२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पस्लाङमा होमस्टे सुरु

भूकम्पले घरहरूमा क्षति पुर्‍याएपछि बन्द होमस्टे गत वैशाखबाट सञ्चालन
मगर समुदायको बाहुल्य पस्लाङ गाउँमा स्थानीयको रहनसहन बुझ्न पर्यटक आवागमन बढ्यो

गोरखा — भूकम्पको ३ वर्षपछि गोरखा नगरपालिका ५ पस्लाङमा होमस्टे सेवा पुन: सुरु भएको छ । गोरखा बजार नजिकै ‘लुकेको गाउँ’ का रूपमा परिचित पस्लाङका १२ घरमा होमस्टे सुरु गरिएका हुन् ।

पस्लाङमा होमस्टे सुरु

०७० असारबाट १५ घरले यहाँ होमस्टे चलाएका थिए । भूकम्पले घरहरू क्षति पुर्‍याएपछि सेवा बन्द भएको थियो । ‘भूकम्पले भत्काएका केही घर बने, ती घरमा गएको वैशाखबाट मान्छे राख्न थालेका छौं,’ होम सञ्चालक समितिका अध्यक्ष मानबहादुर रानाले भने, ‘घरहरू बन्दै जाँदा अब पहिलेको भन्दा धेरैमा होमस्टे हुनेछन् ।’

मगर समुदायको बाहुल्यता रहेको उक्त गाउँमा स्थानीयको रहनसहन बुझ्न पर्यटक आउने गरेका छन् । सदरमुकामबाट पैदल ३० मिनेटमा पुगिने पस्लाङमा होटलहरूमा बस्न नरुचाउनेहरू बास बस्न पुग्छन् । ‘गाउँले परिवेश बुझ्न र आर्गानिक खानेकुरा खान पाहुनाहरू यहाँ आउँछन्,’ रानाले भने । हाल १२ घरबाट सेवा सुरु गरिएको र चालु वर्षभित्रै २८ घरबाट सेवा प्रदान गर्ने स्थानीयले योजना बनाएका छन् ।

भूकम्पअघि ७० पाहुना राख्न सक्ने क्षमताको उक्त गाउँको होमस्टेमा हाल ३५ जनासम्म बास बस्न सक्ने रानाले बताए । ‘भूकम्पको घर बनाउँदा पाहुना कोठा भनेर छुट्याएको छ । हामी गाउँका सबै घरलाई होमस्टे बनाउने तयारीमा छौं,’ उनले भने, ‘हाल सेवा सुरु भयो भनेर प्रचारका लागि केही घरबाट थालिएको हो ।’ होमस्टेमा आउने पाहुनाका लागि प्रतिव्यक्ति ६ सय रुपैयाँ लिने गरिएको उनले जनाए ।

६० भन्दा बढी घरधुरी मगर समुदाय रहेको पस्लाङमा पाहुनालाई स्वागतका लागि मारुनी नाच पनि देखाउने गरिन्छ । ‘पाहुनाको इच्छाअनुसारका खानेकुराको व्यवस्था छ,’ स्थानीय विमला रानाले भनिन्, ‘कोदोको ढिँडो र रोटी, गुन्द्रुकको अचार, भटमास, घैया धानको भात, तरकारीहरू सबै आर्गानिक कुरा खुवाउँछौं ।’ करेसाबारीमा लगाएको तरकारीमा विषादीको प्रयोग नगर्ने निर्णय गाउँस्तरमै भएको छ ।

सबैजसो घरले पाहुनालाई खुवाउनका लागि भन्दै लोकल कुखुरा पालेका छन् । सदरमुकाम नजिकैको ठाउँ भए पनि यहाँ पुगेपछि गाउँले जीवन र रहनसहन बुझ्न सकिने स्थानीयको दाबी छ । भूकम्पले भत्काएका अन्य घर निर्माणलाई पनि तीव्रता दिइएको छ । ‘चारजना मान्छे एक दिन राख्न पाए २४ सय कमाइ हुन्छ,’ स्थानीय मानबहादुर रानाले भने, ‘यहाँ मान्छे नआउने पनि होइनन्, गएको जेठ–असारमा मात्र ६०/७० विदेशी पर्यटक आएर बसे ।’

भूकम्प जाँदा ढुंगा–माटाले बनेका परम्परागत घरहरू भत्किएपछि यहाँ हाल पक्की घरहरू बनाइएका छन् । ‘पहिले बार्दली भएको, रातो माटोले लिपेर कमेरो लगाएका घरहरू थिए,’ उनले भने, ‘पुरानो मोडेलका घरमा पर्यटक रमाउँथे । त्यस्ता घर भूकम्पले बढी नै भत्काएपछि हाल पक्की घरमै सबैको ध्यान छ ।’

गोरखाको ऐतिहासिक स्थल गोरखा दरबार र संग्रहालय घुम्न आएका आन्तरिक तथा बाह् पर्यटकलाई ध्यानमा राखेर उक्त ठाउँमा होमस्टे पुन: सञ्चालनमा ल्याइएको हो । सदरमुकामका अन्य भागको तुलनामा पस्लाङ गाउँका घरमा भूकम्पले बढी क्षति पुर्‍याएको थियो ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?