३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अझै उच्च मावि

उच्च माध्यमिक शिक्षा परिषद्को खारेजीसँगै विद्यालयलाई उच्च मावि नलेख्न गरिएको परिपत्रको पालना अझैसम्म भएन
कान्तिपुर संवाददाता

पर्वत — उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएको दुई वर्षभन्दा बढी भइसक्यो  । २०७३ असार १५ मा शिक्षा ऐनको आठौं संशोधन गर्दै उच्च माध्यमिक शिक्षा परिषद् सरकारले खारेज गरेको थियो  ।

अझै उच्च मावि

परिषद् खारेज भएसँगै मुलुकभरका उच्च मावि माध्यमिकमा परिणत हुनुपथ्र्यो । तर, यहाँका धेरैजसो उच्च माविले आफ्नो लेखिएका बोर्ड अझै हटाएकै छैनन् ।


कतिपय विद्यालयले त अझैसम्म उच्च मावि लेखिएका छाप र लेटर प्याड पनि परिवर्तन गरेका छैनन् । पुरानै छाप र लेटर प्याडले काम चलाउँदै आएका छन् । यसले गर्दा विद्यार्थी र सरोकारवालामा पनि भ्रम छ । ग्रामीण क्षेत्रका विद्यालयले मात्रै होइन, सदरमुकामकै विद्यालयले उच्च मावि लेखिएको बोर्ड हटाएको छैन ।

सदरमुकाम कुश्माकै पुरानो शिक्षालय नारायण माविले उच्च मावि लेखेको बोर्ड अझै राखेको पाइएको छ । पैयुँ गाउँपालिकाको जनसेवा संस्कृत मावि, फलेवासको त्रिभुवन मावि र मोदी गाउँपालिकाको नवजागृति माविलगायतले पुराना होर्डिङ बोर्ड अझै हटाएका छैनन् । यिनमा केही विद्यालयमा अझै लेटर प्याड र छाप पुरानै छ ।


उच्चमावि लेखेका होर्डिङ बोर्ड नहटाउनु लापरबाही भएको कुश्माका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षत्री बताउँछन् । ‘हामीले केन्द्रबाट परिपत्र आउनेबित्तिकै सबै विद्यालयलाई सच्याउन पत्राचार गरेका थियौं,’ उनले भने, ‘केही विद्यालयले अझै सच्याएकै छैनन् । यो लापरबाही नै हो ।’ बोर्ड फेर्न कञ्जुस्याइँ गरेका विद्यालयहरू भने बोर्डको विषय प्राथमिकतामा नपरेको बताउँछन् । ‘अन्य सबै कामकाजमा उच्च माध्यमिक शब्द हटेको छ,’ नारायण माविकी प्रधानाध्यापक अम्बिका लोहनीले भनिन्, ‘बोर्ड फेर्ने कुरा प्राथमिकतामा नपरेकै हो । लापरबाही गरेको होइन ।’ विद्यालयका सबै कागजी काममा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट पत्र आएलगत्तै २०७३ को शैक्षिक सत्रमै नाम सच्याइएको उनले दाबी गरिन् । होर्डिङ बोर्डमा तुरुन्त सुधार गरिने उनले बताइन् ।


उच्च माध्यमिक शिक्षा परिषद् खारेज भइसकेपछि कक्षा ९ देखि १२ कक्षालाई माध्यमिक तह कायम गरी त्यसको पाठ्यक्रम र परीक्षाका लागि राष्ट्रिय परिक्षा बोर्ड गठन भएको छ । त्यस्तै सम्बन्धनको काम शिक्षा विभाग र पाठ्यक्रमसम्बन्धी जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रमा सरेको छ । परिषद् खारेज भएसँगै कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूको जिम्मेवारी माध्यमिक विद्यालयमै सरेको छ ।

परिषद्ले मुलुकभर १७ हजार दरबन्दी कायम गरेका त्यस्ता शिक्षकमध्ये केही शिक्षा आयोगको परीक्षा दिएर स्थायी भइसकेका छन् । केहीले सुविधा लिएर बाहिरिएको शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेल बताउँछन् । ‘तत्कालीन समय उच्च माविका शिक्षकले अहिले मावि द्वितीय श्रेणीको पारिश्रमिक पाउनुहुन्छ,’ उनले भने, ‘विद्यालयहरूको हकमा सबै माध्यमिक नै हुन् । ऐन संशोधन भएर पुरानो संरचना खारेज भइसकेको अवस्थामा उच्च मावि लेख्नै पाइँदैन ।’

विद्यालय प्रशासन र व्यवस्थापन समितिको हेलचेक्र्याइँ गर्दा दुई वर्षभन्दा लामो समय होर्डिङ बोर्ड नफेरिएको उनले बताए । परिषद् खारेज भएसँगै विद्यालय शिक्षा १२ कक्षासम्मको भएको छ । सोही वर्षदेखि एसएलसीलाई एसईईमा रूपान्तरण गर्दै एसईई, ११ र १२ कक्षाको नतिजासमेत ग्रेडिङ सिस्टममा सार्वजनिक हुँदै आएको छ ।

प्रकाशित : आश्विन २४, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?