२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मर्स्याङ्दीमा फोहोर संकलन केन्द्र

आश गुरुङ

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिकाभित्रको फोहर संकलनकार्य थालिएको छ ।

मर्स्याङ्दीमा फोहोर संकलन केन्द्र

गाउँपालिकाभित्र रहेका ९ वटै वडामा फोहोर संकलन गरी संकलित फोहोरलाई एकै ठाउँमा संकलन गरिनेछ । यसका लागि मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा फोहोरमैला संकलन केन्द्र निर्माण गरिएको छ ।


गाउँगाउँबाट फोहोर संकलन गरिएपछि मस्र्याङदी, खुदी, ङादी लगायत नदी तथा खोलानालामा फोहर फाल्ने प्रबृत्ति हट्ने मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । ‘हाम्रो गाउँपालिका बीच भएर अन्नपूर्ण पदमार्ग छ । पदमार्गछेउ धेरै होटलहरू छन् । गाउँगाउँमा होमस्टे संचालनमा छ । फोहरमैला बढो छ ।


यसलाई मध्यनजर राखेर फोहरमैला संकलन केन्द्र बनाएका छौं । नदी तथा खोलानालामा फोहर फाल्न रोक लगाएका छौं’ उनले भने । उनका अनुसार कुहिने फोहरलाई गाउँमै कम्पोष्ट मल बनाइने र नकुहिने फोहरलाई फोहर संकलन केन्द्रमा ल्याइनेछ । वडा तथा टोल–टोलमा नकुहिने फोहोरमैला जम्मा गरिने र ट्याक्टरमार्फत संकलन केन्द्रमा ल्याइने उनले बताए ।


फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माणका लागि गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ सापकोटाका अनुसार चालु आवमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।


कुल १८ लाख रुपैयाँको लागतमा फोहोरमैला संकलन केन्द्र निर्माण गरिएको उनले बताए । उक्त बजेटबाट फोहोरमैला संकलन केन्द्र भवनका साथमा शौचालय, खानेपानी धारा र कुहिने फोहोर राख्ने २ वटा खाडल निर्माण गरिएको छ ।


फोहोर संकलनका लागि सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले चालु आर्थिक वर्षमा २३ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको थियो । २१ लाख ९० हजार रुपैयाँमा ट्रयाक्टर खरिद गरिएको छ । कम्पनीका प्रबन्ध निर्देशक याङ होङ वेले वातावरण जोगाउन र प्रदूषण घटाउन ट्रयाक्टरका लागि रकम सहयोग गरिएको बताए ।


गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले गाउँपालिकाभित्र सप्ताहव्यापी सफा मस्र्याङ्दी अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार गाउँ तथा वडावडामा पुगेर जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूह, बाबा समूह र युवा क्लबको सक्रियतामा सरसफाइ गरिनेछ ।


उनका अनुसार हरेक व्यक्तिले एक महिनाको २ घण्टा सार्वजनिक ठाउँको सरसफाइ गर्नुपर्ने नियम बनाइएको छ । आइतबार फोहोरमैला संकलन केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले फोहोर व्यवस्थापन चुनौती रहेकाले सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।


‘गाउँ नै गाउँले भरिएको मस्र्याङ्दीमा गाउँगाउँबाट फोहर ल्याउनु निकै चुनौतीपूर्ण छ । चुनौती सामना गरिएन भने विकास हुँदैन । यसकार्यको मस्र्याङ्दी गाउँपालिकाबाट अरू स्थानीय तहले पनि सिक्न जरुरी छ,’ उनले भने । फोहर गर्नै नहुने, गरेमा आफैं व्यवस्थापन गर्ने जिम्मेवारी बोध नागरिकलाई गराउनुपर्नेमा उनले जोड दिए । ‘हाम्रा गाउँघर सफा भए पर्यटकले रुचाउँछन् । पर्यटन प्रवद्र्धनका लागि पनि सरसफाइ अनिवार्य सर्त हो’ उनले भने ।


फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण समितिका अध्यक्ष नन्दराज तामाङले फोहोर व्यवस्थापन घरघरबाटै सुरु गरिने र घरमा व्यवस्थापन गर्न नसकिएका फोहोरलाई संकलन केन्द्रमा ल्याएर व्यवस्थापन गरिने बताए ।

प्रकाशित : पुस १०, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?