कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘एक घर एक टनेल’ सुरु

एउटै वडाका ४० किसानलाई टनेल वितरण
दिप्ती सिलवाल

पर्वत — सबै घरपरिवारलाई आत्मनिर्भर बनाउनेगरि महाशिला गाउँपालिकाले ल्याएको ‘एक घर एक टनेल’ कार्यक्रम लुंखुबाट सुरु गरिएको छ । महाशिला ५ लुंखुका ४० सक्रिय किसानलाई टनेल वितरण गरेर घरघरै टनेलमा तरकारी उत्पादन गर्ने कार्यक्रम थालिएको हो ।

‘एक घर एक टनेल’ सुरु

चालु वर्ष ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेर महाशिलाका ६ वडाका आधा घरधुरीमा घरघरै टनेलमा तरकारी लगाउन गाउँसभाले निर्णय गरेको थियो । निर्णय बमोजिम प्लास्टिक टनेल खरिद गरेको महाशिलाले तरकारी लगाउने सिजन छोप्न समयमै टनेल वितरण गरिएको जनाएको छ । ‘अब रायो, मुला, काउली, धनियाको सिजन सुरु भइसक्यो,’ महाशिलाका प्रवक्ता एवं ५ नम्वर वडाका अध्यक्ष जिवनविक्रम उचै ठकुरीले भने, ‘व्यावसायिक किसानलाई समयमै काम सुरु गर्नेगरी टनेल बाँडिएको हो ।’ पहिलो चरणमा टनेल लगेका सबै किसानले टनेल बनाएर तरकारी लगाउन सुरु गरेपछि अरू किसानलाई वितरण गरिने उनले बताए ।

पहिलो चरणमा टनेल लगेका किसानले आफ्नो बारीमा टनेलभित्र सिजनअनुसारका तरकारी लगाएर अरू नयाँ किसानलाई प्रशिक्षण दिन गाउँपालिकाले निर्देशित गरेको छ । ‘हामीले टनेलमा तरकारी लगाएपछि छिमेकीलाई तरिका सिकाउनुपर्छ,’ व्यावसायिक किसान चिन्तामणि पौडेलले भने, ‘टनेलभित्र तरकारी लगाउन बाहिरभन्दा अलि कठिन हुन्छ । नयाँलाई त्यो थाहा हुँदैन ।’ यसअघि पनि टनेलमा व्यावसायिक तरकारी लगाउँदै आएका उनले एउटा टनेलबाट वर्षमा दुई लाख रुपैयाँसम्म आम्दानी हुने बताए ।

गाउँपालिकाले एक महिनाभित्र सबै वडामा टनेल वितरण गर्ने लक्ष्य रहेको जनाएको छ । गाउँसभाको निर्णय बमोजिम खरिद गरिएका टनेल हिउँदे तरकारी लगाउने सिजनसम्म वितरण गरिसक्ने लक्ष्य रहेको अध्यक्ष राजु पौडेलले बताए । ‘यही हिउँदे सिजनमा सबै किसानले तरकारी फलाऊन् भन्ने उद्देश्य हो,’ उनले भने, ‘त्यसका लागि व्यावसायिक तालिममा पनि जुटेका छौं ।’

किसानलाई सैद्धान्तिक प्रशिक्षण कृषि प्राविधिक र प्रयोगात्मक प्रशिक्षण अनुभवी किसानबाटै दिनेगरी योजना बनाइएको पौडेलले जानकारी दिए । किसानलाई चक्रिय प्रणालीमा खेती लगाउनेगरी यसअघि नै गाउँपालिकाले १०–१० जनाको समूह बनाएर तरकारी लगाउने तयारी गरेको छ । त्यसका लागि तरकारीको जातअनुसारको पकेट क्षेत्र निर्धारण गरिने प्रवक्ता ठकुरीले बताए । उनका अनुसार हरेक समूहले छुट्टाछुट्टै तरकारी लगाउनुपर्ने नियम बनाइएको छ । ‘एउटै तरकारी हुँदा बिक्रीमा समस्या हुन्छ भनेर यस्तो व्यवस्था गरिएको हो । यो व्यवस्थाले कसैको तरकारी नबिक्ने भन्ने हुँदैन ।’ उनले भने ।

महाशिला गाउँपालिकाका किसानहरू बाँदरबाट हैरान परेका बेला टनेल योजना सफल हुनेमा स्थानीय शंका व्यक्त गर्छन् । ‘जस्तोसुकै योजना ल्याए पनि बाँदरले गरिखान दिँदैन,’ भोक्सिङका नरजंग गुरुङले भने, ‘पहिला बाँदर नियन्त्रण गरेर मात्रै अरू काम गर्दा राम्रो होला ।’ गाउँपालिकाले भने चालु वर्ष नै बाँदर नियन्त्रण हुने दाबी गरेको छ । ‘हामीले बाँदर नियन्त्रणको योजना ल्याइसकेका छौं । बाँदरको दोहोलो नै काढिन्छ,’ अध्यक्ष पौडेलले भने । गाउँपालिकाका सबै बाँदर छोपेर बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज पठाइने उनले बताए ।

प्रकाशित : भाद्र ७, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?