२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भूकम्पपीडित महँगीको मारमा

घाट बन्द भएको बहानामा ढुंगा, गिटी, बालुवा र ढुवानी सबै महँगियो
सामग्री महँगो र ढुवानीमा समस्या परेपछि धेरैले घर बनाउन सकेका छैनन्
कान्तिपुर संवाददाता

दमौली — निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले तनहुँका भूकम्पपीडित मर्कामा परेका छन् । निर्माण सामग्री महँगो र ढुवानीमा समस्या परेपछि धेरैले घर बनाउन सकेका छैनन् ।

भूकम्पपीडित महँगीको मारमा

जिल्लाका १४ हजार २ सय ८७ भूकम्पपीडितमध्ये राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय इकाइको तथ्यांकअनुसार हालसम्म ६४ जनाले मात्र घर पुनर्निर्माण पूरा गरेका छन् । म्याग्देमा ३० घर, घिरिङमा १०, ऋषिङमा ६, र बन्दिपुर गाउँपालिकामा ४, भानु नगरपालिकामा ४ र शुक्लागण्डकीमा १० घरले पुनर्निर्माण पूरा गरेको तथ्यांक रहेको जिल्ला आयोजना कार्यालयका कर्मचारी रामहरि खनालले बताए ।

‘इन्जिनियरबाट त्यति मात्रै घर पुनर्निर्माण सम्पन्न भएको रेकर्ड आयो,’ उनले भने, ‘त्यही आधारमा तेस्रो किस्ताको रकम सम्बन्धित बैंक खातामा पठाइसकेका छौं ।’ १५ घरपरिवार भूकम्पपीडितले घर पुनर्निर्माण गरिसकेको कागजात अलि ढिला आएपछि उनीहरूका लागि पनि तेस्रो किस्ता रकम निकासाका लागि केन्द्रसँग माग गरिएको उनले बताए । किस्ता प्राप्तिको कागजी प्रक्रियामा ढिलाइ, निर्माण सामग्री महँगी र अधिकांश पीडितहरू किसान भएकाले पनि घर पुनर्निर्माण ढिला भएको पाइएको छ । मुख्य कारण निर्माण सामग्री महँगी नै भएकाले घर निर्माणमा ढिलाइ भएको भूकम्पपीडितले गुनासो छ ।

पहिलो किस्ताको रकम आएपछि घर बनाउन सुरु गरे पनि निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ढिलाइ भएको भिमाद ५ का लोकबहादुर रानाले बताए । ‘पहिलो नम्बरमा पहिलो किस्ताको पैसा आउन ढिलाइ भयो,’ उनले भने, ‘पैसा आउनासाथ घर बनाउन थालियो । तर, अहिले सामान महँगो परेको छ ।’ कसरी बनाइसक्नु भन्ने चिन्ता परेको उनले बताए ।

ट्रयाक्टरमा प्रतिट्रिप एक हजार रुपैयाँ बराबर महँगो भएको, एक ट्रिपको ३ हजार पर्ने बालुवा र ढुंगा ४ हजार रुपैयाँ पुगेको उनले बताए । ‘घाट बन्द भएको बहानामा ढुंगा, गिटी, बालुवा र ढुवानी सबै महँगो भएको छ,’ उनले भने, ‘यति मात्र होइन, इँटा, सिमेन्ट, छड सबैमा व्यापारीले भाउ बढाएका छन् ।’ तनहुँमा २ हजार ४ सय जना भूकम्पपीडितले भने आवास निर्माणको दोस्रो किस्ताको रकम पाइसकेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?