पूजामा सार्वजनिक बिदा

गोरखा — गुठी पञ्चमी पर्वको अवसरमा प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिरमा भएको विशेष पूजाका दिन मंगलबार सहिद लखन गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । 

पूजामा सार्वजनिक बिदा

मनकामनाको विशेष पूजाका लागि सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । ‘आज यहाँ जात्रा पनि लाग्छ,’ उनले भने, ‘धार्मिक, सांस्कृतिक भावना जगाउँदै पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले यो वर्षदेखि सार्वजनिक बिदा दिन थालेका हौं ।’


गाउँ कार्यपालिकाको बैठकको निर्णय गाउँसभाबाट पारित गराएर सार्वजनिक बिदा दिइएको हो । ‘गुठी पञ्चमी र फागुन २ मा पर्ने लखन स्मृति दिवसमा गाउँपालिकाभर अबका वर्षबाट सार्वजनिक बिदा दिने निर्णय गाउँसभाले पारित गरिसकेको छ,’ उनले भने । बिदा दिइएकाले मंगलबार उक्त गाउँपालिकाभित्रका वडा समिति, सरकारी कार्यालय र विद्यालय बन्द रहे ।


‘परम्परादेखि गुठी पञ्चमीमा मनकामनामा विशेष पूजा हुन्छ,’ अध्यक्ष थापाले भने, ‘गाउँपालिका भरिका सबैलाई सहभागी हुन सजिलो होस् भनेर बिदा दिएका हौं ।’


पृथ्वीनारायण शाहले मनकामना गुठी स्थापना गरेयता परम्परादेखि उक्त पर्व सुरु भएको जनविश्वास छ । काठमाडौंबाट आएका शाक्य पुजारीले तान्त्रिक विधिबाट विशेष पूजा गर्ने मनकामनाका नरेन्द्र श्रेष्ठले बताए ।


‘मन्दिरभित्र र गजुरमा पुगेर पूजा गर्ने चलन छ,’ उनले भने, ‘यो पूजामा दुईवटा पाडा, र सातवटा बोकाको बलि पनि दिइन्छ । बलिको खर्च सबै गुठी संस्थानले व्योहोर्छ ।’

प्रकाशित : मंसिर १२, २०७५ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?