२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मनाङ यात्रामा अझै सकस

लमजुङ — हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्डमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ घट्टेखोला बुमछहरा नजिकै शुक्रबार ८ घण्टा सडक अवरुद्ध भयो ।

मनाङ यात्रामा अझै सकस

बढ्दो मस्र्याङ्दीले कटान गरेपछि भासिएको सडक पुर्न र कुनाबाट नयाँ ट्रयाक खोलेपछि अस्थायी रूपमा बाटो खुलेको स्थानीय होटल व्यवसायी पञ्चबहादुर गुरुङले बताए ।

उनका अनुसार पानी परेमा फेरि भासिने र पहिरो जाने सम्भावना छ । बेंसीसहर–चामे सडककै मनाङको चामे गाउँपालिका ३, तिर्चुङाल्डा र कोतोबीचको सडक भासिँदा १ साता सवारी आवागमन अवरुद्ध बन्यो । मानिस हिँड्नलाई वैकल्पिक बाटो बनाउनुपर्‍यो । यही भदौ ५ बाट सञ्चालनमा ल्याइएको बाटोमा फेरि पहिरो बग्न थालेको छ ।

मस्र्याङ्दीको कटानले करिब डेढसय मिटर सडक भासिनुका साथै पहिरो गएपछि चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक समेत अलपत्र परे । स्थानीय रमेश लामाका अनुसार बाटो त खुल्यो । पानी पर्न रोकिएको छैन । सवारीसँगै मानिस हिँड्न गाह्रो परेको छ । भ्राताङस्थित एग्रो मनाङ प्रालिका २ वटा डोजर ल्याएर बाटो खुलाइएको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

साउन १७ मा बेंसीसहर नगरपालिका ६, बेलौती बिसौना नजिकै उत्तीसघारी खरखरेमा पहिरो जाँदा एक रात एक दिन सडक अवरुद्ध बन्यो । करिब १ सय मिटर चौडाइमा गएको पहिरो हाल पनि बग्ने गरेको स्थानीय बताउँछन् । उक्त पहिरोले माथिका करिब २० घरजति जोखिममा पारेको वडाअध्यक्ष भोजबहादुर रिमालले बताए । उनका अनुसार उक्त ठाउँमा हरेक वर्षायाममा पहिरो जान्छ ।

यी त उदाहरणमात्रै हुन् । बेंसीसहर–चामे सडकको कुल ६५ किलोमिटर लम्बाई सडकमा दिनका दिन पहिरो खस्छ । म्यार्दीखोलाले बेलिब्रिज बने पनि तिमाङखोला, थान्चोकखोला लगायतमा पुल छैन । उक्त ठाउँमा बाढीको समस्या छ । बाढी र पहिरोले दैनिक सवारी आवामगनमा अवरोध पुर्‍याएको स्थानीय बताउँछन् । सवारी नरोकिएको कुनै दिन छैन ।

बाटोबाटै झरिरहने पहिरोले गन्तव्यमा पुग्न नसकेको जिपचालक होमबहादुर गुरुङ बताउँछन् । ‘बर्खाको बाटो । बाढी र पहिरो छ । कतिबेला के हुन्छ थाहै छैन,’ उनले भने, ‘सडकका माटो सबै बाढीले बगाएपछि ढुंगामात्रै बाँकी छ, त्यस्तो ठाउँमा कसरी हिँड्ने ?’ चालक सोम मग्रातीका अनुसार बाढी पहिरोले धेरै सवारी गन्तव्यमा पुग्न सक्दैनन् । प्रयास गर्दा बाटो र बाढीमा फस्ने गरेको छ । कतिपय सवारी साधन बिग्रिएका छन् । ‘मनाङ गुड्ने जिपको पट्टा नभाँचिएको कुनै दिन छैन । कहिलेकाहीं बाटोमै अर्को गाडी फेर्नुपर्छ । बाढीपहिरोको मात्रै नभएर बाटो धेरै नराम्रो भएकाले गुडाउनै नमिल्ने भएको छ,’ उनले भने । हिउँदभरि मोटरसाइकल चलाउने मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङका वडाअध्यक्ष सुमन गुरुङले हिलो र बाटो बिग्रिएकाले मोटरसाइकल चलाउन नसक्ने बताए ।

मनाङका डीएसपी खडबहादुर खत्री भौगोलिक विकटता, भौगोलिक अवस्था, निरन्तरको वर्षा र बाढीपहिरोले सवारी साधन नियमित सञ्चालन हुन नसकेको बताए । मनाङ खण्डमा पहिरोको समस्या भन्दा बढी बाढीको समस्या छ । एउटै पहिरोले एक सातासम्म सडक बन्द गरायो । सडकमा पहिरोको समस्या बढी मात्रामा लमजुङ खण्डमा हुने गरेको छ । बेंसीसहरदेखि लमजुङ र मनाङ सीमासम्म ३५ किलोमिटर छ । म्यार्दीदेखि चामेसम्म ३० किलोमिटर हो ।

लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार बढी मात्रामा लमजुङ खण्डमा पहिरो खस्ने गर्छ । खरखरे, अर्खलेबेंसी, काप्रेभीर, च्याम्चे लगायत क्षेत्र पहिरो खसिरहने ठाउँ हुन् । ‘पहिरो गएपछि हामीले जसरी हुन्छ, छिटोभन्दा छिटो बाटो खुलाउने प्रयास गरेका छौं ।’ उनका अनुसार डिभिजन सडक कार्यालय दमौली, निर्माणाधीन जलविद्युत् आयोजना लगायतका डोजर प्रयोगबाट बाटो खुलाउने गरिएको छ । सडक डिभिजन कार्यालय दमौलीका डिभिजन इन्जिनियर भानु जोशीका अनुसार यस वर्ष म्यार्दीमा बेलिब्रिज बनाइएको छ । अब तिमाङखोलालगायत अन्य ठाउँमा बनाउने तयारी गरिएको छ ।

यसअघिसम्म सडक मर्मत गरिरहेको डिभिजन सडक कार्यालय, निर्माणाधीन जलविद्युत् आयोजनाले सडक स्तरोन्नति गर्न थालेपछि पछि हटेको छ । ‘हामी सडक स्तरोन्नतिका लागि लागेका छौं । ५ वर्षको अवधिमा हामीले धेरै बाटो सुधार पनि गरिसकेका छौं,’ उनले भने, ‘प्राकृतिक प्रकोपलाई वर्षायाममा केही गर्न नसकिँदो रहेछ ।’

प्रकाशित : भाद्र १०, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?