कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पक्षाघातका बिरामीलाई थेरापी

बागलुङ — दैनिक क्रियाकलाप गर्न नसक्ने बालबालिका भएका घरमा परिवारका सदस्य तनावमा रहन्छन् । त्यस्ता बालबालिकाको स्याहारमा परिवारको एकजना सदस्य खटिनुपर्छ ।

पक्षाघातका बिरामीलाई थेरापी

मस्तिष्क पक्षाघातपीडित बालबलिकाको अवस्थामा सुधार ल्याउन मस्तिष्क पक्षाघात स्वाबलम्बन समूह सक्रिय रहेको छ । समूहका अनुसार सामान्य उपचार र नियमित फिजियोथेरापीबाट त्यस्ता बालबालिकाको अवस्थामा सुधार ल्याउन सकिन्छ ।

सदरमुकाम नजिकै रातमाटाका १३ वर्षीय प्रसन्न सापकोटा हिँड्न सक्दैनन् । शरीर कुप्रो हुन्छ । उनी अझै ओच्छ्यानमै रहेकाले पढाइसमेत प्रभावित भएको छ । उनी जन्मँदा सामान्य नै थिए । पछि समस्या देखापरेको हो । अभिभावकले उपचारका लागि धेरैतिर देखाए पनि बिसेक नभएपछि निरास थिए । हाल फिजियोथेरापी गराउन सुरु गरेपछि अवस्थामा सुधार आएको छ ।

जन्मने बेलामा ठोक्किएको वा आमाको पेटमा हुँदा कुनै असर परेमा मस्तिष्क पक्षाघात हुने बालरोग विशेषज्ञ डा. प्रज्ञा कर्माचार्यले बताउँछिन् । ‘कारणहरू विभिन्न हुनसक्छन्,’ उनी भन्छिन्, ‘पूर्णरूपमा निको पार्न नसके पनि थेरापीले पुरानो अवस्थाभन्दा अलि सुधार ल्याउँछ ।’

पीडितले आफ्ना सामान्य क्रियाकलाप आफैं गर्नसक्ने बनाउन थेरापीले मद्धत गर्ने उनले बताइन् । मस्तिष्क पक्षाघात स्वाबलम्बन समूहले सापकोटाको उपचार सुरु गरेको हो । फिजियोथेरापीले अवस्थामा सुधार गरेर सापकोटालाई आफैं उठेर बस्न र पढ्न सक्ने बनाउन स्वयंसेवीको समूह लागिपरेको छ ।

पाप्पा घर भई २७ वर्षदेखि ज्याला मजदुरी गर्दै आएका बुद्ध थापालाई पनि छोरी वर्षाको समस्याले सताएको छ । ६ वर्षकी छोरीको हातखुट्टा लुलो भएकाले बोकेरै हिँड्नुपर्ने र दिसापिसाब तर्काउन समस्या भएको थापाले गुनासो गरे । उनको अवस्था सुधारका लागि पनि डा. कर्माचार्यले नियमित स्वास्थ्य परीक्षण थालिएको बताइन् । अपांग भन्दै घरभित्र थुनेर राख्ने अवस्था समाप्त भएको भन्दै उनले अभिभावकलाई हौसला पनि दिने गरेकी छन् ।

जन्मेको समयमा टाउको ठोक्किएका र मस्तिष्कमा अक्सिजनको कमीले यस्तो अवस्था आउने गर्छ । उपचार र फिजियोथेरापीबाट त्यस्ताको समस्या कम गर्न सकिने फिजियोथेरापिस्ट मनीषा लाखेले बताइन् । ‘समस्या भएका बालबालिकालाई कम्तीमा एक तह सुधार गर्न सक्छौं,’ उनले भनिन्, ‘मस्तिष्क पक्षघातका विभिन्न अवस्थामध्ये सुधार हुनसक्ने अवस्थामा बिरामी पहिचान गरेर उनीहरूलाई थेरापीका माध्यमबाट उपचार गर्न सकिन्छ ।’

यस्ता समस्या भएका करिब २० जना बालबालिकालाई नियमित उपचार र अनुगमन गरिरहेको उनले बताइन । समूहले आर्थिक रूपमा विपन्न परिवारका सदस्यलाई ९० प्रतिशतसम्म कम मूल्यमा औषधि र उपचार दिने गरेको छ । त्यस्ता बालबालिकालाई स्वास्थ्यकर्मीको सम्पर्कमा ल्याउन शिविर पनि आयोजना गर्ने गरिएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार मस्तिष्क पक्षघात भएपछि बालबालिकाको हातखुट्टा चाहिनेभन्दा बढी लुलो हुने वा दह्रो भएर टेक्न, काम गर्न र हिँड्न नसक्ने हुन्छन् । साथै कसैको बोली नफुट्ने र शरीर सन्तुलनमा राख्न नसक्ने हुने गर्छ ।

उपचारपछि धेरै बालबालिका विद्यालय जान थालिसकेको स्पिच थेरापिष्ट मेधा कोइरालाले बताइन् । ‘गर्भावस्थामा नियमित परीक्षण गर्ने र स्वास्थ्यकर्मीको उपस्थितिमा मात्र सुत्केरी गराउने गरियो भने बालबालिकामा त्यस्ता समस्या आउँदैनन्,’ उनले भनिन्, ‘केही वंशाणुगत समस्याबाहेक अरू सबै हाम्रो सतर्कताले समाधान हुन सक्छन् ।’

प्रकाशित : भाद्र २२, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?