४३ महिनामा ४० हजार घर

७० हजार ४ सय ८१ घरपरिवार भूकम्पपीडित
२ लाख रुपैयाँले घडेरी नपाइने, भूमिहीन अन्योलमा
अनुदान रकम लगेर घर नबनाउनेलाई फिर्ता गर्न उर्दी
हरिराम उप्रेती

गोरखा — महाभूकम्पको केन्द्रविन्दु जिल्ला गोरखामा ४३ महिनाको अवधिमा ४० हजार ७ सय १२ घरको निर्माण सकिएको छ ।

गोरखा नगरपालिका–३ फिनाममा निर्माणाधीन भूकम्प प्रतिरोधी घर ।तस्बिर : हरिराम/कान्तिपुर

पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालयका अनुसार ६२ हजार ५ सय २१ पीडितको खातामा पहिलो किस्ताको रकम निकासा भएको छ ।

७० हजार ४ सय ८१ लाभग्राहीमध्ये ५२ हजार ४ सय १५ जनाको खातामा घर निर्माणका लगि दोस्रो किस्ताको रकम निकासा भएको इकाइका इन्जिनियर शैलेन्द्र भट्टले बताए ।

अनुदान सम्झौता गर्दा पहिलो किस्ताको ५० हजार, डीपीसी सकेपछि दोस्रो किस्ताको १ लाख ५० हजार र घर निर्माण सम्पन्न गरेपछि अन्तिम तथा तेस्रो किस्ताको एक लाख पाउने प्रवाधान छ । भूकम्पले भत्किएका घर पुनर्निर्माण सम्पन्न भइसक्नुपर्ने अवधिमा झन्डै ८ हजार लाभग्राहीले भने हालसम्म पहिलो किस्ताको रकम नै लिएका छैनन् ।

सम्झौता गर्न नआउने पीडितको खोजीका लागि केही समयअघि स्थानीय तहलाई इकाइले पत्राचार गरेको थियो । भूकम्पको लामो समय बितिसक्दा पनि यहाँ अनुदान पाउने लाभग्राहीको सूचीमा नाम समावेश नभएको भन्दै केही पीडितले असन्तुष्टि जनाउदै आएका छन् ।

‘ढुंगा–माटोको घर चर्किएको छ, दुईपल्ट गुनासो फारम भर्दा पनि पैसा पाउने लिस्टमा नाम आउँदैन,’ पालुङटार–१ खोप्लाङका बुद्घिबहादुर श्रेष्ठले भने, ‘घर चर्किएको हो ढलेको त छैन । कि सरकारले घर सुरक्षित भनिदिनुपर्‍यो । तेस्रोपल्ट पनि लाभग्राही सूचीमा नाम राखिदेऊ भनेर पुनरावेदन गरेको छु ।’

लाभग्राही सूचीमा नाम समावेश गरिदिन माग गर्दै फारम भरेका १५ हजार ७ सय ५० जनामध्ये हालसम्म ११ हजार ८ सय ३७ जनाको मात्र गुनासो सम्बोधन भएको छ । ३ हजार ९ सय १३ जनाको गुनासो सम्बोधनकै चरणमा रहेको इकाइले जनाएको छ ।

गुनासो सम्बोधन भएकामध्ये ७ हजार ४ सय ३३ को लाभग्राही सूचीमा नाम समावेश भएको इन्जिनियर भट्टले बताए । ३ हजार ५ सय ९४ गैरलाभाग्राहीले किस्ता दाबी गरेको पाइएको छ भने ८ सय १० जनाको अन्यत्र पनि घर भएको पाइएको छ । गुनासो सम्बोधनकै क्रममा ५ हजार ३३ पीडितको घर प्रवलीकरणका लागि एक/एक लाख पाउने सूचीमा समावेश भएको छ ।

