विपन्नको टाउकामा थुप्रियो ऋणभार

२९ घर दलित समुदायमध्ये अधिकांशका घर भूकम्पले भत्किएका छन् । ऋण गरेर घर बनाए पनि नयाँ घरमा अन्न राख्ने धन्सार भने छैन
हरिराम उप्रेती

गोरखा — भूकम्प प्रतिरोधी घर तयार भयो । छानो छाउन नपाउँदा सिरानचोक गाउँपालिका ६ गाँखुको खैरेनीटोलका सुकबहादुर विकको टहरोको बसाइँ लम्बिएको छ ।

विपन्नको टाउकामा थुप्रियो ऋणभार

बर्खाआगावै नयाँ घरमा सर्ने लक्ष्य लिएका विकले सरकारले उपलब्ध गराएको रकम अपुग भएपछि एक लाख ऋण गरे । ऋण लिएर आधाआधी काम सकेका उनलाई घर सम्पन्न गर्न थप एक लाख ऋण खोज्नैपर्ने भयो । उनलाई गाउँका साहूले थप ऋण पत्याएनन् । पैसा नहुँदा उनको घर निर्माण गत जेठ २६ यता बीचमै रोकिएको छ ।


‘पहिलो र दोस्रो किस्ता गरेर दुई लाख आयो । त्यतिले नपुगेपछि एक लाख गाउँकै साहूसँग दुई रुपैयाँ ब्याजमा ऋण लिए,’ उनले भने, ‘तीन लाखले गारो लगाउने काम सकियो । अहिले फेरि पैसा नहुँदा छानो छाउन पाइनँ ।’ पहिले लिएको ऋणको ब्याज तिर्न धौ–धौ थियो । स्थिति बुझेर साहूले थप ऋण नपत्याएको उनले गुनासो गरे । दुई कोठे घर निर्माण सम्पन्न गर्न अब कम्तीमा दुई लाख लाग्ने उनको अनुमान छ । तेस्रो किस्ताको एक लाख आउने प्रक्रियामा रहे पनि थप एक लाख ऋण गर्नै पर्ने उनले बताए । ‘प्लास्टर गर्न भनेर बालुवा पनि झारेको छु,’ उनले भने, ‘जस्ता किन्नै ५०/६० हजार लाग्छ ।’ उनले ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । ‘हलो जोतेर खाने हो, एक दिन हलगोरु लिएर साहूको खेतमा गए १६ सय आउँछ,’ उनले भने, ‘खान त पुगैकै थियो, ऋणले सक्कियौं ।’


सरकारले घर निर्माणका लागि रकम उपलब्ध गराएका सबै परिवारले निर्धारित मापदण्डकै भूकम्पप्रतिरोधी घर बनाउनुपर्छ । पहिलो र दोस्रो किस्ता पाएर पनि घर निर्माण मापदण्डअनुसारको भएन भने तेस्रो किस्ता पाइँदैन । दुई कोठे भूकम्प प्रतिरोधी घर निर्माण गर्न सरकारले दिएको तीन लाखले नपुग्ने यहाँका अधिकांश भूकम्पपीडितको गुनासो छ ।


‘गारो लागाउने ज्यामीलाई एक दिनको १२ सय दिनुपर्छ । सिमेन्ट बोराको हजार, इँटा एउटैको १७ रुपैयाँ पर्छ । बालुवा ट्रिपको पाँच हजार लिन्छन्,’ विकले भने, ‘यतिका महँगो सामान किनेर तीन लाखले दुई कोठे घर बनाउन कसरी पुग्छ ?’ । उक्त टोलका अधिकांश भूकम्पपीडितको वर्षभरि कमाइ खाने पर्याप्त खेतीयोग्य जमिन छैन । ‘साहूको खेत अँधियामा कमाउँछौं । आधा उब्जनी आउँछ, त्यसैले खाने हो,’ स्थानीय अमृत विकले भने । ज्याला मजदुरी गरेर घरखर्च चले पनि भूकम्पले लगाएको ऋण थेग्नै नसकेको उनले बताए ।


