कालीगण्डकीमा थपिँदै आयोजना

बेनी–जोमसोम सडकको ४० किलोमिटर खण्ड भएर बग्ने कालीगण्डकी किनारामा ८ जलविद्युत् आयोजना निर्माण हुने
पछिल्लो आयोजनामा ५८ मेगावाट क्षमताको तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावर
घनश्याम खडका

म्याग्दी — जिल्लाको उत्तरी भेगमा भएर बग्ने कालीगण्डकी नदीमा अर्को जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

बेनी–जोमसोम सडकको बेनी–घाँसा ४० किलोमिटर खण्ड भएर बग्ने कालीगण्डकी किनारामा कम्तीमा ८ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् ।

पछिल्लो आयोजनाका रूपमा तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावरले अन्नपूर्ण गाउँपालिका ६ पोखरेबगरमा बाँध बनाई रघुगंंगा गाउँपालिका १ तिप्ल्याङ नजिक विद्युत् गृह बनाई ५८ मेगावाट क्षमताको जलविद्युत् निर्माण गर्न अनुमति लिएको छ ।

व्यवसायी चन्द्र ढकाल नेतृत्वको तिप्ल्याङ कालीगण्डकी हाइड्रो प्रालि काठमाडाैंले बिहीबार प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । स्थानीयले आयोजनाबाट इन्टेकमा पर्ने अन्नपूर्ण गाउँपालिका ६ रातोपानीस्थित तातोपानी मुहान मासिने भन्दै री–एलाइन्मेन्ट गर्न सुझाएका छन् ।

‘आयोजनाले सार्वजनिक गरेको ईआईए रिपोर्ट पारदर्शी र सबैले बुझ्ने प्रकारको छैन । प्रस्तावित एलाइन्मेन्टले तातोपानी नाश हुने पक्का छ,’ सार्वजनिक सुनुवाइका सहभागी स्थानीय खड्ग गिरीले भने, ‘आयोजनाबाट तातोपानीको मुहानमा असर नगर्ने प्रष्ट तर्क आएको छैन । हामी आयोजनाविरोधी होइनौं तर जनताले सजिलोसँग बुझ्ने गरी कुरा आउनुपर्‍यो ।’

प्रस्तावित तिप्ल्याङ कालीगण्डकीभन्दा २ किमि तल ट्रेडलिंक ग्लोबल प्रालिले ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर र माथि हाइड्रो सपोर्ट प्रालिले ५३ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएका छन् ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने कालीगण्डकीको सानो सहायक घलेम्दी खोलामा अर्को ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले भदौ पहिलो साता विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरेको छ । घलेम्दी खोलामा ५ मेगावाट क्षमताको छुट्टै निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाले असोजमा विद्युत् उत्पादन थाल्दैछ ।

सोही ठाउँमा ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, ९१ मेगावाटको नीलगिरि क्यास्केट जलविद्युत् आयोजना निर्माणाधीन छन् । अन्नपूर्ण गाउँपालिका ३ र ४ मा १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज निर्माण गर्न हालै प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा सम्झौता नै भइसकेको छ ।

प्रकाशित : भाद्र २२, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

तरकारी खेतीलाई सिँचाइ पोखरी

अगन्धर तिवारी

पर्वत — कुश्मा नगरपालिका १ को पाङमा वर्षाको पानी संकलन गरी सिँचाइ गर्न पोखरी निर्माण गरिएको छ । स्थानीय किसानको व्यावसायिक तरकारी खेतीमा सिँचाइ सुविधा पुर्‍याउन पोखरी बनाइएको हो ।