मर्मत गर्नुपर्ने सूचीमा परेका धेरैजसो घर पीडितले पूर्ण लाभग्राही सूचीमा समावेश हुनुपर्ने माग गर्दै पुनरावेदन गर्न थालेका छन् । पुनरावेदन गर्ने पीडितहरूको ढुंगामाटोको घर मर्मत गरेर बस्न नसक्ने बताउँछन् । चर्किएर नढलेको घरमा बस्न डर हुने पालुङटार नगरपालिका–१० मिरकोटका पदमबहादुर बगालेले बताए ।

यहाँ लाभग्राही सूचीमा नाम समावेश भएका भूमिहीन भूकम्पपीडित भने अझैअन्योल छन् । सरकारले २ लाख जग्गा खरिदका लागि उपलब्ध गराउने नीति बनाए पनि यहाँ उक्त रकम लिने पीडितको संख्या निकै न्यून छ । गत आर्थिक वर्ष केराैंजाका ४२ पीडितका लागि जग्गा खरिद गर्न रकम निकासा भएको थियो ।
भूगर्भविद्ले स्थलगत निरीक्षण गरेर बस्न आयोग्यको प्रतिवेदन तयार पारेका ४ सय ७० घरधुरीको पनि स्थानान्तरण हुन सकेका छैनन् । धार्चेका ३ सय ५६, बारपाक सुलिकोटका ५५, अजिरकोटका ३४, चुमनुव्रीका २४ र आरूघाट गाउँपालिकाको एउटा घर स्थानान्तरण गर्नुपर्ने इकाइले जनाएको छ । जोखिम भनिएको क्षेत्रका बस्ती स्थानान्तरणको प्रक्रिया निकै सुस्त छ । जोखिम बस्तीका बासिन्दा सार्वजनिक र भाडाको जग्गामा टहरो बनाएर निकै कष्टपूर्वक बसिरहेका छन् ।

घर बनाउन निकासा गरिएको अनुदानको रकम लगेर पनि नबनाउनेहरूलाई पैसा फिर्ता गर्न इकाइले सूचना जारी गरेको छ । लगेको रकम फिर्ता नगरे सरकारी बाँकी सरह असुलउपर गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : मंसिर २६, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

भांग्रो बुन्न भ्याइनभ्याइ

कान्तिपुर संवाददाता

बागलुङ — विवाहको मौसम भएकाले ताराखोलाकी अमृता रोकालाई धेरैले भांग्रो बुनिदिन भनेका छन् । सबैको माग पूरा गर्न नसके पनि भ्याए सम्मको बुनेर दिने उनको योजना छ । 

बागलुङको ताराखोलाकी अमृता रोका भांग्रो बुन्ने तान मिलाउँदै ।तस्बिर : प्रकाश बराल/कान्तिपुर 

घरमा तान छ । त्यही तानमा उनले भांग्रो बुन्छिन् । विशेषगरी मगर र गुरुङहरूको चाडपर्व, विवाहसहित मृत्यु संस्कारमा पनि नभई नहुने भांग्रो खोजी गर्नेको क्रम बढेको छ । गाउँमा यस्ता सामग्री बुनिदिने सीप भएकाहरू निकै कम भएका छन् । त्यसैले जसजसले बनाउँछन्, उनीहरूले आम्दानी पनि गर्छन् ।

रोकासहित छिमेकी तिलमाया र अन्य केही महिलाले यो काम गर्दै आएका छन् । विदेशमा काम गर्न गएकाहरूले पनि उनलाई नियमित फोन गर्छन् र भांग्रो बुनिदिन आग्रह गर्छन् । ‘जापान गएका धेरै जनाले फोन गरेर आउँदा तयार गर्न भन्दै १० देखि ५० वटाका दरले माग गरिरहेका छन्,’ रोकाले भनिन् ‘काम भ्याउन मुस्किल छ ।’ दिनहुँ घरको कामधन्दा सिध्याएपछि मात्रै उनलाई तानमा बस्न समय मिल्छ ।
महिला समूहले मागलाई ध्यानमा राख्दै तालिमको आयोजना गरेको थियो । १४ जनाले भांग्रो बुन्ने तालिम लिएका छन् । उक्त तालिमपछि सबैका लागि तानसमेत वितरण गरिएको छ । लघुउद्यमी समूह संघ र लघुउद्यम विकास कार्यक्रमलगायतका गैरसरकारी संस्थाले पनि यस्तो काममा लगानी गरिदिँदा तान पाएर महिलाहरूलाई केही सहज भएको छ । लगानी जुटेकै कारण एउटा साझा भवन निर्माण गरिएको छ । त्यहाँ एकैपटक १५ जनासम्मले बसेर काम गर्न सक्ने व्यवस्था छ । फुर्सद पाएका बेला उनीहरू सबै भवनमा आएर भांग्रो बुन्छन् ।