अर्का मीनबहादुर विक दुई कोठे घर बनाउन ६ लाख खर्च भएको बताउँछन् । ‘तीन लाख ऋण गरिसकें । घरको प्लास्टर गर्नै बाँकी छ,’ उनले भने, ‘ऋण कसैले पत्याउँदैनन् । प्लास्टर गर्न नसकेर अहिले टहरोमै बसिरहेको छु ।’ तीन वर्षअघि बनाएको टहरोबाट पनि पानी चुहिन थालेको उनले गुनासो गरे । ‘बर्खा त जसोतसो काट्यौं, जाडो लाग्न लाग्यो अब जस्ताबाट शीत चुहिन्छ,’ उनले भने ।


भूकम्पको लाभग्राही सूचीमा नाम समावेश भएपछि स्थानीय धनमाया कामी घर बनाएर पनि केही पैसो जोगिएला भन्ने सोच्दै थिइन् । ‘तीन लाख आउँछ, डेढ लाखको घर बनाएर बाँकी डेढ लाख बैंकमा राख्ने अनि ब्याजले नुनतेल किन्न पुग्छ भनेर छोरालाई भनेकी थिएँ,’ उनले भनिन्, ‘घर बनाउँदै जाँदा पो थाहा भयो तीन लाखले कहाँ घर बन्नु ? छिमेकीसँग ऋण लिएर पनि पुगेको छैन ।’ यहाँका अधिकांश भूकम्पपीडित ऋण नगरी दुई कोठे घर निर्माण सम्पनै गर्न नसकिने तर्क गर्छन् । निर्माण सामग्री र ज्यालादर महँगिँदा पनि लागत बढेको उनीहरूको भनाइ छ ।


उक्त टोलका २९ घर दलित समुदायमध्ये अधिकांशका घर भूकम्पले भत्किएका छन् । ऋण गरेर घर बनाए पनि नयाँ घरमा अन्न राख्ने धन्सार नहुनु अर्को समस्या छ । ‘तला भएको घर बनाए पैसा पाइँदैन भनेका थिए,’ मीनबहादुरले भने, ‘यस्तै घर बनायौं । यो घरमा सुत्न र खान मात्र मिल्छ, धान र मकै कहाँ राख्ने ?’ भकारी बनाएर भित्र धान राख्दा ओस लागेर कुहिने सम्भावना रहेको उनले बताए । नयाँ घरमा सरेर पहिले बस्दै आएको टहरोमा फलेक बिच्छ्याएर अन्न भण्डारण गर्ने योजना रहेको सुकबहादुर बताउँछन् । ‘दुइ कोठे घरमा सात जनाको परिवार अट्ने कुरो पनि आएन । राखन धरन कहाँ गर्ने,’ उनले भने, ‘पाली हालेर अर्को कोठा थप्ने विचारमा छु । अहिले बस्दै आएको टहरोमा फलेक राखेर त्यहाँमाथि लिपपोत गरे धान राख्न मिल्छ भन्ने लागेको छ ।’


गाखुकै डाडेगाउँका २६ घरपरिवार भने भूकम्पपीडितको लाभग्राही सूचीमा नाम समावेश नभएकोमा चिन्तित छन् । उनीहरूले तीनपटक गुनासो फर्म पनि भरेका छन् । ‘बाहिरबाट हेर्दा घर सग्ला छन्, भित्र गारो सबै चिरिएको छ,’ स्थानीय ठिमबहादुर दानीले भने, ‘पुरानो घरमा बस्न डर भएर कटेज बनाएर बसेको पनि सबैले देखेका छन् तर नाम निक्लँदैन ।’ टहरोको बसाइँ कष्टकर भएपछि केही स्थानीयले पुरानै घर मर्मत गरेर सर्न थालेका उनले बताए । ‘बाबियो र बाख्राको भुत्ला मिसाई माटो मुछेर भ्याङ टालेर पनि पुरानै घरमा केही परिवार सरेका छन्,’ उनले भने ।

प्रकाशित : भाद्र १५, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?