अनुदान खोजी नगर्नेको खोजी

निजी आवास पुनर्निर्माण
आश गुरुङ

लमजुङ — निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परेर पनि अनुदान सम्झौता गर्न नआउनेको खोजी थालिएको छ । निजी आवास पुनर्निर्माण कार्यक्रम सुरु भएर अुनदान सम्झौता गर्न थालेको डेढ वर्ष बितिसक्दा पनि कतिपय लाभग्राहीले पहिलो किस्ताकै रकम लिन सम्झौता गरेका छैनन् । 

लमजुङको दोर्दी गाउँपालिका ८ ढोडेनीबेंसीमा निर्माण गरिएको भूकम्पपीडितको घर । तस्बिर: आश/कान्तिपुर 

सम्झौता गर्नेबित्तिकै घर बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पाइन्छ । तर, लाभग्राही सूचीमा नाम भए पनि अनुदान सम्झौता गर्न नआएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदान व्यवस्थापन गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ लमजुङले त्यस्ता लाभग्राहीको खोजी थालेको हो ।

सूचीमा रहे पनि पहिलो किस्ताबापतको अनुदान सम्झौता नगर्नेको सूची स्थानीय तहमा पठाउन थालिएको कार्यालयका फोकल पर्सन शिव रेग्मीले बताए । उनका अनुसार साबिकको गाविस तथा नगरपालिका अनुसारको सूची स्थानीय तहलाई पठाएर लाभग्राहीको अवस्थाबारे जानकारी गराउन अनुरोध गरिएको छ ।

कार्यालयका अनुसार लमजुङमा निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा १३ हजार ९ सय ५९ जना छन् । पहिलो किस्ता १३ हजार ३ सय १८ जनाले सम्झौता गरिसकेका छन् । ६ सय ४१ जनाले पहिलो किस्ताबापतको अनुदान सम्झौता गरेका छैनन् । अनुदान पाउनेको सूचीमा नाम परेर पनि अनुदान लिन सम्झौता गर्न नआउनेको अवस्थाबारे खोजी थालिएको हो ।

दोस्रो किस्ता ५ हजार ४४ र तेस्रो किस्ता ७ सय ५१ जनाले लगिसकेका छन् । ‘अनुदान सम्झौता गर्नेबित्तिकै ५० हजार रुपैयाँ पाइन्छ । यो कार्यविधिमै छ, सबैलाई जानकारी पनि छ,’ रेग्मीले भने, ‘तर ६ सय ४१ जनाले किन सम्झौता गरेनन्, यसको खोजी थालेका छौं ।’ स्थानीय तहलाई छिटो अनुदान सम्झौता सक्न अनुरोध गर्दै आएको उनले बताए । ‘प्राधिकरणले कात्तिक मसान्तसम्ममा पहिलो किस्ताबापतको सम्झौता सक्न सूचना जारी गरेको थियो । तर, पहिलो किस्ताबापतकै सम्झौतामा यतिका लाभग्राही छुट्नु खोजीको विषय छ ।’

उनका अनुसार लाभग्राहीले सम्झौता गरेर पनि घरमै पैसा आउने आसमा बसेका हुन सक्छन् । कतिको वडाले रेकर्ड राम्रोसँग नपठाएको पनि हुनसक्छ । कतिपयको बाहिरघर भएर म सम्झौता गर्दिनँ भन्ने पनि हुन सक्छन् । कोही भूकम्प पछि बसाइँ सरेर गएका पनि हुन सक्छन् ।

‘जे जस्तो भए पनि अनुदान सम्झौता किन गरेनन् भन्ने कारण त चाहियो,’ उनले भने, ‘गर्ने वा नगर्ने भन्ने पनि उत्तर चाहियो ।’ उनका अनुसार यसैभित्र जोखिमयुक्त बस्ती स्थानान्तरणका पीडित, केही भूमिहीन पनि पर्छन् । ‘केही गैरसरकारी संस्थाले बनाएका घर पनि पर्छन्,’ उनले भने, ‘सबैको रेकर्ड पठाउन स्थानीय तहलाई पत्राचार थालेका छौं ।’

