मालपोतमा सास्ती उस्तै

कान्तिपुर संवाददाता

स्याङ्जा — दुई वर्षअघि खुट्टा भाँचिएका वालिङ–११ बग्रेबजारका ४५ वर्षीय ख्यामबहादुर अधिकारीलाई हिँडडुल गर्न असजिलो छ । उपचार गर्न निकै खर्च गरेका उनलाई ऋण तिर्न गाह्रो परेपछि खेत बेच्नुको विकल्प भएन ।

स्याङ्जा जिल्ला मालपोत कार्यालय ।तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर

नामसारी गराउन उनी स्याङ्जा जिल्ला मालपोत कार्यालय धाउन थालेको मंगलबार तीन दिन भयो । कहिले कम्प्युटरले काम गरेन, सर्भर चलेन त कहिले नेट चलेन भनेर कर्मचारीले असमर्थता जनाइरहँदा आधा घण्टामै हुने कामका लागि उनले पटक–पटक धाउनु परेको गुनासो गरे । ‘अहिले सबै काम अनलाइनमा हुन्छ भन्थे,’ उनले भने, ‘कोठैकोठा चहार्दा दिन बित्छ । बेलुकासम्म लाइनमा बसें तर पालो आएन । अझै कति दिन धाउनुपर्ने हो थाहा छैन ।’ मालपोत कार्यालयबाट पहिले पाइने सेवाभन्दा अहिले झन् सास्ती भोग्नुपरेको उनले गुनासो गरे ।

तथ्यांकलाई डिजिटल फम्र्याटमा सुरक्षित राख्दै सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने उद्देश्यले गत भदौदेखि मालपोत कार्यालयमा अनलाइन सेवा सुरु भएको हो । सरकारको लक्ष्य अनुरूप नै देशभरका मालपोतमा अनलाइन सेवा विस्तार गर्ने क्रममास्याङ्जामा पनि गरिएको थियो । अनलाइनमा आधारित सेवा भनिए पनि झन् बढी झन्झटिलो भएको सेवाग्राहीले बताएका छन् । ‘कर्मचारीले काम बन्दैन पनि प्रष्ट भन्दैनन्,’ अधिकारीले भने, ‘कम्प्युटरले काम गरेन एकछिन बस्नुस् है, हजुरको काम बन्छ भनेर भनिरहन्छन् । तर, काम कहिले गर्ने हो थाहै छैन ।’

कम्प्युटर र सर्भरका कुरा ग्रामीण सेवाग्राहीले बुझ्ने भाषा नभएको उनले बताए ।
जग्गा रोक्का र फुकुवाका लागि बिहानदेखि लाम लागेका धेरै सेवाग्राही पहिलेभन्दा कामको गति झन्झटिलो भएको बताउँछन् । जग्गा कारोबारका लागि पोखराबाट आएका मेघबहादुर थापाले प्रविधिमा आधारित सेवाका लागि सञ्चार उपकरण उपयुक्त व्यवस्थापन गरेरमात्रै लागू हुनुपर्नेमा हतार भएको जस्तो देखिएको बताए ।

‘पहिले फोटो खिचेर काम बन्थ्यो । बूढाबूढीलाई एक दिन ल्याउँदा काम नभएमा अर्को दिन आफूमात्र आए पनि हुन्थ्यो,’ उनले भने, ‘अहिले सबैतिर अनलाइनमा फोटो खिच्ने भनेर बूढा बाउलाई डोर्‍याउँदै हिँडेको छु ।’ सानो कामका लागि तीन/चार दिन धाउनुपरेको उनले बताए । ‘प्रक्रिया झन्झटिलो भयो, एउटा कामका लागि धेरै कोठामा जानुपर्छ,’ उनले भने ।

मालपोत कार्यालयका अनुसार सुरुमा कम्प्युटरमा गएर इन्ट्री गरी जग्गा हेर्ने, ल्याप्चे लगाउने र फोटो खिचाउने जस्ता काम गरिन्छ । त्यसपछि जग्गा भए/नभएको हेरेर राजस्व बुझाउनुपर्छ । पुर्जा प्रिन्टमा जाने, नयाँ पुर्जा बनाएर र पास गर्ने गरिन्छ । यो सबै कामका लागि फरक–फरक कोठामा व्यवस्था गरिएको छ । सबै कोठामा अहिले सम्बन्धित जग्गधनी आफैं उपस्थित हुनुपर्छ ।
धितो राखेको जग्गा फिर्ता गराउन १० दिन धाउनुपरेको गुनासो एक सेवाग्राहीले गरे । कहिले कम्प्युटर नचल्ने, कहिले सफ्टवेयरले काम नगर्ने त कहिले नेट नचल्नेजस्ता समस्या आफूहरूको हातको नभएको मालपोतका कर्मचारी बताउँछन् ।

