आलोपालोमा भूकम्पपीडितका घर निर्माण

गाउँमा समूह बनाएर आलोपालो घर बनाउँदै स्थानीय
नाजुक आर्थिक अवस्थाका स्थानीयलाई सिंगो गाउँका बासिन्दाले सघाउने चलन
आश गुरुङ

लमजुङ — काम गरेबापत कामदारले ज्याला लिन्छन् । सित्तैमा कसैले काम गर्दैन र कसैले सित्तैमा लगाउँदैन पनि । एकजनाको दैनिक ज्याला हजार रुपैयाँ रहेका बेला दूधपोखरी गाउँपालिका ३ फुलिङगिरी माडीका गाउँले भूकम्पपीडितका घर सित्तैमा बनाइदिने गरेका छन् । आलोपालो खट्छन् । ज्याला लिँदैनन् ।

घरधनीले साँझ–बिहानको खाना र खाजा दिन्छन् । जसको घर तयार हुन्छ, उनीहरू पनि अर्काको घर
बनाउन खटिन्छन् ।

गाउँलेको समूह एउटाको घर बनाएपछि अर्काको बनाउन अघि सर्छन् । झट्ट हेर्दा आलोपालो अर्थात् पर्म लगाउनेजस्तै देखिने गरी काम भए पनि उनीहरूको चलन अन्य ठाउँको भन्दा फरक छ । अझ आर्थिक अवस्था ज्यादै नाजुक भएकालाई सिंगो गाउँका बासिन्दाले सित्तैमा सघाउने गरेका छन् ।

२/४ जनाले गर्न गाह्रो तथा अप्ठ्यारो हुने कामका लागि गाउँ समुदायले सघाउने गरेको स्थानीयले बताएका छन् । फुलिङगिरीका राम तामाङको घर बन्दै गर्दा स्थानीय १२ जनाले सित्तैमा काम गरिरहेका छन् । उनीहरू २ सातायता उनको घर बनाउन खटिएका हुन् ।

आफ्नो घर बनाइसकिएका सुनार तामाङ अहिले राम तामाङको घर बनाउन खटिएका छन् । ‘मेरो घर बन्यो । मैले ज्याला दिइनँ । रामको घर बन्दैछ । मैले ज्याला लिने कुरा आउँदैन । हामी यता पनि पैसा नलिइकन, उता पनि पैसा नलिइकन घर बनाइराखेका छौं,’ उनले भने । सुनारले दोस्रो किस्ताको रकम पाएर तेस्रो किस्ताको सिफारिस भइसकेको बताए ।

एक वर्षयता उनीहरू सामूहिक रूपमा भूकम्पपीडितका घर बनाउन जुटेको उनले बताए । सबैभन्दा पहिले भगिलाल तामाङको घर बनाएका उनको टोलीले एउटा घर बनाउन करिब १ महिना लाग्ने बताए । ‘हिसाब गर्ने हो भने अहिलेसम्म ६ लाख रुपैयाँ लाग्यो होला । अन्तिमसम्म ८ लाख रुपैयाँ हिसाब पुग्छ होला तर ज्याला दिनु नपरेकाले कम्तीमा डेढ–दुई लाख त जोखिन्छ नि ।’

फुलिङगिरी माडी क्षेत्रमा ४ जनाको समूहले सामूहिक रूपमा भूकम्पपीडितका घर बनाउँदै आएको स्थानीयले बताएका छन् । एउटा समूहमा कम्तीमा १० जना छन् । रामका अनुसार यसअघि सित्तैमा ६/७ घर बनाइसकिएको छ । आफ्नो घर बनिसकेपछि धनसिंह तामाङ, बालध्वज तामाङलगायतका घर बनाउने तयारी भइरहेको उनले बताए । धनसिंहका अनुसार एउटा अर्काकोमा जाँदा पैसा नलिने गर्नाले आर्थिक हिसाबमा सबैलाई केही सहज भएको छ ।

