स्थानीय तहमा कर्मचारी अभाव

गोरखा — अजिरकोट गाउँपालिकामा एक वर्षको अवधिमा तीनजना प्रशासकीय अधिकृत फेरिए । सोना श्रेष्ठ, भरत कँडेल र यज्ञ पुरी एक वर्षको अवधिमा आए, सरुवा भएर गए । गत साउन २ मा पुरीको बढुवापछि सरुवा भएपछि नयाँ प्रशासकीय अधिकृत अझै आइपुगेका छैनन् ।

स्थानीय तहमा कर्मचारी अभाव

गाउँपालिकाले निमित्त प्रशासकीय अधिकृतको जिम्मा भेटनरीका सुब्बा रामप्रसाद देवकोटालाई दिएको छ । ‘देवकोटा र गाउँपालिकाकै कार्यालयमा काम गर्ने एकजना लेखापाल हुनुहुन्छ,’ गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले भने, ‘हामीसँग अरु कर्मचारी छैनन् ।’ काभ्रेबाट सरुवा भएका प्रशासकीय अधिकृत युवराज आचार्य आउने भन्ने सूचना जनप्रतिनिधिले पाए पनि उनी कार्यक्षेत्र आइपुगेका छैनन् ।

गाउँपालिामा ५ वटा वडा छन् । वडासचिव एकजना मात्र छन् । ‘वडा नम्वर ५ मा एकजना महिला सचिव हुनुहुन्छ । उहाँ पनि सरुवा हुने कोशिस गरिरहनुभएको छ भन्ने सुनेको छु,’ अध्यक्ष धितालले भने, ‘दुईजना सचिव हुनुहुन्थ्यो, उहाँहरूले सरुवा मिलाइसक्नुभएछ ।’ गाउँपालिकाले करारमा एकजना इन्जिनियर र सबइन्जिनियर राखेको छ ।

शिक्षा, महिला विकास र कृषि हेर्ने कर्मचारी उक्त गाउँपालिकामा हालसम्म पुगेकै छैनन् । ‘कम्तीमा आधारभूत सेवा दिन १० जना कर्मचारी चाहिन्छ । हाम्रामा त कर्मचारी नै छैनन् भन्दा पनि भयो,’ धितालले भने । कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या परेको गुनासो जनप्रतिनिधिहरूको छ । ‘बजेट सार्वजनिक गरिसक्यौं, चौमासिक कार्यक्रम बनाउन पाएका छैनौं,’ उनले भने, ‘नदीजन्य पदार्थ उत्खनन गर्ने ठाउँमा वातावरणीय प्रभाव मूल्यांकन नै भएको छैन ।’ वडा सचिव नहुँदा पञ्जीकरणको काम पनि प्रभावित भएको छ । ‘केही सिफारिस त जनप्रतिनिधिले पनि बनाउन मिल्दो रहेछ, पञ्जीकरणमा समस्या भयो,’ उनले भने । शिक्षाका कर्मचारी कार्यक्षेत्र नजाँदा पास भएको शिक्षा ऐन कार्यान्वयनमा जान सकेको छैन ।

आठवटा वडा रहेको भीमसेन थापा गाउँपालिकाको अवस्था पनि अजिरकोटभन्दा धेरै फरक छैन । तीनजना मात्र वडासचिव कार्यरत छन् । ‘जबरजस्त रूपमा वडा कार्यलय सञ्चालन गरिरहेका छौं । एउटै सचिवलाई तीनवटा वडाको सम्म जिम्मेवारी दिनुपर्ने अवस्था छ,’ गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले भने । पटक–पटक मन्त्रालयमा कर्मचारी अभाव भएको जानकारी गराउँदा पनि बेवास्ता भएको उनको गुनासो छ । ‘मन्त्रालय गयो तुरुन्त पठाउँछु भन्छन्,’ उनले भने, ‘प्रदेश र संघीय सरकारले स्थानीय तहलाई अन्याय गरे ।’ पर्याप्त संख्यामा वडासचिव नहुँदा सहिद लखन गाउँपालिकाले पनि कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएको छ ।

प्रकाशित : भाद्र ४, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?