कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विद्यालय छाडेर शिक्षक धर्नामा

नेपाल शिक्षक महासंघको अगुवाइमा १६ वटा पेसागत संगठनका शिक्षकद्वारा शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ ठप्प 

बागलुङ — शिक्षा क्षेत्रमा २० प्रतिशत बजेटको मागसहित २६ सूत्रीय माग राखेर शिक्षकले थालेको आन्दोलन चर्केको छ । नेपाल शिक्षक महासंघको अगुवाइमा १६ वटा पेसागत संगठनका शिक्षकले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ ठप्प पारे ।

बिहान १० बजे पुगेका शिक्षकले धर्ना दिँदा कार्यालयको काम पूरै ठप्प भएको समन्वय अधिकारी कुश्मराज उपाध्यायले बताए ।


शिक्षा ऐन अद्यावधिक हुँदाहुँदै स्थानीय तहले ऐन, निर्देशिका र कार्यविधि बनाएर द्वन्द्व सिर्जना गरिएको शिक्षकले आरोप लगाएका छन् । ‘हामीले शिक्षक काउन्सिल गठनदेखि तहगत शिक्षा ऐनलाई एकरूपता बनाउन माग गरेका थियौं,’ महासंघका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने, ‘नमूना विद्यालय घोषणा पनि सरकारले हचुवाको भरमा गरेको छ । त्यस्तो प्रवृत्ति अन्त्यको माग गरेका छौं ।’


कार्यविधि र सूचकका आधारमा शिक्षक, विद्यालय र समग्र शिक्षा क्षेत्रको अनुगमन र मूल्यांकन गर्ने प्रावधान राख्नुपर्ने उनले बताए ।


शिक्षकहरू धर्नामा गएकाले यहाँका सबै सामुदायिक विद्यालयको पढाइ प्रभावित भएको थियो । झोला बोकेर विद्यालय हिँडेका विद्यार्थीहरू घर फर्केका थिए । शिक्षकले नेपाल शिक्षक महासंघलाई आधिकारिक शिक्षक ट्रेड युनियनको मान्यता दिन पनि माग गरेका छन् ।


गत जेठदेखि आन्दोलनमा उत्रेका शिक्षकको माग पूरा नभएकाले विद्यालय नै ठप्प पार्नेसमेतका कार्यक्रम ल्याउन लागेको चेतावनी पनि दिएका छन् । स्थानीय तहले आफूखुसी नियम बनाएर ऐनको अधिकार कुल्चेको उनीहरूको आरोप छ । ‘ऐनले दिएको अधिकार प्रयोग नगरी शिक्षक नियुक्ति र सरुवा आफूखुसी गर्दा विद्यालयको पढाइ प्रभावित भएको छ,’ नेपाल शिक्षक युनियनका पूर्वअध्यक्ष जगन्नाथ आचार्यले भने, ‘हामीले वर्षौंसम्म चाहिएको शिक्षक पाउन सकेका छैनौं ।’ आवश्यक नपर्ने शिक्षक भर्ना गर्ने चलखेल पनि भएको छ ।


शिक्षक संघ–संगठनसँग सरकारले गरेका सम्झौता पालना नभएकोमा पनि उनीहरूले आक्रोश पोखेका छन् । स्थायी, अस्थायी, राहत, बालविकासलगायतका धेरै प्रकारका शिक्षक राखेर विभेदीकरण गरिएको पनि उनीहरूको आरोप छ । उनीहरूले राष्ट्रिय मर्यादाक्रमको सूचीमा समेत शिक्षक नराखेको आरोप लगाए ।


उनीहरूले महिला शिक्षकको प्रसूति बिदा ६ महिना कायम गर्नुपर्ने र सो अवधिका लागि सट्टा शिक्षक राख्न पाउनुपर्नेसमेत माग गरेका छन् । ‘सट्टा शिक्षक राख्न नपाउने, सुत्केरीले पनि बिदा नपाउने हुँदा पढाइ प्रभावित भएको छ,’ धौलागिरि वीरेन्द्र माविकी प्रधानाध्यापक विमला गुरुङले भनिन्, ‘बिरामी शिक्षकले पढाउन नसक्ने, अर्को नियुक्ति गर्न नपाउने बाध्यता हटाइनुपर्छ ।’


शिक्षकले निजामती सेवा सरहको सुविधा पाउनुपर्ने मागसमेत गरेका छन् । शिक्षकका माग पूरा गर्दा राज्यलाई समेत फाइदा पुग्ने उपाध्यायले बताए । पटक–पटक शिक्षामा पुगेको अवरोध हट्ने र गुणस्तरीय शिक्षाको विकासमा योगदान पुग्ने भएकाले शिक्षकका माग पूरा गर्नैपर्ने देखिएको उनले बताए ।

दिनभर धर्नामा


स्याङ्जा (कास)– आन्दोलित शिक्षक स्याङ्जाको जिल्ला शिक्षा समन्वय इकाइको कार्यालयको प्रांगणमा शुक्रबार दिनभर धर्नामा बसेका छन् ।


महासंघ जिल्ला अध्यक्ष पशुपति पाण्डेको नेतृत्वमा करिब सयजना शिक्षक धर्ना बसेका थिए । स्थानीय तहमा शिक्षा अधिकार २३ वटा मात्र रहेकोमा सबै अधिकार स्थानीय तहले नै खिचेको बताउँदै उनीहरूले बाँकी अधिकार केन्द्रमा नै कायम हुनुपर्ने माग राखेका छन् ।


सुत्केरी बिदा ६ महिनाको माग गर्दै धर्ना बसेको उक्त टोलीले शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउने, संवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्ने, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राख्ने र सबै प्रदेश र स्थानीय तहले बनाउने तहगत शिक्षा ऐनमा एकरूपता हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित : मंसिर १, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?