‘अब बनाउने पालो मेरो हो । हामी एउटाको बनाउँदै गर्दा अर्कोको कसरी बनाउने ?, कहिलेसम्म बनाउने ? भनेर योजना बनाउँछौं’ उनले भने । अहिले धान, कोदो थन्क्याउने बेला भएकाले पनि घर बनाउन समय व्यवस्थापन गरिएको उनले बताए । उनीसँगै स्थानीय गमबहादुर घलेले भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिएका छन् । ‘तामिल लिएपछि मैले यहाँका स्थानीयलाई सिकाएँ । अहिले तालिममा भने अनुसारकै काम गरेका छौं,’ उनले दाबी गरे ।

दूधपोखरी गाउँपालिका ३ का वडा सदस्य एवं स्थानीय औतराम लामाका अनुसार १ सयभन्दा बढी घर रहेको फुलिङगिरी माडीका ७० घरभन्दा बढी घर पुनर्निर्माण गर्नुपर्ने छ । यी सबैले पहिलो किस्ताबापतको रकम बुझेका छन् । ४/५ घरले गुनासो फारम भरेका छन् । केही घरको आर्थिक अवस्था ज्यादै नाजुक रहेको र केही घरको पारिवारिक अवस्थाका कारण सुरु हुन सकेको छैन । साबिक इलमपोखरी गाविस १ र २ नं. वडामा पर्ने उक्त गाउँका बासिन्दा टोलटोलकाहरू समूहगत रूपमा घर बनाउने काममा खटिएका छन् ।

‘गाउँमा कामदारको अभाव ।एकले मात्रै गर्न सक्ने काम भएन । बरु एउटाको काम सबै मिलेर गर्ने, पैसा नलिने । अर्कोको काम सबै मिलेर गर्ने, पैसा नलिने । यसो भएपछि समयमै काम सकिने । झन्डै आधा पैसा कटौती हुने । एक–आपसमा भ्रातृत्व कायम पनि हुने यो राम्रो चलन हो,’ उनले भने । वडाअध्यक्ष तिलकबहादुर गुरुङका अनुसार स्थानीय सबै निजी आवास पुनर्निर्माणमा जुटेका छन् ।

घर बनाउन बाँकी लाभग्राही काठ, ढुंगा, बालुवा, रड, सिमेन्टलगायत आवश्यक सामग्री जुटाउन व्यस्त छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको अनुदान व्यवस्थापन गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ लमजुङका फोकल पर्सन शिव रेग्मीका अनुसार पछिल्लो समय लमजुङमा भूकम्पपीडितका निजी आवास पुनर्निर्माण कार्यले गति लिएको छ । लमजुङ कम प्रभावित १७ जिल्लामा पर्छ ।

लमजुङको पनि बढी प्रभावित गोरखासँग सीमा जोडिएको दूधपोखरी गाउँपालिकामा निजी आवास पुनर्निर्माण कार्य धमाधम भइरहेको उनले बताए । ‘फुलिङगिरी, दूधपोखरी र बिचौर क्षेत्रमा भइरहेको पुनर्निर्माण हेर्‍यौं । काम धमाधम भइरहेको छ,’ उनले भने । उनका अनुसार कुल लाभग्राही सूचीमा १३ हजार ९ सय ५९ जना छन् ।

यसमा पहिलो किस्ता १३ हजार ३ सय १८ जनाले सम्झौता गरिसकेका छन् । दोस्रो किस्ता ५ हजार ४४ जनाले लिएका छन् । तेस्रो किस्ता ७ सय ५१ जनाले लगिसकेका छन् । लमजुङमा निजी आवास पुनर्निर्माण कार्यक्रमका लागि विस्तृत सर्वेक्षण २०७३ पुस २१ गतेदेखि सुरु भएको उनले बताए ।

चैत २८ देखि अनुदान सम्झौता थालिएकोमा ०७४ असार १४ देखि अनुदान वितरण गरिँदै आएको छ । ‘कम प्रभावित १७ जिल्लामा तुलाना गर्ने हो भने हाम्रोभन्दा प्रगति अरूको भएको छैन,’ रेग्मीले दाबी गरे ।

प्रकाशित : मंसिर १, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्

अधिकांश योजना सडकका

जिल्ला समन्वय समिति, प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको परामर्शका आधारमा योजना छनोटको प्राथमिकतामा सडक 
कान्तिपुर संवाददाता

