२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

जलस्तर घटेपछि त्रिशूलीमा पुल

तनहुँको घुमाउनेघाटमा त्रिशूली नदीमाथि पक्की पुलको निर्माण सुरु जलस्तर घटेपछि मात्रै
प्रताप रानामगर

दमौली — तनहुँको घुमाउनेघाटमा त्रिशूली नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको छ । उक्त पुल बनेपछि नारायणगढ–पोखराको दूरी २४ किमि घट्छ । दमौलीबाट बुद्धसिंह मार्ग हुँदै चितवन जोड्ने सडकको ट्रयाक खुलिसकेको छ ।

पुल निर्माणका लागि ठेक्का लागेको योजना यतिबेला त्रिशूली नदीको जलस्तर घट्ने दिन पर्खिरहेको छ ।


पाँच वर्षअघि निर्माण सुरु हुने भनिएको घुमाउनेको पुलका लागि तनहुँतर्फ जग खन्ने काम भएयता योजना अघि बढेको छैन । नयाँ प्रविधिको पुल हुने भएकाले डिजाइन फाइनल गर्न ढिलाइ हुँदै योजनामा असर परेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।


‘आर्क ब्रिज पुल बन्ने हो,’ डिभिजनका सूचना अधिकारी कर्ण केसीले भने, ‘डिजाइन फाइनल गर्न चार वर्ष लाग्यो ।’ डिजाइन पारित भएर योजना ठेक्का लागे पनि त्रिशूली नदीको जलस्तर बढेकाले काम सुरु हुन नसकेको उनले बताए । ‘गएको वर्ष मुग्लिन–नारायणगढ सडकखण्ड निर्माणको काम भइरहेकाले यो योजना अगाडि बढाउन सकिएन,’ उनले भने, ‘अब त्यो खण्डमा त्रिशूली नदीमाथि सडकका टेवा पर्खाल बनेको छ ।


यसले पनि पुल कसरी बन्छ भन्नेमा अझै प्राविधिकहरू छलफल गरिरहेका छन् ।’ मुग्लिन–नारायणगढ सडक योजनालाई बाधा नपुग्नेगरी योजना अगाडि बढाउनुपर्छ भन्नेमा विभाग रहेको उनले बताए । ‘त्रिशूलीको बहाव घट्नासाथ काम सुरु हुन्छ,’ उनले भने । नदी वारिपारि फाउन्डेसन बनाउन सुरु गरेपछि मात्रै योजनाको अवस्था भन्न सकिने उनले बताए । पुल निर्माणका लागि तनहुँतर्फ जग खनिए पनि चितवनतर्फ खन्ने काम भएको छैन ।


घुमाउनेघाटमा १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने ‘आर्क ब्रिज’ सडक विभागको पुल महाशाखाले ८ करोड २६ लाख रुपैयाँको लागतमा निर्माण गर्ने योजना हो । विभागले पुल निर्माणको ठेक्का हेटौंडाको मृत सञ्जीवनी निर्माण कम्पनीलाई दिइसकेको छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा छ ।

मोटरेवल पुल नहुँदा घुमाउनेघाट वारिपारिका बासिन्दालाई आउजाउमा समस्या छ ।


गाडी आउजाउ गर्ने पुल नबन्दा मालसामान भरियालाई बोकाएर ओसारपसार गर्नु परिरहेको आँबुखैरेनी–५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङले बताए । ‘घुमाउनेमा झोलुंगे पुल छ,’ उनले भने, ‘मान्छेलाई आउजाउ गर्न सजिलो छ तर, मालसामन ल्याउन समस्या छ ।’ मुग्लिन–नारायणगढ सडकबाट गाउँमा ३० केजीको चामल ल्याउन भरियालाई २ सय ५० रुपैयाँ भाडा तिर्नुपरेको उनले बताए ।


दमौलीबाट घुमाउनेसम्म सडक छ । पुल नभएकाले गाडी त्रिशूली वारिसम्म पुगेर फर्कन्छन् । पुल निर्माण भए पोखरादेखि नारायणगढ दूरी छोट्टिन्छ । पुलको निर्माणपछि नारायणगढ जान पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आँबुखैरेनी र मुग्लिनसम्मको सडक प्रयोग गर्नु पर्दैन ।


पोखराबाट दमौली, डुम्रे, मुग्लिन हुँदै नारायणगढभन्दा पोखरा–दमौली–बुद्धसिंह मार्ग हुँदै नारायगढ २४ किमिले दूरी छोट्टिन्छ । अहिले पनि दमौलीबाट घुमाउनेघाटसम्म नियमित रूपमा साना सवारीसधान चलेका छन् । दमौलीदेखि घुमाउनेसम्म ३२ किमि दूरी छ । सामान्य ग्राभेल अवस्थामा रहेको यो मार्ग स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित : पुस ११, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?