पहिलो किस्ता सम्झौता नगर्नेको अन्तिम सूची मंसिर मसान्तसम्म तयार पार्ने भएकाले सोही अनुरूप पत्र स्थानीय तहमा पठाइने उनले बताए । ‘लागग्राही सूची बोकेर मात्रै भएन । यसको लगत कट्टा गर्नुपर्छ । एकिन तथ्यांक आउनुपर्छ’ उनले भने ।

मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्राप्त सूची वडा–वडामा पठाएर पहिलो किस्ताबापतको अनुदान सम्झौता नगर्नेको कारणबारे खोजी गरिने बताए । ‘स्थानीय तहले समाधान गर्न सक्ने समस्या भए हामी आफैं समाधान गर्छौं । नसक्ने भए कार्यान्वयन इकाइ कार्यालय पठाउँछौं उनले भने । यसपछि पहिलो किस्ता लिएर गएको, दोस्रो किस्ता नलिनेको पनि खोजी गरिने उनले बताए ।

भूकम्पबाट कम प्रभावित १७ जिल्लामध्ये सबैभन्दा धेरै लाभग्राही भएको लमजुङमा प्रवलीकरण सूचीमा ५ सय ३९ लाभग्राही परेका छन् । यसमा २ सय ९७ को पहिलो किस्ता सम्झौता भएको छ । कुल १ लाख रुपैयाँ पाउनेमा पहिलो किस्ता ५० हजार पाइने भए पनि दक्ष प्राविधिक नहुँदा प्रवलीकरण कसरी गर्ने भन्ने अन्योलता बढेको लाभग्राहीले बताएका छन् ।

जिल्लामा लाभग्राही सूचीमा नपरेको भन्दै ६ हजारभन्दा बढीले गुनासो फारम भरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले भूकम्पपीडित एकथरी सूचीमा परेनन् भनेर गुनासो भरेर बसेका छन् । एकथरी सूचीमा परेर पनि सम्झौता नगरी बसेका छन् । यसको संगति मिलेको छैन । यसको खास कारण स्थानीय तहले खोजी गर्नुपर्छ ।

उनले पहिलो किस्ताबापतको रकम सम्झौता नगर्ने, रकम सम्झौता गरेर पनि घर नबनाउने, पहिले बनाएर प्राविधिक जाँचपास हुन नसकेकाको राम्रोसँग खोजबिन हुनुपर्ने बताए । लमजुङमा निजी आवास पुनर्निर्माण कार्यक्रमका लागि विस्तृत सर्वेक्षण २०७३ पुस २१ देखि सुरु भएको थियो । चैत २८ देखि अनुदान सम्झौता थालिएकोमा ०७४ असार १४ देखि अनुदान वितरण गर्दै आएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

चिज उद्योग घाटामा

कान्तिपुर संवाददाता

गोरखा — उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका ७ छेकम्पारमा रहेको चिज उद्योग संकटमा परेको छ । चिज उत्पादनका लागि पर्याप्त दूध खरिद गर्न नसक्दा घाटामा गएको हो । 

गोरखाको चुमुनुव्री गाउँपालिका ७ छेकम्पार खर्कमा चरेर फर्कंदै गरेका चौंरीहरू । तस्बिर : हरिराम/कान्तिपुर 

प्रतिलिटर २ सय रुपैयाँमा दूध खरिद गरेर चिज उत्पादन गर्दा उद्योग घाटामा गएको छुले नीले चौंरीपालक समूहका सचिव कर्मा छेन्देल लामाले बताए । पर्याप्त दूध संकलन गर्न पनि नसक्दा अपेक्षित उत्पादन हुन नसकेको हो । ‘यो वर्ष सय केजी चिज उत्पादन गर्ने लक्ष्य लिएका थियौं,’ उनले भने, ‘तीन साता अघिमात्र ९० लिटर दूध जम्मा पार्दा साढे नौ किलो चिज उत्पादन गर्‍यौं । एक किलो चिजको १५ सय बजार भाउ छ । घाटा खाएर बेच्नुपर्‍यो ।’ १० लिटर दूध बराबर एक केजी चिज उत्पादन हुने उनले बताए । ‘१० लिटर दूधको दुई हजार पर्ने भयो । उद्योग नाफामा जान एक केजी चिज २५ सयमा बेच्नुपर्ने रहेछ,’ उनले भने, ‘२५ सयमा बेच्न खोजे महँगो भनेर ग्राहकले किन्न मान्दैनन् ।’

