फ्रेस हाउसमै कुहिएको मासु

आश गुरुङ

लमजुङ — बेंसीसहर बजार क्षेत्रमै खोलिएको फ्रेस हाउसले कुहिएको मासु बिक्री गरेको भेटिएको छ । यसअघिको अनुगमनमा बेंसीसहर र सुन्दरबजारमा फ्रिजमा कुहिएको मासु राखेर बिक्री गरेको भेटिएको थियो ।

फ्रेस हाउसमै कुहिएको मासु

पशु सेवा कार्यालयले राम्रा व्यवसायी भनी प्रमाणपत्र दिएका फ्रेस हाउसले नै कुहिएको मासु बिक्री गरेको खुलासा भएको छ । बिहीबार क्याम्पसरोडस्थित ए टु जेट फ्रेस हाउसमा डी–फ्रिजभित्र कुखुराको मासु कुहिएको अवस्थामा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए । करिब ३ किलो मासु गन्हाएको अवस्थामा भेटिएको हो । ‘हामीले नियन्त्रणमा लिएर उक्त मासु गाड्यौं’ उनले भने । कुखुरा, राँगा, खसीलगायतका मासुसमेत एकै ठाउँमा राखेर बिक्री गरिएको भेटिएको उनले बताए ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले अनुगमनका क्रममा दर्ता नगरी मासु पसल सञ्चालन गरेको भेटिएको बताए । ‘कतिपय दर्ता गरेका पसलसमेत फोहोर छन्,’ उनले भने, ‘कति मासु पसल दुर्गन्धित छन् । कतिपयले डिफ्रिज राखेका छैनन् ।’ किराना, फलफूल तथा तरकारी पसलमा समेत मासु राखेर बिक्री गरेको उनले बताए । बजारका १५ वटा मासु पसल अनुगमन गरिएकामा अधिकांशको मापदण्ड नपुगेको उनले बताए । बेंसीसहर नगरपालिकाका अधिकृत शम्भु घिमिरेले बजारमा अनुगमन गर्न आएको सुइँको पाउनेबित्तिकै कतिपयले सफा गर्न थालेको भेटिएको बताए । ‘हामी पुग्दा कतिपय हस्याङ–फस्याङ गर्दै सफा गरिरहेको भेट्यौं’ उनले भने । उनका अनुसार मुल्य सूची पनि छैन । ‘मापदण्ड नपुगेका पसललाई मापदण्ड पुर्‍याउन १५ दिने अल्टिमेटम दिएका छौं’ उनले भने ।


दर्ताबिनै पसल सञ्चालन
बेंसीसहरका बजारमा दर्ताबिना नै पसल सञ्चालन गरेको फेला परेको छ । केही ठूला पसल पनि दर्ता नगरी सञ्चालनमा छन् । बेंसीसहरको सहजीदेखि मनाङेचौतारा हुँदै घलेगाउँ चोकसम्म बुधबार गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसल बिना दर्ता सञ्चालन गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए । अनुगमनका क्रममा बजारका भित्रीतर्फका सडकमा खोलिएका पसल प्राय: कुनै पनि दर्ता नगरी सञ्चालन गरिएको भेटिएको छ ।


बजारभित्र पहिलोपटक अनुगमन गरिएको र उनीहरूलाई सचेत गराएको उनले बताए । कतिपयलाई १५ दिनभित्र पुन: उक्त ठाउँमा अनुमगन गरिने र दर्ताको प्रक्रियामा नजानेलाई कारबाहीको दायरमा ल्याउने चेतावनी दिएको उनले बताए । तर, बजार अनुगमनमा कुनै कैफियत देखिए पनि कारबाही नभएको भन्दै व्यवसायीको मनोबल बलेको उपभोक्ताको
टिप्पणी छ ।


उपभोक्त मञ्च लमजुङका अध्यक्ष डम्बरबहादुर अधिकारीका अनुसार अधिकांश पसलमा म्याद नाघेका सामान फेला परेको छन । त्यस्ता सामानलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।


लमजुङ उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष अशोक अधिकारीका अनुसार बजारका पसलमा देखिएका पुराना ढक–तराजु हटाएर डिजिटल तराजु राख्नसमेत निर्देशन दिइएको छ । पसलमा मूल्यसूची नटाँसेको पाइएकाले यसलाई टाँस्न र सामान बिक्री गर्दा अनिवार्य रूपमा बिल उपलब्ध गराउन निर्देशन दिइएको उनले बताए ।

प्रकाशित : भाद्र १५, २०७५ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?