छेकम्पारलाई तिब्बतको भर
गोरखा — जाडो बढ्यो । अब हिउँ पर्न थाल्छ । हिउँ पर्दा बाहिर निस्कन सकिँदैन । हिमालको काखमा रहेको चुमनुव्री गाउँपालिका–६ छेकम्पारका बासिन्दालाई हिउँ पर्दा आगो तापेर दिन कटाउनुको विकल्प छैन ।
भान्सामा कुनै सामान सकिए नजिकै ठूला बजार छैनन् ।
हिउँ परेर जाडो बढ्ने सिजनका लागि यहाँका गाउँलेले दैनिक उपभोग्य सामग्रीको जोहो गर्न थालेका छन् । सडक सञ्जाल नपुगेको, भौगोलिक हिसाबले अति दुर्गम मानिएको उक्त क्षेत्रमा ढुवानी भाडामै पैसा बढी खर्च हुँदा महँगी उत्तिकै छ । ढुवानी भाडाले स्थानीय आजित छन् ।
छिमेकको आरूघाट गाउँपालिकाको सोतीबाट भन्दा तिब्बत सिमानाको सहरबाट सामान ल्याउँदा ढुवानी कम पर्ने भएपछि उतै आकर्षण छ । तिब्बतको जोङ सहर पुगेका छेकम्पारका छिरिङ लामा कम्तीमा दुई महिनालाई पुग्ने दैनिक उपभोग्य सामग्री लिएर फर्किए । सात घोडा र ११ चौंरी लिएर जोङ पुगेर छेकम्पार फर्कन लामालाई तीन दिन लाग्यो ।
‘छेकम्पारमा आधाभन्दा बढी सामान चाइनाबाट ल्याउने हो,’ उनले भने, ‘गोरखाको सोतीबाट ल्याएको भन्दा चाइनाबाट ल्याउँदा सस्तो पर्छ ।’ आरूघाटको सोतीबाट छेकम्पारसम्म सामान पुर्याउन चारदेखि पाँच दिन लाग्छ । ‘चाइनाबाट सामान ल्याउँदा दुई दिन कम समय लाग्ने भयो,’ स्थानीय दोर्जे लामाले भने, ‘ढुवानी भाडा पनि तिब्बतबाट ल्याउँदा सस्तो पर्छ । एक किलोमा १६/१७ रुपैयाँ नै फरक परेकाले तिब्बत नै जाने गरेका हौं ।’
खच्चडमा बोकाएर सोतीबाट छेकम्पार कुनै सामान ढुवानी गर्दा प्रतिकेजी १ सयदेखि १ सय २० रुपैयाँसम्म पर्छ । जोङबाट छेकम्पार प्रतिकेजी ८५ रुपैयाँमा ढुवानी हुने गरेको छ ।
छेकम्पारको सीमा जोडिएको तिब्बतमा जोङ र स्या गरी दुई सहर नजिकै छन् । जोङ ठूलो र स्या सानो बजार हो । धेरैजसो स्थानीय जोङ नै जाने गरेको लामाले बताए । चिनियाँ सामानको मूल्य भने नेपालको तुलनामा महँगो हुने गाउँले बताउँछन् । आरूघाटबाट ल्याएको सस्तो परे पनि ढुवानी भाडा बढी पर्ने भएपछि छेकम्पारका बासिन्दाले तिब्बतको बजार नै रोज्ने गरेका हुन् ।
‘भाउ त चाइनाको नेपालको भन्दा महँगो छ, ढुवानी भाडाले सस्तो पर्ने हो,’ नेवाङ लामाले भने । छेकम्पारबाट एक दिनको पैदल यात्रापछि पुगिने बाँजेमा एक रात बसेपछि भोलिपल्ट सबेरै तिब्बतको सिमाना पुगिने उनले बताए । छेकम्पार र तिब्बत जोड्ने ङ्युला नाका बाह्रै महिना खुला हुँदा गाउँलेलाई सहज भएको छ ।
‘एक वर्षमा एक घरका परिवार तीनदेखि पाँच पटक त जोङ्गा सहर गएकै हुन्छ,’ नेबाङले भने, ‘चांैरी र घोडा घर–घरमै पालिएको हुन्छ । सामान ढुवानीमा त्यति गाह्रो छैन ।’ सबै गाउँलेले तिब्बती भाषा जानेकाले पनि सामानको भाउमा मोलमोलाइ गर्न सहज भएको उनले बताए । तिब्बतको सिमानासम्मको पैदल मार्ग भने जोखिमको छ ।
बर्खाको बेला भीरबाट ढुंगा झर्ने र पैदल मार्ग बगाउँदा आउजाउमा जोखिम बढेको उनले बताए । आउजाउमा सहजताका लागि पैदल मार्ग सुधार गर्न बजेटको व्यवस्था गरिदिन पनि गाउँलेले यहाँ पुग्ने जनप्रतिनिधि र सरकारी कर्मचारीहरूसँग अनुरोध गर्दै आएका छन् ।
छेकम्पारमा वर्षमा एक पटकमात्रै एक खेती हुन्छ । उत्पादित कृषि उपजले वर्षभरि पुग्दैन । यहाँ गहुँ, फापर र आलु खेती हुन्छ । चामल, नुन, तेल र चिनीलगायतका उपभोग्य सामग्री खरिदका लागि गाउँले तिब्बती बजार पुग्छन् ।
‘यार्सागुम्बा टिपेपछि धेरै मान्छे चाइना सामान किन्न जान्छ,’ नेबाङले भने । ग्यास सिलिन्डर भने यहाँका स्थानीयले सोतीबाट खच्चडमा बोकाएर गाउँ ल्याउँछन् । ‘खाली सिलिन्डर तल पठाउँदा एउटाको एक हजार लिन्छन् । तल व्यापारीलाई एक सिलिन्डरको १६ सय दिनुपर्छ,’ स्थानीय छिरिङ नोर्गेले भने, ‘यहाँ आइपुग्दा एउटै सिलिन्डरको ४५ सय पर्ने भयो । ढुवानी भाडाले नै हामी मारमा परेका हौं ।’
हेलिकप्टरमा सामान ढुवानी गर्दा झनै महँगो पर्ने भएकाले पैदलमार्गबाटै केही सहुलियत हुने नोर्गेको भनाइ छ । उक्त क्षेत्रमा आकस्मिक उपचारका लागि भने हेलिकप्टरको चार्टर गर्नुपर्ने बाध्यता छ ।
प्रकाशित : मंसिर १७, २०७५ १०:१०