम दुवै कमाएको अनुभव साट्न मन पराउने उनी भन्छन् ‘कृषिमा जे गरे पनि कुरा बुझेर, विधि पुर्‍याएर परिश्रम गर्दा नहुने भन्ने हुँदैन ।’


‘बेला–बेलामा जिल्ला–जिल्लामा घुम्न जान्छु,’ उनले भने, ‘मैले तयार पारेका बेर्ना लगेर घाँसखेती विस्तार भएको देख्दा खुसी लाग्छ ।’ उनको ७० रोपनी क्षेत्रफलमा राइखनियो, बडहर, बकाइनो, टाँकी, कोइरालो, चिउरी, सियोफोर, सम्बा सेटारिया, पास पालम, र पलाटोलगायत घाँस छन् ।


भाडामा लिएको ३२ रोपनीमध्ये खेतको प्रतिरोपनी तीन हजार र पाखो बारीको दुई हजारका दरले वार्षिक भाडा तिर्दै आएका छन् । उनले घाँस खेतीबाट आएको आम्दानीले १८ लाखमा जग्गा किनेका मात्र छैनन्, ढुवानीका लागि भ्यान समेत खरिद गरेका छन् । घाँस र गाईको मल ढुवानीका लागि भ्यान आवश्यक भएपछि किनेको उनले बताए । उनलाई खेतीमा तीनजना छोराले समेत सघाएका छन् ।

प्रकाशित : पुस २२, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?