२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

शवगृह व्यवस्थित नहुँदा दुर्गन्ध

हरिराम उप्रेती

गोरखा — जिल्ला अस्पताल परिसरको शवगृहबाट फैलिएको दुर्गन्धले स्थानीय र बिरामी कुरुवा हैरान छन् । बेलाबेलामा पोस्टमार्टका लागि ल्याउने शवको दुर्गन्धले खपिनसक्नु हुने गरेको हो ।

शवगृह व्यवस्थित नहुँदा दुर्गन्ध

तीन दिनअघि मनकामना क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएका करिब ७० वर्षीय वृद्धको शव अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको थियो । पोस्टमार्टम गरिने शवगृहमा एक दिनभन्दा बढी त्यस्ता शव राख्दा दुर्गन्ध फैलिने गरेको स्थानीय बताउँछन् ।


‘दिउँसोमा भन्दा राति बढी गन्हाउँदोरहेछ,’ अस्पतालमा बिरामी कुर्न बसेका बेलडाँडाका तिलकबहादुर अछामीले भने, ‘रात कटाउनै गाह्रो भयो । यस्तो दुर्गन्ध फैलिन नदिने उपाय अपनाउनु पर्ने हो ।’ बिरामीका कुरुवा र स्थानीयले धेरै गुनासो गरेपछि सोमबार बिहान गोरखा नगरपालिका र प्रहरीले उक्त हतार–हतार शव व्यवस्थापन गर्‍यो ।


पटक–पटक अस्पताल प्रशासनसमक्ष शवगृहबाट दुर्गन्ध नआउने व्यवस्था गरिदिन माग गर्दै आए पनि बेवास्ता भएको स्थानीय ईश्वर अर्यालले बताए । ‘घरअगाडि लास घर छ, यो गन्हाएर ढुक्कले बस्न सकेका छैनौं,’ उनले भने, ‘उतापट्टि अर्को घर बन्दैछ । त्यता चाँडो सारिदिए केही राहत हुन्थ्यो ।’ उक्त ठाउँबाट दुर्गन्ध आउने समस्या वर्षौंदेखि रहेको उनले बताए । ‘अलिअगाडि ७/८ दिनसम्म लास यहीं थन्कियो, त्यसको दुर्गन्धमा कसरी बस्याैं होला,’ उनले भने, ‘लासघर व्यवस्थित नहुँदा नै दुर्गन्ध फैलिएको हो ।’ ०४२ सालतिर बनेको यहाँको शवगृह जीर्ण छ ।


०७२ वैशाख १२ को भूकम्पले उक्त घरलाई थप क्षति पुर्‍यायो । साँघुरो घर र चर्किएको गारो भएको शवगृहमा दुर्गन्धित शवलाई व्यवस्थित तरिकाले राख्न कुनै साधन छैन । धेरैपटक बेवारिसे शव जिम्मा लिन कोही आइपुग्लान् भनेर प्रहरीले व्यवस्थापनमा ढिलाइ गर्छ । धेरै दिन शव राखिँदा आउने दुर्गन्धले स्वास्थ्यकर्मी पनि हैरान छन् ।


‘शव जिम्मा लिने आउलान् भनेर पर्खिंदा गाह्रो भएको छ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीले भने, ‘सामान्यतया शव आठ घण्टापछिबाट गन्हाउन थाल्छ । मरेको धेरै दिन भएको बडी ल्याउँदा त्यसबाट दुर्गन्ध त आउने नै भयो । नयाँ भवनमा शवगृह नसारेसम्म समस्या छ ।’ हालको शवगृह व्यवस्थित हुन नसकेको उनले स्वीकार गरे । ‘शवगृहका लागि १० लाख रुपैयाँको लागतमा नयाँ भवन तयार भएको छ, फिनिसिङको काम चल्दैछ,’ उनले भने, ‘नयाँ भवनमा सारेपछि अहिले जस्तो दुर्गन्धको समस्या हुँदैन ।’


सामान्यतया पोस्टमार्टम गरिने भवन सरसफाइको व्यवस्था, डिप फ्रिज र झ्यालको उचित प्रबन्ध भएको हुनुपर्छ । तर, यहाँ हाल सञ्चालनमा रहेको शवगृहमा त्यसमध्येको कुनै पनि व्यवस्था छैन । ‘अहिलेको कोठा त कामचलाउ मात्र हो,’ मेसु तिवारीले भने, ‘नयाँ भवनको ९० प्रतिशत काम सकिएको छ । त्यसलाई सुविधा सम्पन्न पनि बनाउँछौं ।’ नयाँ पोस्टमाटम घरमा ६ वटासम्म शव राख्न मिल्नेगरी डिप फ्रिजको व्यवस्था गर्न लागिएको उनले बताए । विद्युत् आपूर्तिमा समस्या नआए नयाँ भवनबाट बाहिर दुर्गन्ध नजाने दाबी उनले गरे ।


गोरखा जिल्ला अस्पतालमा ५० शय्या छन् । ग्रामीण भेगबाट आउने बिरामीको सधैं चाप रहन्छ । धेरै बिरामी भर्ना र आउजाउ गरिरहने अस्पतालबाट दैनिक निस्कने फोहोर व्यवस्थापनको पनि उचित प्रबन्ध छैन । एकातिर हालको शवगृहको आफ्नै समस्या छन् अर्कातिर दैनिक निस्कने फोहोर अस्पताल परिसरमै देख्न पाइन्छ । स्वास्थ्य संस्थाबाट निस्कने फोहोर डढाइनु हुँदैन । तर, कहिलेकाहीं फोहोर धेरै हुँदा अस्पताल परिसरमै डढाउने गरिएको छ ।


त्यसको धूवाँले बिरामी पार्ने अस्पताल छेउछाउका बासिन्दा बताउँछन् । फोहोर व्यवस्थापनलाई अस्पतालले गम्भीरतापूर्वक लिएको मेसु तिवारीले बताए । ‘निक्लिएको फोहोर एकै ठाउँमा थुपारेर राखेका छौं । गाड्नका लागि खाल्डो खन्ने पर्याप्त जग्गा पनि छैन,’ उनले भने, ‘सालनालचाहिं छुट्टै गाड्ने गरेका छौं ।’ एक गैरसकारी संस्थाले फोहोर व्यवस्थापनका लागि अध्ययन गरेर गएकाले योजना अघि बढदा उचित व्यवस्थापनको काम छिटै थालिनेमा आफू आशावादी रहेको उनले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?