कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धार्मिक गन्तव्य बनाउँदै

पर्वत — कुश्मा ८ चुवाका बासिन्दाले धार्मिक पर्यटन गुरुयोजना बनाएर पूर्वाधार विकास गर्न पहल थालेका छन् । धार्मिक अगुवाहरूको भेला गरेर समिति गठन गरी पूर्वाधार विकासको योजना अघि सारिएको हो । 

धार्मिक गन्तव्य बनाउँदै

भेलाले कुलप्रसाद शर्माको अध्यक्षतामा समिति गठन गरेको छ । समितिले विष्णुबाटिका अशोक्त मुक्तिमार्ग निर्माण गर्ने भएको छ । त्यस वरिपरि पार्वतीको जन्मथलोमा चौतारी बनाई १ सय ८ वरपीपलका रूख रोप्ने योजना छ ।


त्यस्तै १ सय ८ तुलसीका मठ बनाउन थालिएको छ । घारीको चौरमा जग्गा सम्याउन थालिएको छ भने मध्यपहाडी राजमार्गबाट सहजै जान मिल्ने गरी सडकको पहुँच पुर्‍याउने योजना अघि बढाइएको छ । वडाध्यक्ष राजकुमार क्षत्रीका अनुसार एक वर्षयता चुवावासीसँग पटक–पटकको छलफल र सल्लाहपछि यस्तो योजना बनाइएको हो ।


‘चाइना चोकदेखि घारीचौर हुँदै चुवाको खोल्सासम्म १५ सय मिटर लम्बाइ छ,’ वडाध्यक्ष क्षत्रीले भने, ‘खेर गएको चौरलाई व्यवस्थित गर्न सबै वडावासी उत्साहित छन् ।’ सडक फराकिलो पार्ने नाममा वरपीपलका चौतारा मासिँदै गएका बेला यहाँ निर्माण हुने १ सय ८ चौताराले महत्त्व पाउने विश्वास उनले व्यक्त गरे । चाइनाचोकदेखि देवीस्थान मन्दिरसम्मको डेढ किमि क्षेत्रमा ८ मिटर चौडा बाटो बन्दैछ ।


योजनाअनुसार बाटाको डिलतर्फ लहरै पिल्लर हुनेछन् । चिटिक्क ढलान चौतारा बनाइनेछ । दुई चौताराको बीचको जग्गा व्यवस्थापन गरी पारिजातलगायतका फूल लगाइने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख गरिएको निर्माण समितिका अध्यक्ष कुलप्रसाद शर्माले बताए । ‘डीपीआर तयार पारिसकेका छौं,’ उनले भने, ‘योजना अनुसारको काम सुरु भइसक्यो ।’


चौतारा बनाउन ९८ जना सहयोगीले काम सुरु गरिसकेका छन् । एउटा चौतारो निर्माण गर्न ७० हजारदेखि एक लाख रुपैयाँ लाग्ने अनुमान छ । दाताले समितिको नाममा रकम जम्मा गर्ने क्रम सुरु भएको छ । १ सय ८ चौताराको बीचमा विष्णुको भव्य मूर्ति बनाइने समितिका सचिव लक्ष्मण पौडेलले बताए ।


निर्माणाधीन विष्णु वाटिकासँगै जोडिएको मध्यपहाडी लोकमार्ग हुँदै मुक्तिनाथ, बागलुङकालिका, पञ्चकोट, गलेश्वर र ढोरपाटनलगायतमा जाने पर्यटकका गाडीका लस्कर लाग्छन् । विष्णुबाटिका निर्माणपछि यो बाटो हुँदै यात्रा गर्ने धेरै पर्यटकलाई यहाँ केहीबेर रोकिएर घुम्न मन लाग्ने बनाउने चुवावासीको योजना छ ।


कुश्मादेखि २ किमिको दूरीमा रहेको चुवामा निर्माणाधीन विष्णुबाटिकासँगै मोदीखोलाको सुसेली सुन्दै र उत्तरतर्फ लहरै मिलेका हिमाल हेर्दै रमाउनेहरूका लागि आसपासमा व्यवस्थित रिसोर्टसमेत बनाइने योजना छ ।

प्रकाशित : मंसिर १४, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?