चिज उद्योग घाटामा

कान्तिपुर संवाददाता

गोरखा — उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका ७ छेकम्पारमा रहेको चिज उद्योग संकटमा परेको छ । चिज उत्पादनका लागि पर्याप्त दूध खरिद गर्न नसक्दा घाटामा गएको हो । 

चिज उद्योग घाटामा

प्रतिलिटर २ सय रुपैयाँमा दूध खरिद गरेर चिज उत्पादन गर्दा उद्योग घाटामा गएको छुले नीले चौंरीपालक समूहका सचिव कर्मा छेन्देल लामाले बताए । पर्याप्त दूध संकलन गर्न पनि नसक्दा अपेक्षित उत्पादन हुन नसकेको हो । ‘यो वर्ष सय केजी चिज उत्पादन गर्ने लक्ष्य लिएका थियौं,’ उनले भने, ‘तीन साता अघिमात्र ९० लिटर दूध जम्मा पार्दा साढे नौ किलो चिज उत्पादन गर्‍यौं । एक किलो चिजको १५ सय बजार भाउ छ । घाटा खाएर बेच्नुपर्‍यो ।’ १० लिटर दूध बराबर एक केजी चिज उत्पादन हुने उनले बताए । ‘१० लिटर दूधको दुई हजार पर्ने भयो । उद्योग नाफामा जान एक केजी चिज २५ सयमा बेच्नुपर्ने रहेछ,’ उनले भने, ‘२५ सयमा बेच्न खोजे महँगो भनेर ग्राहकले किन्न मान्दैनन् ।’

सम्भावना देखेपछि तत्कालीन जिल्ला पशु सेवा कार्यालयको सक्रियतामा २०७२ चैत ६ मा उद्योग स्थापना भएको थियो । स्थापनाको वर्ष चौंरी संरक्षण तथा कृषकहरूका लागि तालिम पनि दिइएको थियो । उद्योग स्थापनासँगै उक्त क्षेत्रमा चौंरी संरक्षण तथा विकास कार्यक्रम पनि लागू भएको छ । चौंरीखर्कमा पानीको व्यवस्था, चांैरी हिँड्ने गोरेटो बाटो निर्माण तथा मर्मतलगायतका काम भएका छन् । एउटा चौंरीले एक पटकमा तीन लिटरसम्म दिने दूध किसानले घरमै खपत गर्दै आएका थिए । दूधबाट आर्थिक लाभ लिन सकिने किसानलाई बताएर उद्योग स्थापनाका लागि हौस्याइएको थियो ।

मनास्लु क्षेत्र घुम्न गएका पर्यटकलाई चिज बेचेर आर्थिक लाभ लिन स्थापना भएको उद्योगले अपेक्षित आम्दानी दिन नसक्दा सम्बद्ध कृषकहरू चिन्तित छन् । हालसम्म उद्योगले दुई पटक मात्र चिज उत्पादन गरेको छ । गत वर्ष उक्त उद्योगबाट परीक्षणका रूपमा पाँच सय लिटर दूधको चिज उत्पादन गरिएको थियो । चिज उत्पादन गर्न सके बजारको समस्या छैन । गाउँमा उत्पादित चिज ग्राहकले पनि मन पराउने गरेको छेकम्पारस्थित लारका होटल व्यवसायी नुटुप दोर्जेले बताए । ‘दूध संकलन गर्न सके त उद्योग राम्रै चल्छ । चांैरीको संख्या घट्यो, दूध पर्याप्त पाइँदैन, उद्योग धराशायी बन्दै गयो,’ दोर्जेले भने, ‘अस्ति उत्पादन भएको चिज टेस्ट गर्दा निकै मीठो थियो ।’

चौंरीको दूधबाट उत्पादित घिउ प्रतिकेजी दुई हजारमा किसानले बेच्ने गरेका छन् । उद्योगलाई दूध बेच्नुभन्दा घिउ बनाएर बेच्दा नाफा हुने कतिपय किसान बताउँछन् । ‘अस्ति उत्पादन गरेको चिज पाँच/सातवटा होटलहरूलाई बेच्दा सकियो, चाहियो भन्नेलाई अब दिन छैन,’ लामाले भने, ‘दूध नै पर्याप्त नपाएपछि चिज बनाउने कसरी ?’ पछिल्लो समय यस क्षेत्रमा चौंरीको संख्या घट्दै गएपछि दूधको उत्पादनमा पनि ह्रास आएको छ ।

छेकम्पारमा ६ सय वटाको हाराहारी संख्यामा चाैंरी छन् । ‘चौंरी पाल्न धेरै दु:ख गर्नुपर्छ । हिउँदमा हिउँ पर्छ भनेर बर्खामै घाँस जम्मा गरेर राख्नुपर्छ,’ उनले भने, ‘आजकालका मान्छे दु:ख गर्न खोज्दैनन् । चौंरी नै घटेपछि दूध उत्पादन बढ्ने अवस्था भएन ।’ चिज उत्पादन गर्न करिब चार लाख खर्चेर छेकम्पारमा उद्योगको भवन निर्माण र मेसिनरी सामग्रीहरू खरिद गरिएको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?