त्यसो त अधिकांश कर्मचारी कम्प्युटर प्रविधिमा सिकारु छन् । कम्प्युटर सिक्दै काम गर्नुपरेको छ । जागरिमा लामो समय बिताएका कर्मचारीले बल्ल कम्प्युटरमा अनलाइनमार्फत काम गर्नुपर्दा समस्या हुने गरेको गुनासो सेवाग्राहीको छ । प्रविधिसँग खेल्न नसक्ने कर्मचारीका कारण काम ढिला हुने गरेको सेवाग्राही मेघबहादुर बताउँछन् । ‘जग्गा रोक्का राख्न र रोक्का राखेको जग्गा फुकुवा गर्न पहिले १५ मिनेटमा सकिन्थ्यो,’ उनले भने, ‘अहिले नेट के–के भयो भन्छन्, भगवान् भरोसाको काम छ ।’

मालपोत अधिकृत दिनेश अधिकारी अनलाइन प्रणाली छिटोछरितो प्रविधि भए पनि यसको व्यवस्थापन अझै स्तरीयरूपमा हुन बाँकी रहेको बताउँछन् । ‘हातले गर्ने काम धेरै छिटो हुन्छ ।

रजिस्टरमा साइन गर्‍यो, रोक्का– फुकुवा खुलायो, काम सकियो,’ उनले भने, ‘अहिले कम्प्युटर र सर्भरमा गरिने कामका लागि कहिलेकाहीं इन्टरनेटको स्लो स्पिडका कारण समस्या हुन्छ ।’ सर्भर र इन्टरनेटमा भर पर्ने गरेकाले सेवाग्राहीलाई कतिबेला काम हुन्छ भनेर समय किटान गर्न गाह्रो रहेको उनले बताए ।

‘अहिले सजिलो सेवा दिने भनिएको हो तर गाह्रो भएको छ । सबै काम गर्‍यो, सेभ नै हुँदैन । एउटा नाम खोज्दा अर्को आइदिन्छ,’ उनले भने, ‘सेवा छिटो छरितो पार्न प्रयास भइरहेको छ ।’ इन्टरनेट सेवा प्रदायकसँग नेटको स्पिडका बारेमा कुरा भइरहेको उनले बताए ।

‘सामान्य मिस्टेक भए सफ्टवेयरले काम गर्दैन,’ उनले भने, ‘काम गर्दै जाँदा सिस्टममा आधारित सेवा दिने बानी पर्न थालेको छ । यो छिटो हुन केही समय लाग्छ ।’ अनलाइन सेवाले कर्मचारी बढी व्यस्त भएको र प्रविधिले कामको चाप बढाएको उनले बताए ।

प्रकाशित : मंसिर १२, २०७५ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

पूजामा सार्वजनिक बिदा

कान्तिपुर संवाददाता

गोरखा — गुठी पञ्चमी पर्वको अवसरमा प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिरमा भएको विशेष पूजाका दिन मंगलबार सहिद लखन गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । 

पुनर्निर्माणपछिको गोरखाको मनकामना मन्दिर । तस्बिर : हरिराम उप्रेती/कान्तिपुर 

मनकामनाको विशेष पूजाका लागि सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । ‘आज यहाँ जात्रा पनि लाग्छ,’ उनले भने, ‘धार्मिक, सांस्कृतिक भावना जगाउँदै पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले यो वर्षदेखि सार्वजनिक बिदा दिन थालेका हौं ।’

गाउँ कार्यपालिकाको बैठकको निर्णय गाउँसभाबाट पारित गराएर सार्वजनिक बिदा दिइएको हो । ‘गुठी पञ्चमी र फागुन २ मा पर्ने लखन स्मृति दिवसमा गाउँपालिकाभर अबका वर्षबाट सार्वजनिक बिदा दिने निर्णय गाउँसभाले पारित गरिसकेको छ,’ उनले भने । बिदा दिइएकाले मंगलबार उक्त गाउँपालिकाभित्रका वडा समिति, सरकारी कार्यालय र विद्यालयबन्द रहे ।

‘परम्परादेखि गुठी पञ्चमीमा मनकामनामा विशेष पूजा हुन्छ,’ अध्यक्ष थापाले भने, ‘गाउँपालिका भरिका सबैलाई सहभागी हुन सजिलो होस् भनेर बिदा दिएका हौं ।’

पृथ्वीनारायण शाहले मनकामना गुठी स्थापना गरेयता परम्परादेखि उक्त पर्व सुरु भएको जनविश्वास छ । काठमाडौंबाट आएका शाक्य पुजारीले तान्त्रिक विधिबाट विशेष पूजा गर्ने मनकामनाका नरेन्द्र श्रेष्ठले बताए ।

‘मन्दिरभित्र र गजुरमा पुगेर पूजा गर्ने चलन छ,’ उनले भने, ‘यो पूजामा दुईवटा पाडा, र सातवटा बोकाको बलि पनि दिइन्छ । बलिको खर्च सबै गुठी संस्थानले व्योहोर्छ ।’

प्रकाशित : मंसिर १२, २०७५ १३:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT