कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कालोपत्रे सडकमै खाल्टैखाल्टा

सडक निर्माणको ठेक्का पाएका ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग तथा छिटो काम सक्ने बहानामा लापरबाही गर्दा कालोपत्रे टिकेन
हरिराम उप्रेती

गोरखा — कच्ची सडकमा बर्खा लागेसँगै पानी जम्ने र पहिरो जाने कारणले सवारी आवागमनमा ठप्प हुन्छ । यहाँका पक्की सडकमा पनि खाल्टैखाल्टाका कारण सवारीसाधन सहज चल्न सक्दैनन् ।

कालोपत्रे सडकमै खाल्टैखाल्टा

२०७५ असारमै बाह्रकिलो–बारपाक सडक कालोपत्रे गरिसक्ने लक्ष्यका साथ पाँच प्याकेजमा ठेक्का लागेको थियो । बाह्रकिलो–भालुस्वाँरा–बारपाक सडक आयोजनाले चार वर्षअघि नै उक्त सडकअन्तर्गतको बाह्रकिलो–जरेवरको १२ किलोमिटर खण्ड भने कालोपत्रे गरिसकेको थियो ।


कालोपत्रे भएको उक्त खण्डमा हाल साना सवारी पनि मुस्किलले आउजाउ गर्छन् । कालोपत्रे सुरु भएको स्थान बाह्रकिलोको प्रवेशद्वारदेखि नै सावधानी अपनाएर गाडी चलाउनुपर्ने चालक बताउँछन् । बाह्रकिलोको घुम्ती, सिर्दी पुल, छेवेटार पुल, मसानेपाटी र चोरकाटेको घुम्तीलगायतका तीन दर्जन ठाउँमा कालोपत्रे उप्किएका छन् भने खाल्टैखाल्टा परेर पानी जमेका छन् । ‘ठूला दुर्घटना नै चाहिँ भएको छैन । यस्तो सडकले दुर्घटनाको सम्भावना जोखिमचाहिँ बढायो,’ उक्त खण्डमा सवारी चलाउँदै आएका रामबहादुर सुनारले भने ।


सडककै कारण गाडीहरू बिग्रने समस्या पनि बढेको उनले सुनाए । ‘बेलैमा स्पिड घटाइएन, खाल्टो पर्‍यो भने गाडीको पट्टा भाँचिन्छ । गाडी कन्ट्रोल गर्नै गाह्रो हुन्छ,’ उनले भने । पक्की सडककै कालोपत्रे उप्किएपछि पैदलयात्रीलाई आउजाउमा पनि समस्या परेको लक्ष्मीबजारका विष्णु नेपालीले बताए । ‘खाल्टाखुल्टी छ, गाडी पनि यही सडक हिँड्छ,’ उनले भने, ‘कतिखेर हिलोपानी छ्यापिन्छ भन्नै सकिँदैन ।’


टिपरले बालुवा बोकेर पानी चुहाउँदै हिँड्दा कालोपत्रे सडक नै हिलाम्मे हुने स्थानीय बताउँछन् । सडक निर्माणको ठेक्का पाएका ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग तथा छिटो काम सक्ने बहानामा लापरबाही गर्दा पनि कालोपत्रे धेरै वर्ष नटिकेको आरोप एकथरी स्थानीयको छ ।


बाह्रकिलो–बारपाक सडक आयोजनाका प्रमुख अमृतमणि रिमाल उक्त सडक मर्मतका लागि नयाँ ठेक्का निकाल्ने तयारी भइरहेको बताउँछन् । ‘सडकको आयु नै यति नै हो कि, के कति ठाउँमा क्षति पुगेको छ भनेर स्टिमेट निकाल्दैछौं,’ उनले भने, ‘केही ठाउँमा स्थानीयले पानी सडकमा लगाइदिन्छन्, यसो हुँदा सडक चाँडो भत्कियो ।’ नाला व्यवस्थापन गर्न नसक्दा यहाँका अधिकांश पक्की सडकहरूको अवस्था दयनीय बन्दै गएको उनले बताए ।


गोरखा सदरमुकामको मुख्य बजार हरमटारी चोककै कालोपत्रे सडकमा खाल्टाखुल्टी परेका छन् । हरमटारी–वराह हँुदै ढुंगागाडेको साढे तीन किमि खण्ड, नयाँ बसपार्कबाट नयाँबजार जाने सडक र बसपार्क सतीपीपलको कालोपत्रे सडकमा खाल्टा परेका हुन् ।


सडक मर्मतका लागी गोरखा नगरपालिकामा डेलिगेसन गए पनि हालसम्म सडक मर्मतको काम हुन नसकेको आदर्शनगर टोल विकास संस्था वराहका अध्यक्ष वीरबहादुर गुरुङले बताए । हस्पिटलचोकदेखि वराहसम्मको खण्ड ०६८ सालमा कालोपत्रे भएको थियो । ‘हामी यहाँका बासिन्दाले सडक पिच गर्न पैसा दिएका थियौं । सानो खाल्डो पर्‍यो, पुर्न ढुंगा राख्यौं,’ गुरुङले भने, ‘छ चक्के, आठ चक्के गाडीले त्यो ढुंगा धूलो बनायो अनि खाल्डो बढ्दै गयो ।’ घडेरी खार्दा सडकको छेउभाग उप्किएपछि बढ्दै भत्केर अहिलेको अवस्था आएको स्थानीय बताउँछन् ।


‘रोलर पाइराखेको छैन, छिटै खाल्डो पुर्न सुरु हुन्छ,’ गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले भने, ‘कुन–कुन ठाउँमा के कति क्षति भएको छ भनेर स्टिमेट गर्न भनेर कर्मचारी पठाएका छौं । स्टिमेट सकेपछि कति पैसा विनियोजन गर्नुपर्छ नगरपालिकाले गर्छ ।’ नालीको व्यवस्थापन हुन नसक्दा सडकमा खाल्डा परेको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?