कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पानी पर्नेबित्तिकै सडक बन्द

लमजुङ — वर्षायाममा दिनदिनै पानी पर्छ । लगातार तीन घण्टा झरी परे बेंसीसहर–चामे सडकमा सवारी आवागमन बन्द हुने गरेको छ ।

पानी पर्नेबित्तिकै सडक बन्द

उक्त सडकखण्डको लमजुङतर्फ बेंसीसहर नजिकै उत्तीसघारी खरखरे, मस्र्याङ्दी गाउँपालिका ४ च्याम्चे नजिकै घट्टेखोला र बुङछहरा क्षेत्र, काप्रेभीर, मस्र्याङ्दी ३ अर्खलेबेंसी पहिरोको उच्च जोखिममा छन् ।

स्थानीयका अनुसार पानी पर्नेबित्तिकै उक्त ठाउँमा पहिरो खस्छ र बाटो अवरुद्ध हुन्छ । मनाङतर्फ चामे गाउँपालिका ३ कोदो नजिकै तिर्चुङाल्डामा दिनदिनै पहिरो बगिरहेको स्थानीय बताउँछन् । जिपचालक सोम मग्रातीका अनुसार पानी पर्नेबित्तिकै यी ३/४ ठाउँमा पहिरो जान्छ । ‘पानी परेपछि कि माथि जानै हुन्न । नभए बाटो खुलेपछि जाने हो भनेर गए मात्रै,’ उनले भने ।

लमजुङ खण्डको खरखरे र च्याम्चे बुङछहरा र घट्टेखोलाबीचमा पहिरो गएपछि सोमबार दिनभर सवारी आवागमन ठप्प रहयो । ‘मस्र्याङ्दीले कटान गरेपछि बाटो लाने र जमिन भासिने गरेको छ । पोहोर यस्तो समस्या थिएन’, बुङछहराका होटल व्यवसायी पञ्च गुरुङले भने, ‘अहिले दिनदिनैजसो पहिरो जाने र सडक भासिने गरेको छ ।’

सडक खण्डमा पहिरो चले २/४ घण्टामा कहीं पनि बाटो नखुल्ने स्थानीय बताउँछन् । उनीहरूका अनुसार कम्तीमा एक दिन लाग्छ । चामे नजिकै तिर्चुङाल्डामा चलेको पहिरोबाट बाटो बनाउन एक साता लागेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए । ‘माटो नै कमलो छ । मस्र्याङ्दीले च्यापेपछि कमलो माटो ह्वार्रै बग्यो । बीचबीचमा मूल फुटेकाले समस्या भयो,’ उनले भने, ‘पहिले कहिल्यै यस्तो नभएको सडक अहिले खुलाउन मात्रै एक साता लाग्यो । एग्रो मनाङको डोजर ल्याउँदै बाटो बनाउने गरिएको छ ।’

बेंसीसहर ६ का वडाध्यक्ष भोजबहादुर रिमालका अनुसार करिब दुई दशकअघिको पहिरोले उत्तीसघारी खरखरेमा वर्षायामका बेला सधैं दु:ख दिने गरेको छ । ‘पानी पर्‍यो कि खरखरमो पहिरो झर्‍यो भन्ने जाने भो,’ उनले भने, ‘बर्सेनि खसेको पहिरोले माथि रहेका करिब २० घर जोखिममा पारेको छ ।’

उनका अनुसार उक्त पहिरोमा खस्रो बालुवा, गिटी र माटो मिसिएको छ । माथि धान रोपिएको छ । पहिरोबाटै पानीका मूलहरू निस्किएका छन् । त्यसैले पानी पर्नेबित्तिकै पहिरो झर्छ’ उनले भने । उनका अनुसार उक्त ठाउँमा लगानी बढाउनुभन्दा अब स्थायी रूपमै सोच्नुपर्ने बेला आएको छ । ‘कि मकैडाँडा घुमाएर सडक लानुपर्‍यो । कि पारिपट्टि सडक निर्माण गर्नुपर्‍यो । यसले सधैं दु:ख दियो’ उनले भने ।

लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पानी पर्नेबित्तिकै खरखरेमा के भयो भनेर सोध्नुपर्ने हुन्छ । ‘पानी परिरहेको छ । खरखरेमा पहिरो गइरहेको हुन्छ । च्याम्चे, काप्रेभीरतिर पहिरो खसिरहेको हुन्छ, जमिन भासिएको हुन्छ’ उनले भने ।

बेंसीसहर–चामे सडक ६५ किमी छ । दुई दशकअघिदेखि निर्माण थालिएको उक्त सड कखण्ड ट्रयाक खोलेर नेपाली सेनाले ५ वर्षअघि सरकारलाई बुझाएको हो । त्यसयता यसको रेखदेख डिभिजन सडक कार्यालय दमौलीले गर्दै आएको छ । यसअघि समयमा काम नसकिने र राम्रो नभएको आरोप आइरहेको उक्त सडकको मर्मतकार्य संघीय संरचनासँगै अन्योलमा परेको छ ।

उक्त सडकको मर्मतकार्य अहिले उक्त ठाउँमा निर्माण हुने जलविद्युत् आयोजनाको प्रवद्र्धक बुटवल पावर कम्पनी (बीपीसी) ले गरेपछि झन् अन्योल थपिएको छ । ‘बाटो बीपीसीमार्फत चिनिया कम्पनीले बनाइरहेको छ । संघीय सरकारले हेर्ने कि प्रदेश सरकारले हेर्ने, अझै अन्योल नै छ,’ डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर भानु जोशीले भने ।

उनका अनुसार पानी बढी परेमा बेंसीसहर–चामे सडकको ठाउँ–ठाउँमा पहिरो जाने गरेको छ । ‘संरचना नै कमजोर छ । संरचना कमजोर ठाउँ जसरी पनि पहिरो जान्छ नै,’ उनले भने, ‘हामीले दीर्घकालीन योजना बनाउनुपर्छ तर अझै बनाउन सकिएको छैन ।’ विस्तृत अध्ययन गरी यसको दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र १९, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?