कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकीकृत बस्तीको काम आधा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्टोबर महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि भौगोलिक विकटता, मौसम र सडकको दूरावस्थाका कारण काम सकिन अझै समय लाग्ने
हरिराम उप्रेती

गोरखा — भूकम्पपीडितका लागि धार्चे गाउँपालिका ४ लाप्राकको गुब्सीपाखामा निर्माणाधीन एकीकृत बस्तीको काम ५२ प्रतिशत सकिएको छ । 

एकीकृत बस्तीको काम आधा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्टोबर महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि भौगोलिक विकटता, मौसम र सडकको दूरावस्थाका कारण काम सकिन समय लागेको हो । आगामी वैशाख १२ भित्रै निर्माण सम्पन्न गरेर घरहरू हस्तान्तरण गर्ने योजनाका साथ कामलाई तीव्रता दिइएको एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले बताए ।


भूकम्प र पहिरोले पुरानो बस्ती जोखिममा परेपछि ५ सय ७३ घरधुरीका बासिन्दालाई गुब्सीपाखामा सार्न २०७३ माघबाट एकीकृत बस्ती निर्माणको काम सुरु भएको हो । सबै घरको तल्लो तलाको झ्यालमुनि जग खन्ने र इँटाको गारो लगाउने काम सकिएको अर्यालले बताए । ‘पाँचवटा घर कम्प्लिट भएको छ,’ उनले भने, ‘१२/१५ वटा घरको माथिल्लो तलामा एसी ब्लक लगाउने काम भइरहेको छ ।’ ६९ वटा घरका छाना छाउने काम सम्पन्न भइसकेको र १३ वटामा छाना छाउने तयारी भएको उनले बताए । ‘चाहिने सामानहरू ढुवानी भइरहेका छन् ।


मौसमले साथ दिएर हिउँ नपरे लक्ष्य अनुसार नै काम सक्छौं,’ उनले भने, ‘काम सकभर छिटो–छिटो नै गरिरहेका छौं ।’ अहिलेकै गतिमा काम भए अबको एक महिनामा ६० प्रतिशत काम सम्पन्न हुने उनको भनाइ छ । बस्ती पुनर्निर्माणमा एनआरएनएलाई नेपाली सेनाले सघाएको छ । निर्माणमा एनआरएनएलाई कामदारसँगै नेपाली सेना पनि खटिएको छ । ‘हामीले कामदार बढाएर अहिले तीव्रता दिएका छौं,’ साइट म्यानेजर अर्यालले भने, ‘हालसम्म मौसमले पनि साथ दिइरहेको छ ।’ गुब्सीपाखाको १८.३ हेक्टर क्षेत्रलफल जग्गा स्वामित्वमा लिएर एकीकृत बस्तीका लागि घर निर्माण थालिएको हो ।


केही स्थानीयले उक्त बस्तीको पुनर्निर्माणमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । गुब्सीपाखाको घर निर्माणमा ढिलाइ हुँदा जोखिम बस्तीमै धेरैजसो भूकम्पपीडितले पक्की र अस्थायी प्रकृतिका घर निर्माण गरेका छन् । ‘छिटो सके त माथि नै सर्नुहुन्थ्यो,’ स्थानीय माइला गुरुङले

भने, ‘तल पनि घर बनाएको छु । माथि साह्रै जाडो हुन्छ, मौसम हेरेर तल–माथि बस्न पाइन्थ्यो ।’


तीन वर्षसम्मको टहरोको बसाइँ कष्टकर बनेको उनले बताए । गुब्सीपाखामा हिउँ पर्ने, जाडो हुने र खेती गर्ने बारी पनि पुरानै बस्ती नजिक भएकाले एउटा घर तल्लो बस्तीमा अनिवार्य चाहिने स्थानीय बताउँछन् । भूकम्पलगत्तै लाप्राकका बासिन्दा गुब्सी पाखामा अस्थायी टहरा बनाई बसेका थिए ।


पुरानो बस्तीभन्दा केही माथि रहेको पाखा हिउँदमा हिमपात हुने ठाउँ हो । त्यहाँ एनआरएनएले गाउँलेका लागि घर बनाइदिने योजना अघि सारेपछि भूकम्पपीडितले पाखो खाली गरिदिएका थिए । अहिले पुरानै बस्तीमा शरण लिइरहेकाहरू नयाँ घर बनेपछि सर्नका लागि तयार भएर बसेका छन् ।


वर्षायाममा बाटो बिग्रने र हिउँदमा हिमपात हुने भएकाले लाप्राक क्षेत्रमा पुनर्मिर्माणको काम गर्न पुगेकाहरूका लागि पनि असहज छ । पानी र हिउँ नपरेका बेला पारेर काम भइरहेको प्राविधिकले बताएका छन् ।

प्रकाशित : मंसिर १, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?