मिहिनेतले उद्यमी

निरन्तर खटिने बानीले सफल
मेसिनबाट कपडा बुन्न धेरै सजिलो, हातभन्दा ३ गुणा छिटो
कान्तिपुर संवाददाता

बागलुङ — बजार झरेर उनले ऊनी धागोसँगको काममा धेरै मिहिनेत गरिन् । आधा रातसम्म निरन्तर खटिएर काम गर्दा ५ वर्षमा डिलकुमारी पुन सफल उद्यमी बन्न सकिन् । हाल उनले गाउँका वृद्ध बाबुआमा र बजारमा पढ्ने छोराछोरीलाई यही कमाइको भरले धानेकी छन् ।

बिहान –बेलुकी घरधन्दा, छोराछोरीलाई विद्यालय पठाउने काम त छँदैछ । त्यसपछिको समयमा मिहिनेत गरेर सदरमुकाममा सटरको भाडा तिर्दै बचत गरिरहेकी छन् ।

विद्यालयहरूले अहिलेदेखि ड्रेसको स्विटर अर्डर गरिसकेका छन् । उनले हातैले बुनेर पनि चार वर्षसम्म स्विटर, पच्छ्यौरा, गलबन्दी र अन्य जाडोका पोसाक बनाइन् । सजावटका सामान पनि बनाएर बेचिन् । निरन्तर उद्यमी बन्ने लक्ष्य बनाएपछि पुनले धेरै दु:ख गरेर बचाएको कमाइलाई एकैपटक लगानी गरिन् ।

विद्युतीय मेसिन किनेर उनले हिउँदका लागि कपडा बुन्न थालेकी छन् । मेसिन ल्याएपछि पहिलेभन्दा तीन गुणा उत्पादन सुरु भएको छ । यति कामका लागि सदरमुकामको आबा रोडमा भाडामा लिएको दुई कोठा उनको बस्ने–खाने र व्यावसायिक केन्द्र पनि हो ।

घरभित्रै गरेको काम भए पनि केही निजी तथा सामुदायिक विद्यालयले विभिन्न रंगका स्वीटर अर्डर गरेका छन् । धागोबाटै आकर्षक सजावटका सामान बनाउन पनि छाडेकी छैनन् । निरन्तर खटिने बानीले उनी सफल उद्यमीको रूपमा गनिन् थालेकी छन् । ‘कच्चा सामान ल्याएर तयारी बनाउने भएकाले धेरै नाफा हुँदैन,’ उनले भनिन्, ‘धेरै बनाउन सके मात्र नाफा कमाइने हो ।’ धेरै उत्पादनका लागि बिहानदेखि रातिसम्म खटिनुपर्ने उनले सुनाइन् । गुणस्तरको सामान तयार गर्न सक्दा फेन्सी सामान भन्दा धेरैले रुचाउने उनको अनुभव छ ।

उनले ४ लाख रुपैयाँमा खरिद गरेर ल्याएको ‘एलेकस ल्फेट मेसिन’ लाई नियमित सञ्चालनमा ल्याउन थालेपछि उनको कमाइ बढेको हो । उनको कमाइबाट गाउँमा बसेका बाबुआमा, छोराछोरी पाल्नु पर्छ । कमाइले छोराछोरीलाई निजी विद्यालयमा पढाउन सकेको उनले बताइन् । ‘अब दुई छाक खान समस्या हुँदैन तर मिहिनेत गरिएन भने हाम्रा सामानलाई फेरि फेन्सीले खाइदिन्छ’ उनले भनिन्, ‘मेसिनमा उत्पादन गरिएको कपडालाई आकर्षक देखिनेगरी सिलाउन सक्नुपर्छ ।’

मेसिन पूर्ण रूपमा चलाउन सकेमा सबै खर्च कटाएर वार्षिक ५ लाख रुपैयाँसम्म कमाउन सकिने उनले बताइन् । धेरै व्यवसायी मिलेर यस्ता कपडा उत्पादन गर्न सकेमा फेन्सी सामानलाई विस्थापित गर्न सकिने उनको दाबी छ ।