गोरखा — गोरखा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत छनोट गरेका २० मध्ये ९ वटा योजना सडकका छन् ।

जिल्ला समन्वय समिति, प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको परामर्शका आधारमा योजना छनोट गरिएको उनले बताएका छन् ।

सडकका योजनालाई प्राथमिकतामा राखेर खानेपानी, सामुदायिक भवन, खेलमैदान र विद्यालयका योजनामा पनि बजेट विनियोजन गरिएको छ । भीमसेन गाउँपालिका ३ काशिखोला–चौतारा हँुदै धावा र गण्डकी गाउँपालिका, फुजेल, आमडाँडा, पौवा, कौदी र रानीस्वाँरा सडक स्तरोन्नतिका लागि ५०/५० लाख रुपैयाँ छुट्याइएको छ ।

आरूघाट गाउँपालिका ४ थुमी–जामुने–बाँसपुर सडक स्तरोन्नति तथा विस्तार, घ्यापिन्थोक, साततले भीर, पीपलडाँडा र सहिद लखन गाउँपालिका ४ ताक्लुङ राइनास–जुम्लीचौतारासडक स्तरोन्नतिका लागि २०/२० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

भीमसेन गाउँपालिका ७ बोर्लाङ–नारायणपुर–झप्री–बिर्दी–रूखाथुम सडक स्तरोन्नतिका लागि २५ लाख, गोरखा नगरपालिका ४ फिनाम सरस्वती मावि मधुघाट–जामुने सडकका लागि १० लाख छुट्याइएको छलफलमा सहभागी जिल्ला समन्वय समितिका कर्मचारी गोपी कोइरालाले बताए ।

गोरखा नगरपालिका ६ छहरे चण्डेनी पोखराथोक काप्राबोट हुँदै गोरखकाली मन्दिर सडक तथा गण्डकी गाउँपालिका ७ र ८ वडा कार्यालय जोड्ने सडक स्तरोन्नतिका लागि१५/१५ लाख रुपैयाँ छुट्याइएको छ ।

चुमनुव्री गाउँपालिका ३ सिर्दिवास फिलिम सामुदायिक भवन निर्माण र धार्चे गाउँपालिका ३ उहिया माथिल्लो गाउँ सामुदायिक भवन निर्माणका लागि २०/२० लाख रुपैयाँ विनियोजन गरिएको छ । चुमनुव्री गाउँपालिका ६ छेकम्पारमा खानेपानी मर्मत तथा विस्तार र धार्चे गाउँपालिका ६ काशिगाउँ खेलमैदान पूर्वाधार निर्माणका लागि १०/१० लाख रुपैयाँ छुट्याइएको छ ।

धार्चे गाउँपालिका ५ माछाखोला सामुदायिक भवन निर्माणमा २५ लाख, भीमसेन गाउँपालिका १ गैराथोक बरामगाउँ–मसेल–धारापानी चापाखोला खानेपानी मर्मत तथा सडकको ट्रयाक निर्माणका लागि १५ लाख छुट्याइएको छ ।

सहिद लखन गाउँपालिका १ इनारचौर बक्राङ खहरे बहुद्देश्यीय सामुदायिक भवन सम्पन्न गर्न १० लाख, गण्डकी गाउँपालिका ५ भगवती दर्बुङ सामुदायिक भवन निर्माणका लागि २० लाख र भुम्लीचोक आइडाँडा आधारभूत विद्यालय चेपाङ छात्रावास भवन सम्पन्न गर्न १५ लाख छुट्याइएको छ । गोरखा नगरपालिका १ ताप्ले बाह्रबिसे लिफ्टिङ खानेपानी चालु आयोजना निर्माण गर्न २० लाख र नवज्योति मावि डण्डीडाँडा कम्पाउन्ड निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट जति सडकमा
बागलुङ (कास)– स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रको ८ करोड रुपैयाँ बजेटमा सडक निर्माणका योजनालाई मात्रै प्राथमिकता दिइएको छ ।

