कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विद्यालय पुनर्निर्माण धमाधम

भूकम्पले पर्वतका १६९ विद्यालयका २८२ कक्षाकोठा क्षतिग्रस्त 
कान्तिपुर संवाददाता

पर्वत — भूकम्पको दिन अतिरिक्त कक्षा सञ्चालनका लागि शिक्षक र विद्यार्थी विद्यालय परिसरमै थिए । २०७२ वैशाख १२ मो भूकम्पले साबिक देउपुर गाविस ८ कडेनस्थित जननेत्र उच्च माविका १२ कोठा भत्कायो । विद्यालय भत्किए पनि कसैलाई चोटपटक लागेन । 

विद्यालय पुनर्निर्माण धमाधम

खण्डहर बनेको भवन अहिले नयाँमा रूपान्तर भएको देख्दा शिक्षक भूमिराज शर्मालाई आनन्द लाग्छ । ‘केही दिन अलमल भयो । अभिभावक जुट्नुभयो, अस्थायी कक्षाकोठा बनाएर पनि पठनपाठन सुचारु राखियो,’ उनले भने, ‘अहिले केही नयाँ कोठा तयार भए, केही बन्दै छन् ।’


तत्कालै अभिभावक जुटेर आवश्यक अस्थायी कक्षाकोठा बनाएर एक वर्ष पठनपाठन सञ्चालन गरेको प्रधानाध्यापक दीपक शर्मा पनि स्मरण गर्छन् । ‘स्कुल भत्किएको एक महिनासम्म त होसै पाइएन,’ उनले भने, ‘अहिले यो अवस्थामा आइएला भनेर सोचेकै थिएनौं । सबैको सहयोगले विद्यालयले जुनी फेरेको छ ।’ पूर्वविद्यार्थी दीपेन्द्र चापागाईंले पुर्निर्माणका लागि १४ लाख रुपैयाँ पठाएपछि स्थानीय अभिभावक पनि श्रमदानमा कस्सिए । एक वर्षमै ५ कोठे भवन निर्माण भएको प्रअ शर्माले बताए ।


त्यसलगत्तै मोदीखोलामा निर्माणाधीन तल्लो मोदी जलविद्युत् आयोजनाले ६ लाख रुपैयाँ दिएपछि थप २ कोठे भवन बनाएको व्यवस्थापन समितिका अध्यक्ष दाताराम चापागाईंले बताए । जननेत्र मावि मात्रै होइन भूकम्पले भत्किएका जिल्लाका सबैजसो विद्यालय अहिले पुनर्निर्माण भइसकेका छन् ।


भूकम्पले भत्किएका धेरैजसो निजी घर निर्माणमा ढिलाइ भइरहे पनि पर्वतका सबैजसो विद्यालयमा स्थानीय समुदायकै सक्रियताका कारण विद्यालय पुनर्निर्माण भने सहजै सम्पन्न हुँदै छ । भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त भएको रानीपानीस्थित जनता आधारभूत विद्यालय पनि अघिल्लो आर्थिक वर्षमै निर्माण भइसकेको छ । विद्यालयका १० कोठा भूकम्पले पूर्ण क्षतिग्रस्त भएकोमा स्थानीय अभिभावक, लायन्स क्लबलगायतको सक्रियतामा दुई वर्षमै पुनर्निर्माण भएको व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामप्रसाद पराजुलीले बताए ।


जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका अनुसार भूकम्पले जिल्लाका १ सय ६९ विद्यालयका २ सय ८२ वटा कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । तीमध्ये आधा भन्दा बढी निर्माण भइसकेको कार्यालयले जनाएको छ । ‘अति आवश्यक भएका केही विद्यालयले आफैं स्रोत जुटाएर भवन बनाए,’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उद्यिमराज पौडेलले भने, ‘निर्माण नभएका विद्यालयको मागका आधारमा हामीले योजना माग गरिरहेका छौं । भूकम्पले भत्किएका २८२ कक्षाकोठामध्ये दुई सयभन्दा बढी कोठाहरू निर्माण भइसकेका छन् । तीमध्ये धेरैजसो कक्षाकोठा स्थानीय समुदायकै सक्रियतामा निर्माण भएका छन् ।


भूकम्प पुनर्निर्माण प्राधिकरणले गत जेठदेखि पर्वतमा भत्किएका विद्यालयको पुनर्निर्माण गर्न छुट्टै जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) स्थापना गरेको छ । कार्यालयका इकाइ प्रमुख खिमबहादुर भुजेलका अनुसार चालु वर्ष ३० वटा विद्यालयमा ८७ कोठा निर्माणका लागि १० करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गत भदौबाट प्रक्रिया सुरु भएकोमा अहिले विद्यालयको आवश्यकता अनुसारको माग संकलन भइरहेको आयोजना प्रमुख भुजेलले बताए ।


‘मन्त्रालयबाट ३० कोटा मात्रै आएको थियो,’ उनले भने, ‘माग संकलन गर्दा ७१ वटा निवेदन प्राप्त भएका थिए । ती छानबिन गर्दैछौं । आवश्यकताका आधारमा वितरण गर्छाैं ।’ विद्यालय पुनर्निर्माण कार्यविधिको परिधिभित्र रहेर पुनर्निर्माण अनुदानका कार्यक्रम वितरण गरिने उनले बताए ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?