कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिफ्ट खानेपानी निर्माण

बागलुङ — सदरमुकामका लागि स्रोत कम भएपछि नजिकैको काठेखोलाबाट लिफ्ट गरेर खानेपानी ल्याउन आयोजना निर्माणको काम सुरु भएको छ ।

लिफ्ट खानेपानी निर्माण

नगरको मागका अनुपातमा हाल आपूर्ति भइरहेको परिमाण अपुग भए पनि नयाँ आयोजना एशियाली बिकास बैंकको आर्थिक सहयोग र नेपाल सरकारको सहलगानी निर्माण थालिएको हो । हाल बजारक्षेत्रमा उपभोक्ता संस्थामार्फत पानी वितरण भइरहेको छ ।

हाल सञ्चालित आयोजनाले झण्डै ३५ हजार जनसंख्यालाई पानी पर्यपत नहुँदा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले थप आयोजनाको खोजी गरेको थियो । कन्काई जयमाता संयुक्त निर्माण सेवाले २६ करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर बुधबारदेखि निर्माणको काम थालेको छ ।

काठेखोलाको छेउमा बनाइने नयाँ ट्यांकीसम्म ७ सय मिटर मोटरबाटो बनाउनु पर्नेछ । डोजर लगाएर सडक निर्माणको काम थालिएको इन्जिनियर दयाराम गौडेलले बताए । ‘यो आयोजनाले सदरमुकाममा थपिएका जनसंख्यासहितको ६० हजार जनालाई स्वच्छ पानी खुवाउने लक्ष्य छ,’ उनले भने, ‘एक घर एक धारा अभियान चलेकाले पानीको सदुपयोग पनि बढ्ने छ ।’ खानेपानी डिभिजन कार्यालयले जिल्लामा सार्वजनिक धारा हटाउँदै निजी धारा जडान गर्ने योजना पनि अघि सारेर काम गरिरहेको छ ।

निर्माण सम्पन्न भएपछि खानेपानीका सबै आयोजनाहरू उपभोक्ताद्वारा सञ्चालित समितिकै जिम्मामा लगाइने डिभिजन इन्जिनियर शेखरचन्द्र केसीले बताए । जिल्ला सदरमुकाम र बलेवा क्षेत्रमा सार्वजनिक धारा हटाएर निजी धाराबाट पानी वितरण भइरहेको छ । घर–घरमा आफ्ना लागि उपभोक्ताले धाराको माग गरेपछि खानेपानीको स्रोत थप गर्नुपरेको हो ।

हाल १९ किमी परको रेश र लेखानीबाट ल्याइएको पानी दैनिक २ घण्टा वितरण हुँदै आएको छ । हाल वितरित पानी फोहोर र अपर्याप्त भएको उपभोक्ताको गुनासो छ । बागलुङ बजारमा प्रतिसेकेन्ड १७ देखि २० लिटर पानीको आपूर्ति छ । दैनिक ४० लिटर पानी चाहिने भएपछि नयाँ आयोजनाको काम अघि बढाइएको डिभिजनले जनाएको छ ।

बजारीकरण भएका गलकोट, बुर्तिबाङ र कुश्मीसेरालगायतका बजारमा सार्वजनिक धाराको संख्या घटाउँदै निजी धारा जडानको काम थालिएको छ । डिभिजन कार्यालयले जिल्लाभर सन् २०२० सम्ममा शुद्ध पानी खुवाउने लक्ष्य राखेको छ । । लिफ्ट प्रविधिको आयोजना निर्माण सम्पन्न भएपछि बजारमा चौबीसै घण्टा पानी वितरण गर्न सकिने प्राविधिकले बताएका छन् । नयाँ आयोजनामा पानी तानेपछि फिल्टर गरेर मात्रै वितरण गरिने डिजाइनमा छ ।

‘फिल्टर प्रविधि प्रयोग हुने भएकाले उपभोक्तालाई स्वच्छ पानी वितरणमा यो विधि उपयोगी हुनेछ,’ इन्जिनियर केसीले भने, ‘जिल्लाकै नौलो परियोजनाका भएकाले यसकै सफलतापछि अरु आयोजना थपिनेछन् ।’ पल्स इन्जिनियरिङ एन्ड अर्थटेक्स प्रालि र बीएन कन्सल्टेन्सी प्रालि संयुक्त निर्माण कम्पनीले आयोजनाको डीपीआर बनाएको हो । यो विधिबाट हिउँदको सुख्खा दिनमा पनि आपूर्ति सहज हुनेछ ।

एक घर एक धारा
गोरखा (कास)– आँगनकै धारामा पानी थाप्न पाउँदा सिरानचोक गाउँपालिका ६ गाखुको खैरेनीवनकी सरिता विकलाई सपनाजस्तै लाग्यो । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएकी उनलाई घरघरै खानेपानीका धारा अउँछ भन्ने लागेकै थिएन ।

‘आधा घण्टा धाएर बोक्सी खोलाबाट पानी ल्याउँथ्यौं,’ उनले भनिन्, ‘परार गाउँ नजिकै पानी आयो, योपल्ट आँगनमै गाग्री थाप्न पाइयो ।’ खैरेनी टोलका ३४ घरधुरीका लागि खानेपानी गैरसरकारी संस्थाको सहयोगमा पुगेको हो ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?