उनको मिहिनेतकै कारण केही स्थानमा तालिमका लागि सहजकर्ता बनाएर बोलाउन थालेका छन् । उनले बागलुङ र म्याग्दीका ग्रामीण बस्तीमा पुगेर स्वीटर र सजावटका सामान बनाउने तालिम दिएको बताइन् । ‘गाउँगाउँमा फेन्सीका कपडा प्रयोग बढेको छ, दिदीबहिनीहरू बेरोजगार छन्’ उनले भनिन्, ‘आफ्ना लागि किन्न नपरेपछि धेरै पैसा जोगिन्छ भनेर सिकाएर आएँ ।’

सजावटका लागि घरायसी सामानमै डोरी र धागो प्रयोग गर्ने विधि पनि उनले जानेकी छन् । धेरै रंग प्रयोग गरेर बनाइएका सामानको मूल्य पनि महँगो पर्छ । उनले बनाएका केही सामान ३ हजार रुपैयाँसम्म पर्ने छन् । गाउँमा हातैले स्वीटर बुन्नेहरूले पनि पुनलाई भेटेर धागो लैजाने गर्छन् ।

उनको यो कामलाई श्रीमान् शेरबहादुरले पनि साथ दिएका छन् । बजारमा पठाउने, धागो ल्याउने र मेसिन चलाउनका लागि शेरबहादुरले साथ दिएपछि डिलकुमारीको व्यवसाय सहज भएको छ । निरन्तर खटेका उद्यमीलाई थप सीप र प्रविधि सहयोग गर्ने तथा सीपका लागि परीक्षणको प्रमाणपत्र दिनेगरी काम हुनुपर्ने पुन चाहन्छिन् ।

घरेलु तथा साना उद्योग विकास समितिले यस्ता उद्यमीको तथ्यांक नराख्दा सरकारी सेवा सुविधाबाट भने वञ्चित भएका छन् । ‘उद्यम गरे बापतको कर भने तिरेका छौं,’ उनले भनिन्, ‘तालिमलगायतका सरकारी सेवामा भने बोलाउने गरिएको छैन ।’

प्रकाशित : भाद्र ५, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

बल्ल पाइन् शान्ताले नागरिकता

जन्मदर्ता नहुँदा कान्छी छोरीको कक्षा ११ मा भर्ना रोकियो, अपांगता भएकी जेठी छोरीको परिचयपत्र बनेन
कान्तिपुर संवाददाता

लमजुङ — बुढेसकालमा नागरिकताको प्रमाणपत्र हात पर्दा आत्मबल बढिरहेको ५७ वर्षीया शान्ता परियार बताउँछिन् । नागरिकता नभएकै कारण उनले धेरै समस्या खेप्नुपर्‍यो ।

एक वर्ष छँदा आमाको मृत्यु भएको थियो । लगत्तै बाबुले कान्छीआमा लिएर हिँडेपछि अभिभावकविहीन उनलाई सानिमाले मामागाउँ मस्र्याङदी गाउँपालिका ९, सिम्पानी पामचोकमा लगेर सहारा दिएकी थिइन् । त्यहाँ हेला हुन थालेपछि १२ वर्षमै उनी काम खोज्दै बेंसीसहर र त्यहाँबाट पोखरा पुगेकी थिइन् ।

लेकसाइडमा भाँडा माझ्ने काम पाएकी उनलाई बढदो उमेरसँगै घरजमको रहर भयो । होटलमा प्राय: आउजाउ गरिरहने एक अपरिचितले बिहे गर्छु भने । उनैसँग जीवन बिताउन सुरु भएको मेलामा त्यसबेला गाह्रो भयो, जब कृष्ण श्रेष्ठ नामका ती पुरुषले चौथो सन्तान गर्भमा रहँदा उनले नागरिकता बनाइदिन आग्रह गरिन् । श्रेष्ठले छाडेर मात्रै हिँडेनन्, सम्पर्कविहीनै भए । ‘कान्छो भर्खर पेटमा आएको थियो । उहाँ फर्केर आउनुभएन । म दुई जिउकी, कहाँ खोज्ने, कसलाई भन्ने ?,’ उनी भन्छिन्, ‘अब त १० वर्ष भयो । मलाई नागरिकता कसले बनाइदिन्थ्यो ?’