सम्भावना देखेपछि तत्कालीन जिल्ला पशु सेवा कार्यालयको सक्रियतामा २०७२ चैत ६ मा उद्योग स्थापना भएको थियो । स्थापनाको वर्ष चौंरी संरक्षण तथा कृषकहरूका लागि तालिम पनि दिइएको थियो । उद्योग स्थापनासँगै उक्त क्षेत्रमा चौंरी संरक्षण तथा विकास कार्यक्रम पनि लागू भएको छ । चौंरीखर्कमा पानीको व्यवस्था, चांैरी हिँड्ने गोरेटो बाटो निर्माण तथा मर्मतलगायतका काम भएका छन् । एउटा चौंरीले एक पटकमा तीन लिटरसम्म दिने दूध किसानले घरमै खपत गर्दै आएका थिए । दूधबाट आर्थिक लाभ लिन सकिने किसानलाई बताएर उद्योग स्थापनाका लागि हौस्याइएको थियो ।

मनास्लु क्षेत्र घुम्न गएका पर्यटकलाई चिज बेचेर आर्थिक लाभ लिन स्थापना भएको उद्योगले अपेक्षित आम्दानी दिन नसक्दा सम्बद्ध कृषकहरू चिन्तित छन् । हालसम्म उद्योगले दुई पटक मात्र चिज उत्पादन गरेको छ । गत वर्ष उक्त उद्योगबाट परीक्षणका रूपमा पाँच सय लिटर दूधको चिज उत्पादन गरिएको थियो । चिज उत्पादन गर्न सके बजारको समस्या छैन । गाउँमा उत्पादित चिज ग्राहकले पनि मन पराउने गरेको छेकम्पारस्थित लारका होटल व्यवसायी नुटुप दोर्जेले बताए । ‘दूध संकलन गर्न सके त उद्योग राम्रै चल्छ । चांैरीको संख्या घट्यो, दूध पर्याप्त पाइँदैन, उद्योग धराशायी बन्दै गयो,’ दोर्जेले भने, ‘अस्ति उत्पादन भएको चिज टेस्ट गर्दा निकै मीठो थियो ।’

चौंरीको दूधबाट उत्पादित घिउ प्रतिकेजी दुई हजारमा किसानले बेच्ने गरेका छन् । उद्योगलाई दूध बेच्नुभन्दा घिउ बनाएर बेच्दा नाफा हुने कतिपय किसान बताउँछन् । ‘अस्ति उत्पादन गरेको चिज पाँच/सातवटा होटलहरूलाई बेच्दा सकियो, चाहियो भन्नेलाई अब दिन छैन,’ लामाले भने, ‘दूध नै पर्याप्त नपाएपछि चिज बनाउने कसरी ?’ पछिल्लो समय यस क्षेत्रमा चौंरीको संख्या घट्दै गएपछि दूधको उत्पादनमा पनि ह्रास आएको छ ।

छेकम्पारमा ६ सय वटाको हाराहारी संख्यामा चाैंरी छन् । ‘चौंरी पाल्न धेरै दु:ख गर्नुपर्छ । हिउँदमा हिउँ पर्छ भनेर बर्खामै घाँस जम्मा गरेर राख्नुपर्छ,’ उनले भने, ‘आजकालका मान्छे दु:ख गर्न खोज्दैनन् । चौंरी नै घटेपछि दूध उत्पादन बढ्ने अवस्था भएन ।’ चिज उत्पादन गर्न करिब चार लाख खर्चेर छेकम्पारमा उद्योगको भवन निर्माण र मेसिनरी सामग्रीहरू खरिद गरिएको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्