१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गरिब नै छुटेपछि वितरण बहिष्कार

गरिब परिचयपत्र नामावलीमा अति गरिबको नाम छुटेकोमा वडाध्यक्षद्वारा आपत्ति
प्रकाश बराल

बागलुङ — मानबहादुर थापा दैनिक ज्याला मजदुरी गरेर दुई छाक जुटाउँछन् । काम नपाएका दिन उनको चुलो बल्दैन । बागलुङ नगरपालिका ११ का उनीजस्तै अवस्था छिमेकी काजीमान हरिजन र जिनबहादुर परियारको पनि छ ।

गरिब नै छुटेपछि वितरण बहिष्कार

यहाँकै टीकाराम सार्की दैनिक दाउरा चिरेर कमाएको पैसाले परिवार पाल्छन् । खेतीपाती र रोजगारीसमेत नभएकाले उनीहरूको जीवन कष्टकर छ । तर, सरकारले जारी गरेको गरिब घर पहिचान तथा परिचयपत्र वितरणको नामावलीमा उनीहरूको नाम छैन ।

बरू भारतीय सेनाबाट सेवानिवृत्त पेन्सनप्रापक, बजारमा घर बनाएका र श्रीमान्–श्रीमती नै कर्मचारी भएका परिवार सूचीकृत भएको पाइएपछि वडाध्यक्षले परिचयपत्र वितरण कार्यक्रम बहिष्कार गरेका छन् ।

वडाध्यक्ष ज्ञानेन्द्र गौतमले कुनै तरिकाले चित्त नबुझ्ने गरी आएको नामावलीमा परिचयपत्र दिन नसकिने बताएका छन् । ‘मजदुरी गरेर खाएकाहरू पनि परेको भए केही हुने थिएन । यहाँ त सम्पन्नहरू मात्र गरिबको सूचीमा परेका छन्,’ उनले भने, ‘दुई छाक खान गाह्रोगरी बाँचेकालाई पाखा लगाएर कसरी अरूलाई गरिब परिचयपत्र दिने ?’

उक्त परिचयपत्रकै आधारमा राज्यका सेवा सुविधा दिने हो भने गरिबका परिवारले बाँच्न नपाउने अवस्था हुने उनको तर्क छ । २०७० सालमा गरिएको सर्भेक्षणअनुसार यो वडा साबिक रायडाँडा गाविस थियो । उक्त गाविसका ४ सय ३ घरमध्ये अति गरिब ७९, मध्यम २९ र सामान्य गरिब १८ घर भएको तथ्यांक छ ।

कुल घरमध्ये ३९.२ प्रतिशत गरिबको सूचीमा सूचीकृत छन् । उक्त सूचीमा दैनिक मजदुरी गरेर बाँचेका गरिबकै नाम छुटेको छ । सरकारले पठाएका परिचयपत्रमा गरिब नै छुटेको पाइएपछि वितरणका लागि जिम्मेवार जनप्रतिनिधिलाई पनि लाज भएको छ ।

‘त्यो बेला गरिएको सर्भेक्षणमा भएका गम्भीर त्रुटीले हाल समस्या आयो,’ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘तत्कालीन व्यवस्थापनको कमजोरीको हामीले जवाफ दिनुपर्ने भएको छ ।’ गरिब परिचयपत्र वितरणसँगै जिससले पहिचान भएका घरपरिवारलाई तत्कालका लागि राहतका केही कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : भाद्र १९, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?