कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुरुकुल विद्यालय अन्योलमा

नवलपरासी — दुम्कौलीस्थित चौधरी उद्योगग्रामको शास्वतधामद्वारा सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल विद्यालयलाई जिल्ला शिक्षा समन्वय इकाईको परिपत्रले अन्योल भएको छ । गुरुकुल विद्यालयलाई ८ कक्षा बन्द गराउन इकाइबाट पत्र पठाइएको छ ।

गुरुकुल विद्यालय अन्योलमा

संस्कृतमा विद्यालयले ७ कक्षासम्म पढाउँदै आएको छ । कक्षा ८ पढाउन सुरु गरेको विद्यालयलाई इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले पत्र पठाएका हुन् । गत पुस ३० मा ८ कक्षा सञ्चालनका लागि स्वीकृति माग गर्दै उक्त विद्यालयले इकाईमा निवेदन दिएको थियो । ‘अनुमतिका लागि तोकिएको समयमै गुरुकुलले सरकारी निकायमा लिखित पत्र दर्ता गराएको हो । अनुमति पाइएन, कक्षा नचलाउनु भन्ने पत्र आयो,’ गुरुकुलका प्राचार्य विष्णु घिमिरेले भने, ‘बन्द गर्नु भन्ने पत्रका कारण बैतडीदेखि ताप्लेजुङ सम्मका अभिभावक चिन्तित भएका छन् ।’

आफूहरूले सरकारले तोकेको म्यादभित्र पत्र पठाउँदा अनुमति नदिएर एक्कासि बन्द गर्नु र त्यसको जानकारी दिनु भन्ने पत्रले सबैलाई आतंकित र निराश बनाएको उनले बताए । इकाई प्रमुख पोखरेलले भने अनुमति दिन नमिल्ने भएकाले विद्यालयलाई पत्राचार गरिएको बताएका छन् । उनले भने, ‘अहिले अनुमति दिन नमिल्ने भएकाले कक्षा नचलाउनु भनिएको हो ।’

विद्यालयलाई कक्षाको अनुमति नदिनु अन्याय भएको वडा १३ का वडाध्यक्ष दिलबहादुर खत्रीले बताए । ‘यो देशकै सबैभन्दा सुविधासम्पन्न गुरुकुल हो, कक्षा बन्द गराउनु भन्ने आशयको पत्र दुराशययुक्त र पूर्वाग्रही छ,’ उनले भने । संस्कृत शिक्षा जोगाउनुपर्नेमा अनुमति नदिनु बेइमानी भएको उनले आरोप लगाए ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?