नभ्याए घरघरमै काम गर्छन् । फुर्सद निकालेर काम गर्दा भांग्रोले उनीहरूलाई आम्दानी बढाएको छ । ‘काम गर्न सक्दा राम्रो कमाइ हुन्छ,’ रोकाले भनिन्, ‘अर्डरको तुलनामा हामीले बनाएर दिन सकेका छैनौं ।’ विदेश जानेहरूले समेत भांग्रोको माग गरेका छन् । ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री हुने भांग्रोको मूल्य बुनाइ गुणस्तर र लम्बाइअनुसार फरक पर्छ । सामान्य खालकै भांग्रो पनि एउटा तयार पार्न करिब–करिब तीन दिन लाग्ने महिला बताउँछन् ।

विदेशबाट पनि माग आएकाले हिजोआज धेरैलाई घरमै धेरै बनाएर बेच्न मन छ । कम समयमा राम्रो बनाउन मेसिन र तानको आवश्यकता पर्छ । ‘हामीलाई मेसिन र तान खरिद गर्न सघाउनुपर्‍यो भनेर गाउँपालिकामा पनि बताएका थियौं,’ रोका भन्छिन्, ‘केही सहयोग भयो भने तालिम चलाएर बुन्नेको संख्या बढाउन पनि सकिन्थ्यो ।’

वैदेशिक रोजगारीमा गएकाहरूमध्ये धेरैले परदेसमा हुने सभासमारोहमा लगाउन र आफन्तलाई उपहार दिनका लागि भांग्रो बनाइदिन आग्रह गर्ने गरेका छन् । यसरी हुने मागमा पठाउने महिलाले राम्रै आम्दानी हात पार्ने गरेका छन् ।

महिलाहरूले गरिरहेको घरेलु उद्यमलाई अझ फाइदा लिनसक्ने बनाउन गाउँपालिका सकारात्मक रहेको अध्यक्ष प्रकाश घर्तीले बताए । ‘हामी पनि घर–घरमा उद्यमी बढून् भन्ने चाहन्छौं,’ उनले भने, ‘अभियानका रूपमा भांग्रो, अल्लो र ढाका बुनाइका लागि तालिम चलाउने र सकेको सघाउने योजना छ । त्यसका लागि बजेट पनि विनयोजन गरेका छौं ।’

लगानी र परिश्रमको तुलनामा घरलु उद्यमबाट थोरै फाइदा हुने भए पनि काम गर्ने बनाउन महिलालाई सक्रिय बनाएर बीउ पुँजीको रूपमा केही लगानी गरिदिने योजना अगाडि सारिएको गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले बताइन् । ‘खेतीपातीको काम नहुँदा घरमा बसेर बुन्ने जाँगर भर्नका लागि उद्यमीको हातमा पैसा आउने वातावरण चाहिन्छ,’ उनले भनिन्, ‘सहजै बिक्री गर्ने र मूल्य पर्ने काम गर्न प्रोत्साहन गरिरहेका छौं ।’ नियमित उत्पादन गर्न थालेकाहरू भने काम गर्न आकर्षित भइसकेको उनले बताइन् ।

प्रकाशित : मंसिर २६, २०७५ १०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्