नगरपालिका र गाउँपालिकाले बनाएका योजनामध्ये दुई वा दुईभन्दा बढी तहको साझा कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन भएको जिल्ला समन्वय अधिकारी नारायण सापकोटाले बताए । स्थानीय तहले परिषद्मार्फत अधिकांश बजेट सडकमै खर्चेका थिए । साझेदारी कार्यक्रमको बजेटलाई पनि सडक पूर्वाधारमै लगाइएको हो ।

क्षेत्र १ को ४ करोड रुपैयाँबाट बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकालाई ९ लाख ९५ हजार रुपैयाँको दरले विनियोजन भएको हो । २० हजार प्रशासनिक खर्च राखिएको छ ।

क्षेत्र नम्बर २ तर्फको बजेटमा भने गलकोट नगरपालिकालाई ७० लाख, ढोरपाटन नगरपालिकालाई ५९ लाख, बडिगाड गाउँपालिकालाई ७९ लाख, निसीखोलालाई ५० लाख, तमानखोलालाई ६० लाख र ताराखोलालाई ८० लाख विनियोजन गरिएको छ ।

क्षेत्र १ ले बनाएको तित्याङदेखि बुकेनी भकुन्डे सडकलाई ७१ लाख, भकुन्डेदेखि रायडाँडा सडकलाई ७१ लाख, गुल्मी सिमाना घट्टेखोला हुग्दीशिर हुँदै सिरानीखोल्सो मोटरबाटोका लागि ४२ लाख ६५ हजार, बरेङ नाम्दुक मोटरबाटो स्तरोन्नतिका लागि ९९ लाख ५० हजार, रेश–कादेश–लेखानी बिहुँ हुँदै तंग्राम सडकलाई ७१ लाख र भीमपोखरा–चिप्लेभीर–धम्जा जोड्ने सडकलाई पनि ७१ लाख विनियोजन गरिएको छ । स्थानीय तहले ती योजनालाई प्राथमिकतामा राखेपछि सांसादको बजेट त्यसैमा पारिएको हो ।

क्षेत्र २ तर्फ भने २१ वटा टुक्रे योजनामा बजेट राखिएको छ । सबैभन्दा ठूलो रकम खुंखानी–नर्जा सडक ट्रयाक खोल्नका लागि ५० लाख र ताराखोला विद्युतीकरणका लागि ५० लाख रुपैयाँ छुट्याएको छ । अन्य सबै योजना १० लाखदेखि ३० लाख रुपैयाँसम्मका छन् ।

ती सबै योजनामध्ये केही खेलमैदान निर्माणको भए पनि अधिकांश सडक मर्मतकै लागि लगाइएको हो । ‘गाउँपालिका र नगरपालिकाले पनि सडककै लागि खर्चेका छन् । सांसदले पनि सडकमै बजेट राख्दा सामाजिक र युवाहरूको व्यक्तित्व विकासको क्षेत्र ओझेलमा परेको छ,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले भने, ‘शैक्षिक, खेलकुद र स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा बजेट दिने कोही देखिएनन् ।’ पूर्वाधारको नाउँमा धेरै रकम पानीमा बगेको उनले टिप्पणी गरे ।

कतिपय बजेट अघिल्लो वर्ष पनि परेर काम भएका योजनामा छन् । गत वर्ष ट्रयाक खोलेर मर्मतसमेत गरिएको डाँडाखेत सुखौरा, बाँयखोला निसीतर्फको सडक, तित्याङ–भकुन्डे सडकलगायतमा निरन्तर बजेट पारिएको हो ।

‘बजेट सदुपयोग गर्न सकेमा धेरै काम हुन्छ तर हरेक वर्ष खर्च गरे पनि सडक बगेरै जाने गरेको छ,’ बागलुङ नगरपालिका ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘वास्तविक आवश्यकतामा खर्च बढाउनुपर्ने देखिन्छ ।’ सडकको खण्ड नतोक्दा हरेक वर्ष सदरमुकाम छेउमै बढी खर्च भएर गन्तव्यमा नपुग्ने गरेको उनले बताए ।

प्रकाशित : मंसिर १, २०७५ ११:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्