श्रम उस्तै, ज्याला फरक

थुन्से बुन्ने काममा महिलाको दैनिक ज्याला ६ सय पुरुषको ८ सय
‘समान कामको समान ज्याला’ नारा मात्रै
कान्तिपुर संवाददाता

कास्की — समान कामको समान ज्याला । नारामा सुन्दर सुनिने यो वाक्य व्यवहारमा कहिले लागू होला भन्ने कान्छीमाया तामाङलाई लाग्छ ।

पोखरा सिम्पानीमा थुन्से बुन्दै महिला । तस्बिर : विना थापा

पोखराको सिम्पानीमा महिलाहरू भेला भएर थुन्से बुन्छन् । दिनको चारवटा तयार हुन्छ । एकजनाको हातमा ६ सय रुपैयाँ पर्छ । ‘उही हामीजस्तै पुरुषले पनि बुन्छन्, उनीहरूले ८ सय पाउँछन्,’ उनले भनिन््, ‘थोरै भयो, काम गर्दिनँ भनाैं रोजगारी गुम्ने । चित्त बुझाउन पनि मन मान्दैन ।’ परम्परागत डोकोको तुलनामा प्वाल नहुने थुन्से निगालोबाट बनाइन्छ । मल बोक्दा नखस्ने भएकाले किसानले बढी उपयोग गर्छन् । गाउँबाट बिक्रीका लागि ल्याउनेहरू घटेपछि बजारका बिक्रेताले आफैं बुन्न बोलाएर काममा लगाउँछन् ।

‘थुन्से बुन्दा मात्रै होइन जे काम गरे पनि महिलाले पाउने ज्याला थोरै हुन्छ,’ तामाङले भनिन्, ‘गिटी, बालुवा बोक्नेदेखि घर ढलानको काम, बल पर्ने जे गरे पनि त्यस्तै हो ।’ ज्याला समान नभए पनि मजदुरी गर्न जानेहरूले भन्न जाने ठाउँ नभएको गुनासो उनको छ ।

मेघमाया तामाङलाई भने ज्याला कम भए पनि केही बोल्न मन छैन । ‘गिटी, बालुवा बोक्ने बलको काम गर्न सक्ने ज्यान छैन,’ उनले भनिन््, ‘थोरै आए पनि घर बनाउने काममा दिनको हजार पाइन्थ्यो । बल नभएपछि सीपको काममा दिनको ६ सयमा झुन्डिनुपरेको छ ।’ समान कामको समान ज्यालाको नारा आफूले सुन्दै आए पनि मजदुरहरूमा साहूलाई किन कम दिन्छौ, कम दिए काम गर्दिनँ भन्ने अवस्था नहुने उनले बताइन् ।

मेघमाया र कान्छीमाया जसरी नै थुन्से बुन्ने चिजबहादुर तामाङ श्रमको मूल्य कसले तोक्छ भन्नेमा आफू अनभिज्ञ रहेको बताउँछन् । ‘कसले धेरै पायो, थोरै पायोको कुरा बेग्लै हो,’ उनले भने, ‘मलाई त ८ सय पाउँदा पनि श्रम अनुसारको ज्याला निकै थोरै भयो भन्ने लागिरहन्छ ।’ एउटाको तीनदेखि चार सयमा बिक्री हुने थुन्से बनाउन राम्रै मेहनत पर्ने उनले बताए ।

प्रकाशित : भाद्र ४, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङमा गरिब परिचयपत्र वितरण

जिससले परिचयपत्र पाउनेको नि:शुल्क स्वास्थ्य बिमा गरिदिने
कान्तिपुर संवाददाता

बागलुङ — सरकारले तोकेको सूचकमा पर्ने घरपरिवारलाई गरिबको परिचयपत्र वितरण थालिएको छ । ढोरपाटन नगरपालिकाले गाउँमा पुगेर सूचीकृत भएकालाई परिचयपत्र दिएको हो ।

पहिलो चरणमा ७ नम्बर वडाको ज्ञानोदय माविमा सार्वजनिक कार्यक्रम गरेर वडा ७, ८ र ९ का बासिन्दालाई परिचयपत्र दिइएको छ ।

यी वडामा १ हजार ५ सय ४३ घर गरिब सूचीमा परेका छन् । यहाँका ७ सय २३ घर अति गरिब, ४ सय ५९ मध्यम र ३ सय ६१ घर सामान्य गरिबका सूचीकृत भएका थिए । उक्त वडामा नगरपालिकाभित्र सबैभन्दा धेरै दलित बस्ती छन् । जिल्ला समन्वय समितिले परिचयपत्र पाएकालाई पहिलो चरणमा कम्तीमा नि:शुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ ।

जिल्लामा पहिचान भएका ११ हजार २ सय १ गरिब घरपरिवार सबैलाई परिचयपत्र दिइसकेपछि आर्थिक वर्ष ०७५/७६ का लागि नि:शुल्क स्वास्थ्य बिमा गराउने निर्णय भएको प्रमुख राजेन्द्र ढुंगानाले बताए ।

राष्ट्रिय योजना आयोगले जिल्ला समन्वय समितिमार्फत गरेको अध्ययनबाट गरिब घरपरिवार सूचीकृत गरिएको थियो । ‘हामीले केही न केही सम्बोधन गरौं भनेर बिमाको कुरा ल्याएका हौं,’ ढुंगानाले भने, ‘गरिब भएर पहिचान भएकालाई रोजगारीका अवसरमा पनि प्राथमिकता दिनुपर्छ ।’ केही वर्षदेखि बागलुङमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा छ ।

विपन्न परिवारले प्रिमियम तिर्न नसक्दा बिमा गरेका थिएनन् । उपचार पाउन नसकेर मर्ने तथा सानो खर्चकै अभावमा उपचारमै नजानेलाई बिमा उपयोगी हुने उनले बताए । वार्षिक २ हजार ५ सय प्रिमियम तिरेमा वर्षभरी ५० हजार रुपैयाँको उपचारको बिमा हुनेछ । न्यून आए भएका, दैनिक ज्याला मजदुरीमा नगएमा खानै नपुग्ने र उपचार खर्च अभावमा मृत्युवरण गर्न बाध्य परिवारका सदस्य यहाँ सूचीकृत भएको उनले स्पष्ट पारे ।

प्रकाशित : भाद्र ४, २०७५ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×