पर्वतको कुश्मा नगरपालिका १ पाङमा निर्मित सिँचाइ पोखरी । तस्बिर : कान्तिपुर

नगरपालिकाको ८ लाख ५० हजार रुपैयाँ र स्थानीयको १ लाख ३० हजार बराबरको श्रमदान गरी पोखरी निर्माण भएको हो । स्थानीय किसानले व्यावसायिक तरकारीमा सिँचाइको समस्या भएपछि पोखरीको माग गरेका थिए । ‘जुठेल्नाको पानीका भरमा तरकारी लगाउँथ्यौं,’ होमनाथ सुवेदीले भने, ‘उब्जनी राम्रो हुन्छ । पानीकै समस्या भयो ।’

पानीको समस्या नभए प्रत्येक परिवारले टनेलभित्र तरकारी खेती गर्नेगरी समूह गठन गरेको उनले बताए । समूह गठनपछि व्यावसायिक तरकारी खेतीमा लागेका किसानले अघिल्लो वर्ष नगरपालिकामा सामूहिक योजना माग गरेका थिए ।

मुख्य उर्वरभूमि भएर पनि यहाँ सिँचाइ अभावमा हिउँदे खेती गर्न समस्या थियो । कुश्मा नगरपालिकाको वडा नम्बर १ मा पर्ने पाङको टारस्थित १४ हेक्टर खेतमा हिउँदे सिजनमा बेमौसमी तरकारी खेती गर्न पोखरीको पानीले सहज हुने स्थानीयको अपेक्षा छ । पोखरीको पानीले आसपासका १ सय ४० किसानले प्रत्यक्ष लाभ लिनेछन् । १९ मिटर लम्बाइ, १४ मिटर चौडाइ र ३ मिटर गहिराइको पोखरीमा करिब आठ लाख लिटर पानी भर्न मिल्छ ।

पोखरीको चारैतिर घेरिएको फाँटमा वर्षाको एक सिजनमा आकाशे पानीको भरमा धान खेती हुन्छ । हिउँदको समयमा चाहिने सिँचाइ नहुँदा धेरै जमिन बाँझिएको छ । ‘हामीले व्यववसायिक रूपमै तरकारी खेतीको अवधारणा बनाएर समूह गठन गर्‍यौं,’ स्थानीय शंकर सुवेदीले भने, ‘टनेलभित्र लगाएको तरकारी सुक्यो ।’ हिउँदमा लामो समय खडेरी पर्दा पानीको अभाव भएपछि दीर्घकालीन विकल्प खोज्न समूहका सबै सदस्य लागिपरेका हौं ।’

पोखरी निर्माण सम्पन्न भएपछि उपभोक्ताहरूले हर्षबढाइँ गरेका थिए । हरेकले टनेलभित्र लगाउने तरकारीमा आलोपालो व्यवस्थित सिँचाइ गर्दा हिउँदे खेतीलाई सहज हुने किसानले बताए । पोखरीमा वर्षाको आकाशे पानी संकलन हुन्छ । हिउँदका लागि स्थानीय मूलमा खेर जाने पानी जम्मा गर्न कुलो बनाइएको छ । मूलबाट निस्किएको पानी स्थानीयले नुहाउन र खानेपानीका लागि प्रयोग गर्छन् । प्रयोग गरेर खेर गएको पानी पोखरीमा जम्मा गरेपछि सिँचाइ गर्न मिल्छ ।

पोखरीमा जम्मा हुने पानी ल्याउन र सिँचाइ गर्न कुलो पनि निर्माण गरिएको छ । कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले नवनिर्मित पोखरीको उद्घाटन गरे । कार्यक्रममा बोल्दै जोशीले नगरपालिकाकै उर्वरभूमि पाङमा सिँचाइ अभावले अब समस्या नहुने बताए । ‘तराईमा राम्रो दाङ र पहाडमा राम्रो पाङ भन्ने उखानै छ,’ जोशीले भने, ‘उखानअनुसार अब साँच्चिकै राम्रो बनाउन नगरपालिकाको भूमिका बढाउँछौं ।’ कुश्माका उपप्रमुख सीता काफ्ले लामिछानेले नगरवासीहरूको समृद्धिका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताइन् ।

प्रकाशित : भाद्र २२, २०७५ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्