नागरिकता नहुँदा धेरैले हेपे । बेवारिसे भनेर हेला गरे । जन्मदर्ता नहुँदा कान्छी छोरीको कक्षा ११ को विद्यालय भर्ना रोकियो । २३ वर्षीया जेठी अपांगता भएकी छोरी पिंकीको परिचयपत्रका लागि सिफारिस बनाउन पाइएन । ‘मलाई जसरी पनि नागरिकता चाहिने भयो । गाविस सचिवलाई भनें, भएभरका आफन्तलाई भनें । मलाई चिन्दा पनि चिनेनन्,’ उनी भन्छिन्, ‘जिल्ला प्रशासनमा गएँ, बूढा खोजेर ल्याउ भनियो । भागेर गइसकेको बूढा कहाँबाट खोजेर ल्याउने भनेर रोएर फर्किएँ ।’ तर, उनले हिम्मत हारिनन् ।

बारम्बार गुहार लगाउँदा यसपटक प्रशासनले उनको कुरा सुन्यो । शान्तालाई कान्छीआमापट्टिका साइँला भाइ सोमराजले सनाखत गरे । लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाको हस्ताक्षरमा प्रशासनले उनलाई २०१८ असार १० गते जन्ममिति कायम गरी नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

‘सन्तानले नागरिकता पाउने बेला मैले नागरिकता पाएकी छु । खुसी छु,’ बेंसीसहरमा आइतबार प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका हातबाट नागरिकता पाएपछि उनले भनिन्, ‘मैले भगवान् भेट्टाएँ । भगवान्ले मलाई नागरिकता दिनुभयो जस्तो भएको छ ।’ अब सन्तानको नागरिकता बनाउन पाए अझ संसारको खुसी मिल्ने उनले बताइन् ।

प्रजिअ ढकालले नागरिकतासम्बन्धी संशोधित ऐनअनुसार र नभएको खण्डमा पनि उनको माग र सनाखत साथै प्रक्रिया पुर्‍याए उमेर पुगेका सन्तानलाई नागरिकता दिन सकिने बताए । ‘नेपाली नागरिकले नागरिकता पाउनुपर्छ । म पहल गर्छु,’ उनले आश्वासन दिए । शान्तालाई नागरिकता दिलाउन बेंसीसहर नगर कार्यपालिका सदस्य तथा छिमेकी मन्दिरा दनाईं, अधिकारकर्मी दलबहादुर मजाकोटी र समग्र विकास सेवा केन्द्रकी संयोजक मीरा भण्डारीले पहल गरेका थिए ।

आइतबार नागरिकता हातमा लिएर खुसी देखिए पनि शान्ताको जीवन सहज छैन । अपांगता भएकी जेठी छोरीलाई पोखराको बजार डुलाएर सहयोगीले दिने पैसाले दैनिकी चलेको छ । छोरी पिंकी बोल्न र चल्न सक्दिनन् । २० वर्ष पुगेकी कान्छी छोरीको पढाइ रोकिएको छ । छोराहरू १७ वर्षका ९ र ९ वर्षका २ कक्षामा पढ्छन् । ‘परिवार चलाउँछु भन्ने मान्छे बेपत्ता हुनुभो । अभागी कर्म छोरीलाई देखाउँदै खानुपरेको छ । म भोकै भएर पनि सन्तान पालेकी छु,’ शान्ता भन्छिन्, ‘मेरो कमाइ केही छैन । ४ सन्तान एक्लै कसरी पालें होला ।’

प्रकाशित : भाद्र ५, २०७५ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×